Aamsanchar

नेपाल–चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै

Author Image
बिहिवार, फागुन ५, २०७३

काठमाडौं :

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ। नेपाली पक्षले तयार पारेको ‘मोडालिटी’लाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ।

स्रोतका अनुसार संयुक्त सैनिक अभ्यासका लागि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीले अन्तिम धारणा बनाउने बारेमा नेपालमै बैठक अयोजना गर्ने तयारी भइरहेको छ। तयारी बैठककै लागि सेनाले रक्षा मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको हो। ‘दुवै पक्ष साझा मोडालिटी निर्माणमा जुटेका छौं। मोडालिटी तयार भएपछि एकसाथ कस्तो अभ्यास हुने भन्ने सार्वजनिक गरिनेछ’, सैन्य स्रोतले भन्यो।

सैनिक अभ्यासका लागि ‘प्रतिकार’ नाम दिइएको दुवै देशका उच्च सैनिक अधिकारी साझा रणनीति र कार्ययोजना बनाउन जुटेका छन्। अन्य मुलुकको सैन्य संरचनाभन्दा चिनियाँ सैन्य संरचना अलि फरक हुने भएकाले पनि दुवै पक्षले आन्तरिक तयारीमा जोड दिएका हुन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले अहिले नै सबै विषय टुंगो नलागिसकेको बताए। ‘तालिम सञ्चालनका लागि दुवै देशका सेनाबीच साझा धारणा बन्छ। तालिममा सहभागी हुने सैनिक संख्या, मिति, स्थान, अवधि, तालिमका क्षेत्रलगायत विषयमा अहिले छलफलकै क्रममा छ।

अन्तिम टुंगो लागेपछि सार्वजनिक हुन्छ,’ सहायक रथी कार्कीले भने। उनका अनुसार प्लानिङ कन्फरेन्स बैठकले सबै विषय तय गर्नेछ। दुवै देशका सेनाबीच सन् २०१७ को मार्चभित्रै संयुक्त सैनिक अभ्यास गर्ने सहमति भइसकेको छ। संयुक्त सैनिक अभ्यास नेपाल र चीनबीच दौत्य–सम्बन्ध कायम भएको ६३ वर्षमा पहिलोपटक हुन लागेको हो। सैनिक अभ्यासमा भारतसहित विभिन्न मुलुकका राजदूत तथा सैनिक सहचरीहरूलाई अतिथिका रूपमा बोलाइने सैनिक स्रोतले जनाएको छ।

नेपाली सेनाले भारतीय सेनासँग सूर्यकिरण नाम दिइएको संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । नेपाल–भारतका सेनाबीच सन् २०११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको हो। गत ३१ अक्टोबरदेखि १३ नोभेम्बरसम्म रूपन्देहीको सालझुण्डीमा नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण–१०’ नामक सैन्य अभ्यास सम्पन्न भएको थियो। गत वर्ष मात्रै भारतको पिथौरागढमा नेपाल–भारत संयुक्त सैनिक अभ्यासको नवौं संस्करण ‘एक्स–सूर्यकिरण ९’ सम्पन्न भएको थियो ।सन् २०११ देखि हरेक वर्ष नेपाली र भारतीय सैनिकबीच संयुक्त सैन्य अभ्यास हुँदै आएका छ।

सन् २०१२ जुनमा भारतको चौवत्तिया उत्तराखण्डमा यस्तै सैन्य अभ्यास भएको थियो। त्यसपछि भारतको पिथौरागढमा सेप्टम्बर–अक्टोबर २०१३ मा संयुक्त अभ्यास भएको थियो । नेपालले प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालय, अमलेखगञ्जमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ मा पनि संयुक्त अभ्यास आयोजना गरेको थियो।

भारतीय सेनासँग अर्को सैन्य अभ्यास केही महिनापछि भारतमा हुने बताइएको छ। त्यस्तै, नेपाली सेनाले अमेरिकी सेनासँग ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । गत माघ १८ गते ‘ब्यालेन्स नेल १७–३०११’ नाम दिइएको संयुक्त अभ्यासमा नेपाली सेनाको महावीर गण (रेन्जर) र अमेरिकी सेनाको प्यासिफिक कमाण्डको टोलीले संयुक्त सैन्य अभ्यास गरेको थियो।

त्यस्तै, नेपाल र अमेरिकाबीच सन् २०१५ नोभेम्बर ३ देखि १७ दिनसम्म संयुक्त सैन्य अभ्यास भएको थियो। छिमेकी मुलुक चीनसँग भने नेपालले अहिलेसम्म सैन्य अभ्यास गरेको छैन।राजधानी दैनिक

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)