Aamsanchar

झापामा चैत १ गतेदेखि सामाजिक स्वास्थ्य बीमा

Author Image
शुक्रवार, फागुन ६, २०७३

भद्रपुर।

झापा जिल्लामा आगामी चैत १ गतेदेखि सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा विहीवार आयोजना गरेको स्थानीय सरोकारवालासँग सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
नेपाल सरकारले २०७१ सालमा राष्ट्रिय स्वास्थ्य बीमा नीति अनुरुप सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन गरेको थियो । गठित समितिले गत आर्थिक ०७२÷७३मा कैलाली, वाग्लुङ्ग र इलाम जिल्लामा पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
जिल्ला विस्तार गर्ने क्रममा ११औं जिल्लाको रुपमा झापा परेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्य बीमा कार्यक्रममा पाँच जना भएको परिवारले बार्षिक २५ सय रुपैयाँ तिरेर सहभागी हुन पाउने उनले बताए ।

पाँचजना देखि बढी भएको परिवारले थप ४२५ रुपैयाँ तिरेर सदस्य बन्ने पाउने छन् । स्वास्थ्य बीमाको सदस्य भएबापत परिवारलाई सरकारबाट बार्षिक ५० हजार रुपैयाँ उपचार खर्च प्रदान गरिने उनले बताए । ५ भन्दा बढी सदस्य भएको परिवारमा प्रति थप सदस्यले १० हजार सुविधा पाउने र यसको अधिकतम् सीमा १ लाख रुपैयाँ सम्म हुने उनको भनाइ छ ।
स्वास्थ्य बीमा अन्तरगत सदस्य बनेका परिवारले अस्पताल, अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउने छ भने कस्मेटिक सर्जरी, कृत्रिम अंग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिर्वन, घरेलु झैंझगडामा चोटपटक लागेका र मादक तथा लागूपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले खर्च पाउने छैन ।
झापामा चैतदेखि शुरु हुने कार्यक्रममा चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ साल जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुने पाउने जनाइएको छ । कार्यक्रमलाई तीव्रता दिनलाई झापाका स्थानीय विकास अधिकारीको संयोजकत्वमा जिल्ला स्वास्थ्य वीमा समन्वय समिति गठन भइसकेको छ । जिल्ला प्रर्वद्धक रमेन्द्रप्रसाद कुशवाहालाई तोकिएपनि जिल्ला कार्यालय स्थापना हुन बाँकी रहेको जनाइएको छ ।
झापामा सरकारसँग सम्झौता भएका स्वास्थ्य केन्द्रहरु मध्ये मेची अञ्चल अस्पताल भद्रपुर, जनस्वास्थ्य कार्यालय अन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्रहरु, वीएण्डसी टिचिङ्ग अस्पताल विर्तामोड, आम्दा अस्पताल दमक रहेका छन् । विरामी परेका व्यक्तिका परिवारले सोही अस्पतालमा उपचार गराउन जानुपर्ने त्यहाँ उपचार सम्भव नभएको खण्डमा सोही अस्पतालको रेफर कागजत लिएर सम्झौता भएकै अन्य अस्पतालबाट पनि सेवा लिन पाउने व्यवस्था गरिएको छ ।

यसअघि वीमा कार्यक्रम सञ्चालनमा आएका आठ वटा जिल्लामा ४६ हजार ७ सय ३४ व्यक्तिले वीमा गराइसकेको र यसले निरन्तरता पाइरहेको केन्द्रीय समितिका सहायक अहेव अधिकृत जनक अधिकारीले जानकारी दिए ।

Views: 154

प्रतिक्रिया (०)