Aamsanchar

बीस प्रतिशत जनताले मात्र पाउँछन् मानसिक स्वास्थ्य सेवा

Author Image
शुक्रवार, फागुन ६, २०७३

काठमाडौँ ।

नेपालमा मानसिक तथा मनोरोग भएकामध्ये २० प्रतिशत जनताले मात्र मनोरोग चिकित्सकको सेवा पाउने गरेको बताइएको छ ।

नेपाल मनोचिकित्सक सङ्घ (प्यान) को आजबाट राजधानीमा सुरु भएको छैठौँ राष्ट्रिय सम्मलेनमा सहभागी मनोरोग विशेषज्ञले बाँकी ८० प्रतिशतलाई मानसिक स्वास्थ्यमा पहँुच पु¥याउन सरकारले भरपर्दो योजना बनाउन जोड दिनुभएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले सबै जनतामा मानसिक स्वास्थ्यको सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई सामान्य खालको मानसिक रोगबारे तालिम दिई सेवा सुरु गर्न लागेको बताउनुभयो ।
नेपाल मनोचिकित्सक सङ्घ (प्यान) का अध्यक्ष शरदप्रसाद ओझाले नेपालका झन्डै ६० लाख मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या भएको बताउँदै त्यसको उपचारमा पहुँच पु¥याउन भरपर्दो कार्यक्रम आउन नसकेको बताउनुभयो ।

मानसिक रोग धेरै प्रकारको भए पनि धेरैले यसलाई कडा रोग हो निको हुँदैन वा लामो समय औषधि खानुपर्छ भन्ने धारणा मानिसमा रहेको बताउँदै नेपालका वरिष्ठ मनोरोग विशेषज्ञ डा देशराज कुँवरले सबैलाई मानसिक स्वास्थ्यमा पहुँच पु¥याउन सरकारले छुट्टै मानसिक महाशाखाबाट काम गर्नुपर्ने बताउनुभयो ।

मनोरोग विशेषज्ञ प्रा डा विद्यादेव शर्माले मानसिक रोगका कारण मृत्युहुनेमध्ये नेपालमा आत्महत्या अहिले पहिलो रहेकोले यसलाई रोक्न पनि मानसिक रोगबारे जनचेतना र विशेषज्ञसम्म पहुँच सहज बनाउनुपर्ने बताउनुहुन्छ ।

नेपालमा हाल १५० मनोरोग विशेषज्ञ छन् । त्यसमध्ये केही देश बाहिर छन् भने नेपालमा भएका विशेषज्ञ सहर केन्द्रित भएकाले ग्रामीण क्षेत्रमा बस्ने जनताले उपचार र परामर्शबाटै निको हुने मनोसामाजिक रोगको पनि उपचार पाउन सकेका छैनन् ।

उपचारका लागि स्वास्थ्य संस्थामा जानेमध्ये करिब ३० प्रतिशत बिरामी मानसिक रोगी हुने गरेको चिकित्सकको दाबी छ । नेपालमा हरेक चारमध्ये एकजना कुनै न कुनै मानसिक रोगले ग्रस्त छन् ।

मनोरोगबाट पीडित हुनेमा ६६ प्रतिशतभन्दा बढी अति गरिब परिवारका भएकाले कारण सामाजिक, आर्थिक तथा आपसी सम्बन्धमा फाटो आउँदा मानसिक रोगबाट पीडित हुने गरेको पाइएको छ । मानसिक रोगको सिकार धेरै महिला हुने गरेको पनि चिकित्सको भनाइ छ ।

अधिकांश मानसिक रोगीलाई आफू मानसिक रोगबाट पीडित छु भन्ने कुराको जानकारी नै नहुने हुँदा उपचारमा नजानेको अनुभव सुनाउनुहुन्छ, अर्का वरिष्ठ मनोरोग विशेषज्ञ महेन्द्रकुमार नेपाल ।

बालमनोरोग विशेषज्ञ डा अरुणराज कुँवरले धेरै बालबालिका पनि धेरै खालको मानसिक समस्या हुने गरेको भए पनि अभिभावकलाई त्यसको जानकारी हुन नसक्दा चिकित्सक नआउने गरेको बताउनुहुन्छ ।

समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुन्छ । सामान्य खालका मानसिक रोग कतिपय अवस्थामा उचित परामर्श मात्रले पनि निको हुने गरेका कारण यसबारेमा विभिन्न जनचेतनात्मक कार्यक्रम सञ्चालन गरी जनमानसमा जानकारी दिनुपर्ने देखिन्छ ।

भोलिसम्म चल्ने सम्मलेनमा विभिन्न देशका १५० बढी मनोरोग विशेषज्ञले ५० बढी कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर