Aamsanchar

३५ हजार घरधुरीमा परम्परागत चुलो

Author Image
आइतवार, फागुन ८, २०७३

इलाम।

इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइए पनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ ।

जिल्ला विकास समितिको २१ औँ जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो ।

जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५०२ घरधुरीमध्ये अझै पनि ३५ हजार ७०० घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् ।

जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ ।

फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७७५ परिवारले एलपी ग्यास र ३५ हजार ७०० घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् ।

परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् ।

Views: 141

प्रतिक्रिया (०)