Aamsanchar

१४ देशका लागि राजदूत सिफारिस, को कुन देशमा ?

Author Image
सोमवार, फागुन ९, २०७३

काठमाडौं,

सोमबार दोस्रो पटक बसेको मन्त्रीपरिषद बैठकले १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले ५ जना सचिवको सरुवा पनि गरेको छ ।

राजदूतमा युएइमा आशा लामा, जापानमा प्रतिभा राणा, डेनमार्कमा युवराज लम्साल, बहराइनमा पदम सुन्दास, अष्ट्रेलियामा लक्की शेर्पा, कतारमा रमेशप्रसाद कोइराला, साउदी अरेबियामा महेन्द्र सिंह, श्रीलंकामा विश्वम्भर प्याकुरेल, कोरियामा अर्जुनजंग राणा र बंगलादेशमा चोपलाल भुषाललाई राजदूत सिफारिस गरिएको हो ।

यस्तै, इज्यायलमा निरन्जन थापा, म्यानमारमा भीम उदास र ओमनमा सर्मिला पराजुलीलाई राजदूत सिफारिस गरेको छ । स्पेनमा नयाँ दूतावास खोल्ने निर्णय गर्दै सरकारले त्यहाँका लागि भरत रायमाझीलाई राजदूत सिफारिस गरेको छ । यी देशका लागि केपी ओली नेतृत्वको सरकारले राजदूत सिफारिस गरेपनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएपछि सिफारिस फिर्ता लिएको थियो । नयाँ सिफारिस भएका राजदूतले संसदीय सुनुवाईको प्रकृया पूरा गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्नुहुनेछ ।

यस्तै सरकारले ५ जना सचिवको सरुवा पनि गरेको छ । सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अख्तियारका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिँचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्र, सचिव मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालय तथा रामानदप्रसाद यादवलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको हो ।

सरकारले चुनावको मिति घोषणाको तयारी स्वरुप राजदूत नियुक्तिको सिफारिस र सचिवको सरुवा गरेको हो । चुनावको मिति घोषणा भएपछि निर्वाचन आचारसंहिता लागू हुने र सरकारले कुनै पनि नियुक्ति तथा सरुवा बढुवा गर्न पाउँदैन ।

Views: 328

प्रतिक्रिया (०)

सम्बन्धित खबर