Aamsanchar

साहित्यकार घिमिरेलाई झापामा अभिनन्दन

Author Image
बिहिवार, फागुन १२, २०७३

बिर्तामोड ।

बिर्तामोड नागरिक समाजको आयोजनामा साहित्यकार झमक घिमिरेलाई अभिनन्दन गरिएको छ । बुधबार बिर्तामोडको कनकाई क्याम्पसमा आयोजित भव्य कार्यक्रमका बीच झमकलाई नगदसहित अभिनन्दन गरियो ।
प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले झमकलाई नगद ५१ हजार तथा अभिनन्दनपत्र प्रदान गरे । प्रतिभावान नेपाली महिला स्रस्टाका रुपमा परिचित झमकलाई नागरिक समाजका तर्फबाट झापामा पहिलो पटक सम्मान गरिएको हो । अभिनन्दन कार्यक्रममा हजारौँ नागरिकको सहभागिता थियो ।
बिर्तामोडका ८१ वटा संघसंस्थाको तर्फबाट ५१ हजार रुपैयाँ नगदसहित झमक अभिन्दित भएकी हुन् ।

अभिनन्दनपछि उनले कागजको टुक्रामा लेखिन, ‘मैले झापाबासीको माया–ममता पटक–पटक पाएकी छु, कोही बेला अपाङ्गको कार्यक्रममा, कोही बेला आप्रवासीको दुःख पीडामा पलहमपट्टी लगाउन म झापा आएकी छु । मलाई झापाबासीले दिएको माया, ममता र स्नेहलाई जीवन्त राख्ने प्रयास गरेकी छु । र, तपाईहरुले देखाउनुभएको उत्साहले मलाई अझै शसक्त रुपमा अगाडि बढ्ने प्रेरणा मिलेको छ ।’
बिर्तामोडको अतिथि सदनबाट विभिन्न जातजातिका झाँकीसहित झमकलाई नगर परिक्रमा गराउँदै कार्यक्रमस्थल पु¥याइएको थियो । जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसन क्ने भएर पनि खुट्टाको ३ औँलाको सहयोगले धेरै रचना प्रकशित गरिसकेकी झमकलाई हेर्न बिर्तामोडमा सर्वसाधारणको घुइँचो नै लाग्यो ।
अभिनन्दन कार्यक्रममा बिर्तामोडका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नगरका सबै संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवि, गैरसरकारी संस्थाका प्रतिनिधि, नगरबासी, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, अभिभावकलगायत सम्पूर्ण क्षेत्रका प्रतिनिधिको उपस्थिति रहयो ।
कार्यक्रममा भमकको जीवनीबारे अग्रज पत्रकार चन्द्र भण्डारीले बोलेका थिए । उनले झमकलाई ‘खुट्टाले लेखेर संसार हल्लाउने तागत’का रुपमा चित्रण गरे । प्रतिमस्तिस्क रोगद्वारा पीडित झमक उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकारमध्ये एक भएकाले आफूहरुले पहिलो अभिनन्दन उनैलाई गरेको बिर्तामोड नागरिक समाजका सचिव मेघराज बास्तोलाले बताए ।
कार्यक्रममा अमेरिकन प्रोफेसर डा. जेम्स थोमर लुइरो, संविधानविद् सूर्यप्रसाद ढुङ्गेल, सांसद् अमृतलाल श्रेष्ठ, प्रमुख अतिथि श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सङ्गीता रौनियार, सामाजिक व्यक्तित्व सजेश शिवाकोटी लगायतले बोलेका थिए । अभिनन्दन कार्यक्रममा बिर्तामोडको क्षितीज नाट्य समूहको प्रस्तुति समेत रह्यो । सोही अवसरमा आशिष रणपहेँलीले गीत तथा श्रेया ढुङ्गेलले नृत्य प्रस्तुत गरे ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रममा महिलाको एक समूहले स्वस्ती वाचन गरेको थियो । कार्यक्रमका अध्यषसमेत रहेका बिर्तामोड नागरिक समाजका संयोजक अरुण श्रेष्ठले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन रङ्गकर्मी माधव कल्पित र सञ्चारकर्मी लीला अनमोलले गरेका थिए ।

को हुन् झमक ?
२०३७ सालमा धनकुटाको कचिडे गाविसमा जन्मिएकी झमकलाई प्रतिभावान नेपाली महिला स्रस्टाका रुपमा लिइन्छ । प्रतिमस्तिस्क रोगद्वारा पीडित घिमिरे उक्त रोगद्वारा पीडित विश्वकै १० प्रतिभावान साहित्यकारमध्ये एक हुन् ।
उनको जन्मदेखि नै हातगोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने अवस्था छ । उनले सुन्न र बुझ्न सक्ने क्षमतालाई तिखार्दै, खुट्टाको ३ औँलाको सहयोगले धेरै रचना प्रकशित गरिसकेकी छिन् । औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले घरमा भाई बहिनीले पढेको र लेखेको देखेर र सुनेर आफ्नो क्षमता विकास गरेकी हुन् ।
पारिवारिक स्नेह र सहयोग नपाएकी घिमिरेले बाल्यकालमा धेरै कठिनाइ भोग्नु परेको थियो । १९ वर्षको उमेरदेखि साहित्य सिर्जनामा लागेकी घिमिरेले आफ्ना कृतिहरूमा आफ्नो संघर्षमय जीवनको अनुभव, आत्मानुभूति व्यक्त गरेकी छिन् ।
उनी समसामयिक लेखहरू लेख्ने गर्छिन् । उनका लेखहरू प्रायः छोटा, राम्रा र सान्दर्भिक हुन्छन् । जुनसुकै विषयमा पनि उत्सुकता राख्नुलाई आफ्नो खुबी मान्ने घिमिरे जीवनलाई उर्जा दिने किताबहरू पढ्न रुचाउँछिन् । जीवनप्रति आशावादी लेखहरू मन पराउँछिन् ।
झमकको नाम नेपाली साहित्यको क्षेत्रमा निकै आदरका साथ लिइन्छ । उनको आत्मपरक निवन्ध सङ्ग्रह ‘जीवन काँडा कि फूल’ नामक कृतिले मदन पुरस्कार प्राप्त गरेपछि झमकको चर्चा झन चुलिएको थियो । मदन पुरस्कार गुठीले उनलाई दुई लाख राशिको मदन पुरस्कार प्रदान गरेको थियो ।

Views: 126

प्रतिक्रिया (०)