भद्रपुर ।

झापाको सदरमुकाम भद्रपुरमा बिहीबारदेखि आयोजना हुने पूर्वाञ्चलस्तरीय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव शैलेस ढुंगानाले जानकारी दिए ।
झापा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ र वाणिज्य मन्त्रालयअन्तर्गतको एनटीआईएस कार्यक्रमको संयुक्त आयोजनामा भद्रपुर ५ झापाचोकछेउको खुला मैदानमा फागुन २१ गतेसम्म सञ्चालन हुने महोत्सव समुद्घाटनका लागि प्रमुख अतिथिको रुपमा नेपाली कांग्ेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने महोत्सव आयोजक मूल समितिका संयोजक एवम् झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष एवम् कृषि उद्यम केन्द्रकी सभापति भवानी राणा, महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाललगायतको उपस्थिति रहने बताइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक क्यालेण्डरअनुसार पूर्वाञ्चलका लागि परेको महोत्सव यस वर्ष नेपालकै ऐतिहासिक नगर भद्रपुरमा आयोजना गर्न लागिएको हो । भद्रपुरमा ५७ वर्षपछि यसकिसिमको बृहत औद्योगिक–व्यापार महोत्सव आयोजना हुन लागेको बताइएको छ । महोत्सव सफल तुल्याउन सबै भद्रपुर नगरवासी जुटेका छन् ।
महोत्सवमा विभिन्न किसिमका एकसयभन्दा बढी स्टल बुक भइसकेको, स्टल निर्माण, विभिन्न ठाउँमा स्वागत द्वार निर्माण गर्नुका साथै महोत्सवस्थल दुलही झैं सिँगारिएको प्रचार प्रसार समितिका संयोंजक पंकज शर्माले बताए । त्यसैगरी, महोत्सवलाई भव्य, सभ्य र उल्लेख्य सहभागितामूलक बनाउन उद्घाटनअघि भद्रपुर नगरपालिका परिसरबाट विभिन्न परम्परागत साँस्कृतिक झाँकीसहितको र्याली आरम्भ गरी महोत्सवस्थल पुग्ने कार्यक्रम राखिएको कला तथा साँस्कृतिक उपसमितिका संयोजक कालीचरण वस्नेतले जानकारी दिए ।
भद्रपुरको सुस्ताएको व्यापारलाई जीवनदान प्रदान गर्ने, झापाको कृषि तथा पर्यटनको विकासमा सघाउ पुर्याउने, सीमा पार आयात–निर्यात व्यापारलाई पनि प्रवद्र्धन गर्ने अपेक्षा गरिएको महोत्सवमा स्वदेशी तथा विदेशी उत्पादनहरुको प्रदर्शनी तथा कारोबार, स्थानीय कृषि उत्पादनको प्रदर्शनी, पूर्वका पर्यटकीय स्थलहरुको प्रसार–प्रसार, दर्जनौं अटोमोबाइल्सका प्रदर्शनी, बालबालिकाका लागि आकर्षक बाल उद्यान, राष्ट्रिय तथा स्थानीय ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर रहने झापा उद्योग वाणिज्य संघका कार्यालय सचिव शैलेस ढुंगानाले बताए ।
स्वदेशी उत्पादन बढाऔं, आत्मनिर्भर बनौं भन्ने नारा आत्मसात गरिएको महोत्सवको प्रायोजकमा एशियन थाइ फुडद्वारा उत्पादित रमपम तयारी चाउचाउ र गुडलाइफ विस्कुट, सहप्रायोजकमा मनसा सिमेन्ट, मारुती सिमेन्ट, बजाज मोटरसाइकल र सेलो खानेतेल रहेका छन् । नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेको छ भने जिल्ला विकास समिति, भद्रपुर नगरपालिका सहआयोजकमा रहेका छन् ।
त्यस्तै, पूर्वाञ्चल क्षेत्रका जिल्ला–नगर उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु, सामाजिक संघ–संस्था पनि सहआयोजकको रुपमा रहेको बताइएको छ । महोत्सवमा दुई लाख अवलोकनकर्ता भित्र्याउने र दैनिक १ करोडको कारोबार अनुमान गरिएको महोत्सवको व्यवस्थापन गरिरहेका नेपाल उद्योग वाणिज्य महासंघको मेला व्यवस्थापन समिति सदस्य ललित सिम्खडाले बताए ।


