Aamsanchar

नेपाली सेनाले आज देशभर सेना दिवस मनाउँदै

Author Image
शुक्रवार, फागुन १३, २०७३

काठमाडौं ।

नेपाली सेनाले शिवरात्रीका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ ।

नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् ।

सेना दिवसको खुसियालीमा शुक्रबार साँझ सैनिक मञ्चमा सर्वसाधारणको मनोरञ्जनका लागि सेनाले गीतसंगीत पनि प्रस्तुत गर्ने छ ।

कार्यक्रममा सहभागी हुने जो कोहीलाई पनि सहज र निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सैनिक मुख्यालय जंगीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा समेत सेना दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ ।

वर्तमान सेनाको सांगठनिक स्वरूपको सुरुआत १८१९ सालदेखि भएको हो ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि सुरु भएकामा हालसम्म झण्डै १ लाख १५ हजार सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त देशमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६३ जना सैनिकले जीवन बलिदान दिइसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर