Aamsanchar

नेपालमा आउँछ मासिक दुई अर्बको मोवाइल, चीनबाट सबैभन्दा धेरै

Author Image
शनिवार, फागुन १४, २०७३

काठमाडौं :

बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोवाइल सेट भित्रने गरेका छन्। भन्सार विभागले निकालेको पछिल्लो विवरण अनुसार मोवाइल सेटको आयात बढेको देखिएको हो।

माग वृद्धिसँगै मोवाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनाको तथ्याङ्कलाई आधार मान्दा मोवाइल सेट डिजेल/पेट्रोल, आइरन स्टिल, अटो मोवाइल र धानचामलपछि सबैभन्दा धेरै आयात हुने वस्तुमा पर्छ।  गत साउनदेखि माघसम्मको आयातलाई मासिकमा रुपान्तरण गर्दा हरेक महिना नेपालमा विभिन्न मुलुकबाट १ अर्ब ९७ करोड ९८ लाख २२ रुपैयाँ बराबरका मोवाइल सेट आयात हुने गरेका छन्।

तथ्याङ्क अनुसार नेपालमा अहिले हरेक महिना औसतमा ५ लाख १६ हजार २ सय ८५ वटा मोवाइल सेट आयात भएको देखिन्छ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत कात्तिकमा नेपालमा विभिन्न कम्पनीका ४ हजार भन्दा बढी मोवाइल सेटका ब्राण्डले बिक्री वितरण गर्ने अनुमति पाइसकेका छन्। मोवाइल सेट बिक्री गर्नुपूर्व प्राधिकरणबाट उपकरण दर्ता गराई अनुमति लिनुपर्छ।

यसलाई ‘टाइप एप्रुभल’ भनिन्छ। गत कात्तिकसम्ममा प्राधिकरणबाट ४ हजार ३ सय ९३ ब्राण्डका उपकरणले अनुमति लिइसकेका छन्। त्यसमध्ये अधिकांश मोवाइल सेट रहेका छन्। नेपालमा सबैभन्दा धेरै मोवाइल सेट चीनबाट आयात हुने गरेको छ। चीनपछि भियतनाम, भारत, हङकङ, स्विटजरल्याण्ड, ताइवान, अमेरिका, बेलायत लगायतका मुलुक पर्छन्।

चालु वर्षको पहिलो सात महिनामा विभिन्न २८ मुलुकबाट ३६ लाख १३ हजार ९ सय ९८ मोवाइल सेट आयात भएका छन्। त्यसमध्ये सबैभन्दा धेरै ३१ लाख २६ हजार सेट चीनबाट मात्र आयात भएका छन्। चीनबाट मात्रै १० अर्ब भन्दा बढी मूल्यका मोवाइल आयात भएका छन्। कान्तिपुर दैनिक

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर