चितवन :
मुग्लिन नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको कविलासबाट त्रिशुली नदीमा बोलेरो जीप खसेर नदीमा बेपत्ता भएका बालककको शव फेला परेको छ।
खोजतलासका क्रममा भरतपुर १ स्थित नारायणी नदीको किनारमा शुक्रबार गोरखा ताकु ३ का १३ वर्षीय कबिन गुरुङको शव फेला परेको चितवन प्रहरीले जनाएको छ। उनको शवलाई अहिले पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।
यही फागुन ९ गते चितवनको पर्सा खैरहनीबाट कोठाको सामान लिई गोरखातर्फ जाँदै गरेको ना ३ च ७५४३ नम्बरको बोलेरो अनियन्त्रित भई त्रिशुली नदीमा खसेको थियो। सो दुर्घटनामा बेपत्ता भएकी गोरखा ताकु ३ बस्ने वर्ष ६५ की विष्णुमाया गुरुङ ९ गते साँझ नै मृत अवस्थामा फेला परेको थियो भने नाती कविन वेपत्ता थिए।
सो दुर्घटनामा चितवन कालिका नगरपालिका ५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षका भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षकी टिका गुरुङ र अर्का ५ वर्षिय न्युटल गुरुङ घाइते भएका थिए।