Aamsanchar

आफू मरेर यात्रु बचाउने चालक र सहचालकको सम्झना

Author Image
शनिवार, फागुन १४, २०७३

जुम्ला :

कालिकोट चिल्खयामा गएको वर्ष फागुन १४ गते एयर काष्टमण्डपको विमान दुर्घटनामा आफू मरेर पनि यात्रु बचाउने चालकको सम्झना गरिएको छ।

दुर्घटना परी नयाँ जन्म पाएका मेघराज गिरी, लक्ष्मण खड्का, धनन्जय खत्री लगायत जुम्लाबासीले पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानाको सम्झना गरेका हुन्। शनिबार आयोजित स्मृति कार्यक्रममा नागरिक समाजका अगुवा राजबहादुर महतले साहसिक चालकहरुको इतिहास जिउँदो राख्न शालिक निर्माण गनुपर्ने बताए।

आफैबाट शुरुवात गर्नुपर्ने भन्दै अगुवा महतले शालिक निर्माणका लागि आफुले १० हजार १ रुपैयाँ उठाएको बताए। म्याराथुन धावक हरिबहादुर रोकायाले दुवै चालक नेपालको हवाई इतिहासका नायक हुन् भने। शालिक निर्माण छिटो गर्नुपर्ने भन्दै उनले आफूले ५ हजार १ रुपैयाँ उठाएको जनाए। बुद्धिजीवी यामराज कार्कीले गतवर्ष नै शालिक निर्माण गर्ने भनिएपनि ढिलो भएको बताए।

‘शालिक निर्माण लागि यहाँको सरकारी गैर सरकारी कार्यालय, समाजसेवी, नागरिक सबैले लाग्नुपर्छ’ उनले भने। दुर्घटनामा परी नयाँ जीवन पाएका मेघराज गिरीले चालक दुवैले ज्यान फालेर आफुहरुलाई मृत्युको मुख पर्नबाट बचाएको जनाए।

उनले भने, ‘संसारमा हामीले नयाँ जन्म पाएका छौं, हामीलाई जीवन दिएर उहाँहरु अमर हुनु भएको छ, म दुवै चालकलाई हार्दिक श्रद्धासुमन प्रकट गर्दछु।’ यो दुर्घटनामा चालकहरु आफू मरेर १ बालक सहित ८ जनाको ज्यान बचाएका थिए। कार्यक्रमको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३७ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो।

Views: 158

प्रतिक्रिया (०)