Aamsanchar

झापामा क्यान्सरका बिरामी बढ्दै

Author Image
सोमवार, फागुन १६, २०७३

झापा।

झापामा क्यान्सर रोगीको संख्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाका अनुसार महिलामा बढी मात्रामा पाठेघरमा क्यान्सर फेला परेको छ । पुरुषमा भने फोक्सोका क्यान्सर धेरै रहेको उनले बताए ।
आर्थिक वर्ष २०७२÷०७३मा ४९५ जनामा क्यान्सर रोगीहरु फेला परेको सूचना अधिकारी देवराज कार्कीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी महिलामा पाठेघरको समस्या धेरै रहेको छ । महिलामा जनचेतना बढ्दै गएपछि अस्पतालमा परीक्षण गर्न आउने बढ्दै गएकाले यो रोगको रोगीहरु धेरै फेला परेको जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए ।
विगतका वर्षहरुमा महिलाहरुले यो रोगलाई लुकाउने गरेकाले बाहिर नआए पनि पछिल्लो समय जनचेतनाको विकास भएसँगै अस्पताल सम्म आउने गरेकाले उस्ता प्राणघातक रोगहरुको संक्रमणका बिरामी धेरै फेला परेको कोइरालाले बताए । पुरुषहरुमा फोक्सोको क्यान्सर भएका बिरामी धेरै रहेको भन्दै उनले भने– पुरुषमा यो रोगको संक्रमण देखिनुको मुख्य कारण भनेको धुम्रपान सेवन हो ।
चालू आर्थिक बर्षमा पनि क्यान्सरका रोगका विरामी धेरै रहेको प्रमुख कोइरालेले बताए । उनका अनुसार विपन्न नागरिकलाई सिफारिस गरिने अधिकांश रोगीहरुमा ५० प्रतिशत बढी झापालीमा क्यान्सर रोग देखा परेको छ ।
खानपान तथा जीवनशैलीका कारण पनि यो रोगको संक्रमण धेरै देखा पर्न थालेको चिकित्सकहरुले बताएका छन् । महिलाहरुमा पाठेघरको क्यान्सर देखा पर्नुमा रोग लुकाउनु नै मुख्य समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए । उनले अन्य रोगहरु पनि कम नभएको भन्दै उच्च रक्तचाप, मधुमेह लगायतका रोगीको संख्या पनि बढ्दै गएको छ । शारीरिक ब्यायाम नगर्नु तथा खानपानमा ध्यान नदिनाले यस्तो दीर्घरोगहरु बढ्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।
जनस्वास्थ्य प्रमुख कोइरालाका अनुसार सरुवा रोगमा श्वासप्रश्वास, रुघाखोकी लगायतका बिरामी धेरै फेला पर्ने गरेका छन् । उनले सरुवा रोगबाट बच्न माक्स लगाएर हिँड्न सुझाव दिएका छन् । उनले सरुवा रोगीको छेउछाउमा नबस्न पनि आग्रह गरेका छन् ।
यसैबीच पाँचौं स्वास्थ्य सेवा दिवसको अवसरमा मेची अञ्चल अस्पतालमा आइतबार फलफूल वितरण गरिएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय र मेची अञ्चल अस्पतालले फलफूल वितरण गरेर स्वास्थ्य सेवा दिवस मनाएको कोइरालाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको उपस्थितिमा अञ्चल अस्पतालमा रहेको विरामीहरुलाई फलफूल विरण गरिएको हो ।
सरकारले स्वास्थ्य सेवा दिवस मनाइरहँदा केही स्वास्थ्यकर्मीहरु भने आन्दोलनमा रहेका छन् । स्तरवृद्धि गरे पनि जिम्मेवारी नदिएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । गत फागुन २ गतेबाट आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मीहरुले इमरजेन्सी, वर्थिङ सेन्टर तथा खोप कार्यक्रमहरु सञ्चालन गरे पनि जिल्लाले उपलब्ध गराउने तालिम तथा सेमीनारहरु भने उनीहरुले बहिस्कार गरेका छन् ।
झापामा रहेका ५१ वटा स्वास्थ्य संस्था मध्ये ६ वटा प्राथमिक स्वास्थ्य संस्था, ३३ वटा हेल्थ पोस्ट रहेका छन् । त्यसमध्येका केही स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी आन्दोलित बनेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कोइरालाले बताए । उनका अनुसार नेपाल स्वास्थ्यकर्मी संघ बाहेकका ट्रेड युनियनहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनकारीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय झापामा धर्ना कार्यक्रम पनि जारी राखेका छन् ।

Views: 149

प्रतिक्रिया (०)