बिर्तामोड।

झापाको राजगढमा प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । मेची आँखा अस्पताल सैनिकमोडले प्राथमिक आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । दक्षिण क्षेत्रका सर्वसाधारणलाई मध्यनजर गर्दै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए ।

प्राथमिक उपचार केन्द्रको आइतवार एक समारोहकाबीच उद्घाटन गरिएको छ । प्राथमिक आँखा उपचार केन्द्रको उद्घाटन पूर्व श्रम तथा यातायात व्यवस्था सहायक मन्त्री टेकनारायण राजवंशीले गरेका थिए । इलाका स्वास्थ्य चौकी राजगढ परिसरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ ।
दक्षिणी क्षेत्रमा अत्यधिक आँखाको रोगी हुने गरेको र विहारबाट समेत आँखा उपचारका लागि बिर्तामोडसम्म धाउने गरेकाले उनीहरुलाई लक्षित गर्दै उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ ।
झण्डै २५ किलोमिटर धाएर त्यहाँका सर्वसाधारण आँखाको उपचारका लागि बिर्तामोडसम्म धाउने गरेका थिए । उनीहरुसँगै दक्षिणी भारतका अधिकांश सर्वसाधारण लाभान्वित हुने भएका छन् । यसअघि आयोजना गरिएको शिविरमा विहार र दक्षिणी झापाका अधिकांश सेवाग्राहीले अत्यधिक लाभ लिएपछि आँखा अस्पतालको आवश्यकता महशुस गरी आफूहरुले आँखाको प्राथमिक उपचार केन्द्र सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले जानकारी दिए ।
जोशीका अनुसार दक्षिणी क्षेत्रमा चिया बगान, इँटाभट्टा रहेकाले त्यहाँ कार्यरत मजदुर र आदिवासी जनजाति लगायतको समुदायमा बढी मात्रामा नेत्र ज्योतिको समस्या देखिएकाले उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
१८ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रमा जटिल शल्यक्रिया बाहेक अन्य सबै सुविधा दिइने अस्पतालका प्रशासकीय अधिकृत रौनियारले जानकारी दिए । तीन जना कर्मचारीले तत्काल सेवा दिने र निकट भविष्यमा सेवा विस्तारसँगै कर्मचारी थपिने बताइएको छ । प्राथमिक आँखा उपचार केन्द्रको उद्घाटनसँगै दुई दिवसीय निःशुल्क आँखा शिविरको समेत आयोजना गरिएको छ । शिविरको पहिलो दिन ९३ जनाले सेवा लिएका छन् । उनीहरुमध्ये केहीमा मोतियाविन्दु भेटिएकाले शल्यक्रियाका लागि मेची अस्पताल पठाइने बताइएको छ ।
प्राथमिक आँखा उपचार केन्द्रमा सेवा लिन आउने सेवाग्राहीले ओपीडीमा ५० प्रतिशत र शल्यक्रियामा समेत ५० प्रतिशत छुट प्राप्त गर्ने अस्पतालकी अप्थाल्मिक सुपरभाइजर कविता कार्की कडरियाले बताइन् । उनले भनिन्– यहाँबाट सिफारिस भएर गएका जो कोहीलाई ५० प्रतिशतसम्म शल्यक्रियामा छुट हुन्छ ।

सबै दिन यहाँ आउने सेवाग्राहीले सेवा पाउँछन्– उनले भनिन्– जतिसक्दो बढी हामी सेवाग्राहीलाई सेवा दिन्छन् । नेत्र सहायक पुष्पप्रसाद अधिकारीको नेतृत्वको टिम प्राथमिक आँखा उपचार केन्द्रमा रहने र उनीहरुमार्फत सेवाग्राहीलाई सेवा दिने बताइएको छ । स्वास्थ्य केन्द्रमा नियमित आँखा जाँच, चश्मा जाँच तथा वितरण, औषधि वितरण, सामान्य शल्यक्रिया र ओपीडी सेवा प्रदान गरिने बताइएको छ ।
उद्घाटन समारोह इलाका स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो । उद्घाटन समारोहमा अस्पतालको सेवाका विषयमा प्रशासकीय अधिकृत सुरज रौनियार, मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी लगायतले जानकारी गराएका थिए । कार्यक्रममा स्वागत इलाका स्वास्थ्य चौकी राजगढका सिनियर अहेव रामकुमार साहले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति टंक साह, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष तोयानाथ पोखरेल, नेकपा माओवादी केन्द्रका मोती राजवंशी, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका गंगाप्रसाद राजवंशी, मधेशी जनाधिकार फोरम नेपालका काशीलाल राजवंशी, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका कमल साह, राप्रपाका पीवी कटुवाल, जग्गादाता कपलेश्वर साह, नेका एमालेका जिल्ला कमिटी सदस्य पदम थापा, प्रेम घिमिरे, समाजसेवी राम दुलाल, सद्भावनाका जिल्ला सचिव ओमनारायण राजवंशी, व्यवसायी खगेन्द्र कार्की, पशुपति उच्च माविका शिक्षक विद्यासागर चौधरी लगायतले आँखा अस्पतालले पु¥याएको सेवाको प्रंशसा व्यक्त गर्दै दक्षिणी क्षेत्रमा पनि समेत सेवा विस्तार गरेकोप्रति खुशी व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन अस्पतालका कर्मचारी युवराज बोहोराले गरेका थिए । शिविरमा डा. पुरुषोत्तम जोशी, डा. युवराज बोहोरा, कविता कार्की कडरिया, सन्तोष कर्ण, पुष्पप्रसाद अधिकारी लगायतले सेवाग्राहीको आँखा जाँच गरेका थिए ।
१ लाख ३० हजारको आँखा जाँच
मेची आँखा अस्पताल सैनिकमोड झापाले चालू आर्थिक बर्षको फागुनको पहिलो हप्तासम्ममा १ लाख ३० हजारको आँखा जाँच गरेको छ । जसमध्ये १२ हजार जनाको सफल शल्यक्रिया गरिएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार फागुनको पहिलो हप्तासम्ममा शिविरमा मात्रै १६ हजार जनाले सेवा लिएका छन् ।
पाँचथरको फिदिम, झापाको गौरादह, दमक र बनियानीमा सञ्चालित प्राथमिक आँखा उपचार केन्द्रमार्फत सेवा लिएको अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए । राजगढमा सञ्चालित प्राथमिक उपचार केन्द्र पाँचौं हो । यसअघि इलाममा पनि प्राथमिक उपचार केन्द्र सञ्चालन गरिने जनाइएको छ । राजगढमा जग्गा व्यवस्थापन गर्दै अस्पताल नै सञ्चालन गर्ने लक्ष्यका साथ अघि बढिएको बताइएको छ ।
जसले १० कठ्ठा जग्गा दान गरे
झापा राजगढ–५का कपलेश्वर साह अचानक भावुक देखिए । आँशुको थोपा चुहिन थाले । कारण थियो मेची आँखा अस्पताल सैनिकमोडले इलाका स्वास्थ्य चौकी राजगढ परिसरमा आँखाको प्राथमिक उपचार केन्द्र उद्घाटन हुनु ।
१५ बर्षअघि इलाका स्वास्थ्य चौकी राजगढलाई १० कठ्ठा जग्गा दान गर्दै निर्माण गरिएको इलाका स्वास्थ्य चौकीमा आँखाको रोगीलाई लक्षित गर्दै सेवाको प्रराम्भ गर्दा ढिलै भएपनि आफ्नो सपना पूरा भएको भन्दै उनी भावुक बने । साह परिवारको तर्फबाट रामेश्वर साह, गुलट साह र कपलेश्वर साहले संयुक्त रुपमा उक्त जग्गा स्वास्थ्य चौकीको नाममा प्रदान गरेका थिए । राजगढ बजारमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका कपलेश्वर साह अहिले ७० बर्षका भए ।
सम्पत्ति आज छ, भोलि छैन तर मैले दान गरेको जग्गामा बनेको स्वास्थ्य चौकी भवनले यस क्षेत्रका धेरैको ज्यान बचाएको छ । त्यसमाथि पनि आँखा जस्तो महत्वपूर्ण अंक उपचार गर्ने केन्द्र स्थापना गर्नुले खुशी नहुने कुरै भएन– उनले भने– अब यहाँ दाँत र कानको समेत सफल उपचार हुने भए यहाँका बिरामीले अन्यत्र जानुपर्दैन थियो ।

