Aamsanchar

अबको निर्वाचनमा युवापुस्ताको वर्चस्व रहने

Author Image
मङ्गलवार, फागुन १७, २०७३

(केदार मगर)

खोटाङ।

लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेसँगै जिल्लावासी उत्साहित भएका छन् ।
विसं २०५४ देखि पदाधिकारी विहीन स्थानीय निकाय अब नयाँ संरचनामा अघि बढ्ने भएपछि जिल्लावासी उत्साहित बनेका हुन् ।

महिला तथा समावेशीमा प्रतिनिधित्व हुने भएपछि जिल्लाका महिला तथा दलितसमेत उत्साहित छन् । यो चुनावमा मुलुकको राजनीतिक परिवर्तन अनुसार पालिका हाँक्न सक्ने सक्षम उम्मेदवार तय गर्ने नेताको छनक देखिन्छ ।

अबको निर्वाचनमा सबैको साझा बन्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने राजनीतिक दलको तयारी देखिन्छ । “अब नयाँ जोस् र जाँगर भएका युवाले पालिका हाँक्नु पर्छ ।” नेपाली काँग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी भन्नुहुन्छ, “पुराना व्यक्तिबाट नेतृत्व सम्भव छैन । युवापुस्ताले नेतृत्व गरेमात्र देशको विकास सम्भव हुन्छ ।”

नेकपा (एमाले)मा पनि नयाँ नेतृत्वले अवसर पाउनुपर्ने युवा नेता दिलचक्र राई बताउनु हुन्छ । “अब ऊर्जाशील युवालाई विकासमा लगाउनुपर्छ ।” उहाँ भन्नुहुन्छ, “पार्टीले अवसर दिनुपर्छ । युवाशक्ति रोजगारीका लागि विदेशिनु नपरोस् ।”

नेकपा (माओवादी केन्द्र)का युवा नेता विनोद आचार्यले पनि युवाको नेतृत्वमा पालिकाका पदाधिकारी निर्वाचित हुने बताउनुभयो । यसले मात्र मुलुकको परिवर्तनमा टेवा पुग्ने आचार्यको तर्क छ ।

नेकपा (माले)का युवा नेता श्यामराज राईले स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिले पालिकाको नीति निर्माण गर्नुपर्ने भएकाले होसियारीपूर्वक उम्मेदवार छनोट गर्नुपर्ने बताउनुभयो । यद्यपि, अब हुने निर्वाचनमा युवा पुस्ताको वर्चस्व रहनेमा आफू विश्वस्त रहेको राईको भनाइ छ ।

हुन त पुनःसंरचनाको सीमाङ्कन, नामाङ्कनको स्पष्ट खाका नआई चुनाव हुने नहुने भन्ने निक्र्यौल हुन सकेको छैन । वर्तमान सरकार हँदैसम्मको लचकता अपनाएर नयाँ संरचनामा चुनाव गराउने कसरतमा देखिन्छ । काँग्रेस–माओवादीको चुनाव गराउने अभिष्ट उत्कर्षमा देखिन्छ भने प्रमुख प्रतिपक्ष एमाले पनि चुनावको हतारोमा देखिन्छ ।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने मिति तय गरेको छ । नयाँ संरचना अनुसार प्रत्येक गाउँ पालिकाको वडामा एक अध्यक्षसहित पाँचजना प्रतिनिधि निर्वाचित हुनेछन् । यसमा दुई महिला अनिवार्य हुनेछन् । यसलाई आधार मानेर हेर्दा प्रत्येक गाउँ पालिकामा कम्तीमा २५ जना प्रतिनिधि निर्वाचित हुने देखिन्छ ।

गाउँ कार्यपालिकामा चार महिला र दुई दलितसहित छजना रहनेछन् । योसहित १८ जना गाउँ कार्यपालिकाको प्रतिनिधि निर्वाचित हुनेछन् । पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य निर्वाचित हुनेछन् ।

खोटाङमा १३२ मतदान केन्द्र छन् । नयाँ संरचनामा चुनाव गर्दा मतदान केन्द्र पुनरावलोकन हुनसक्ने जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताउनुभयो । अधिकांश मतदान केन्द्र विद्यालयमा राखिएकाले निर्वाचनमा विद्यालय बन्द हुनेछन् ।

जिल्लामा एकलाख १८ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । यसमध्ये फागुन ९ गतेसम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउनेछन् ।
२१ वर्ष पूरा भएका र सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्ति उम्मेदवार हुन पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)