Aamsanchar

७१ वर्षको उमेरमा वृद्धाले मागिन् ‘डिभोर्स’

Author Image
मङ्गलवार, फागुन १७, २०७३

रोल्पा : 

राङकोट–लाउनीभिरकी हस्तमाली वली आइतबार छोरीलाई साथ लिएर सदरमुकाम लिबाङ आइपुगिन्। ७१ वर्षीया हस्तमालीको सदरमुकाम आउनुको कारण थियो, पति पञ्चबहादुरसँग सम्बन्धविच्छेदको माग गर्नु।

‘संधै कुटपिट गर्छ, छोरीको घरमा पनि बस्न दिइन, संधै दुःख दियो। त्यही कारणले धागो छिनाल्न आएँ’, उनले सम्बन्धविच्छेद माग्नुको कारण खोलिन्। करिब ७ वर्षदेखि अलग रहँदै आएको यो दम्पतीको झगडा गाउँमा धेरैपटक मिलापत्र गरिए पनि सम्बन्ध सुध्रिएन।

हस्तमाली भन्छिन्, ‘गाउँमा धेरैपटक कचहरीमा कागज बनाइदिए, तर उसले मलाई पिट्न छोडेन।’ प्रहरीकहाँ पुग्दा पनि समस्या समाधान नहुँदा सम्बन्धविच्छेदको बाटो रोजेको उनको भनाइ छ। छोरी कमला वलीका अनुसार पञ्चबहादुरका सातवटी श्रीमती थिए। कोही मरिसके भने कोही अझै छन्।

हस्तमाली पञ्चबहादुरकी कान्छी श्रीमती हुन्। ‘तँलाई दुःख दिन्न, राम्ररी बसम्ला भनेर बिहे गर्यो, हस्तमालीले भनिन्, बिहे गरेदेखि नै कहिल्यै राम्ररी बस्न र्पाको छैन।’ पञ्चबहादुरका अन्य श्रीमतीबाट दुई छोरा र तीन छोरी छन्। हस्तमालीबाट भने एउटी छोरीमात्र छिन्।

विवाद मिलाउँदा-मिलाउँदा गाउँका अगुवा र प्रहरीसमेत दिक्क भएपछि बाध्य भएर जिल्ला अदालत धाएको हस्तमालीले बताइन्। हस्तमालीले आइतबार नै जिल्ला अदालत रोल्पामा एकतर्फी मुद्दा दायर गरेकी छिन्।

‘अहिलेसम्म उसको कुटाइ पिटाइ सहेँ’, हस्तमालीले भनिन्, ‘मर्ने बेलासम्म कति सहनु, केही नलागेर सम्बन्धविच्छेद गर्न आएकी हुँ।’ उनलाई आफूहरूको विवाह कहिले भएको भन्नेसमेत यकिन छैन। छोरी जन्मिएको आधारमा सम्झिँदै उनले भनिन्, ‘त्यस्तै २५\३० वर्ष भयो होला, बिहे गरेको।नयाँ पत्रिका

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर