Aamsanchar

उद्योग–व्यवसाय फस्टाउन मुलुकमा शान्ति चाहिन्छ

Author Image
मङ्गलवार, फागुन १७, २०७३

विराटनगर।

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले कृषि तथा औंद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि विराट एक्स्पोलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ ।

उद्योग सङ्गठन मोरङद्वारा आज आयोजित विराट एक्स्पोको समापनका अवसरमा उहाँले उद्योग–व्यवसायलाई फस्टाउन मुलुकमा शान्ति स्थापना र सहज वातावरण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संविधान कार्यान्वयनमा समस्या देखिएको प्रसङ्ग उल्लेख गर्दै उपनेता नेम्बाङले जसरी संविधान जारी गर्ने बेलामा दलहरु एकजुट भएका थिए, त्यसरी नै संविधान कार्यान्वयनका लागि पनि दलहरुबीच एकता आवश्यक रहेको बताउनुभयो ।

निर्वाचनको कुनै विकल्प नरहेको भन्दै उहाँले मधेस र मधेसी दलबीच रहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयास गरिए पनि सफलता नमिलेको बताउनुभयो ।

संविधानसभाले बनाएको संविधानलाई विभिन्न घटनाक्रममा सबैले स्वीकारेको उल्लेख गर्दै उहाँले निर्धारित समयमा तीनवटै तहको निर्वाचन नभएमा सङ्घीयता, समावेशी, धर्मनिरपेक्ष र गणतन्त्र संस्थागत हुन नसक्ने सम्भावना प्रकट गर्नुभयो ।

सोही अवसरमा उहाँले विराट एक्स्पो–२०७३ मा सहभागी भएका महिला घरेलु तथा कृषि क्षेत्रमा र औद्योगिक उत्पादनमा उत्कृष्ट भएका तीन÷तीन संस्थालाई पुरस्कृत गर्नुभएको थियो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद कोइराला, क्षेत्रीय कृषि निर्देशनालयका निमित्त प्रमुख राजेन्द्र उप्रेती र विराट एक्स्पोमा सहभागी व्यापारी नारायण राईले विराट एक्स्पोको सम्बन्धमा प्रकाश पार्नुभएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)