Aamsanchar

मोरङमा जनशक्ति र मतपेटिका पर्याप्त

Author Image
मङ्गलवार, फागुन १७, २०७३

विराटनगर।

स्थानीय निर्वाचनका लागि मोरङमा जनशक्तिका साथै मतपेटिका पर्याप्त मात्रामा रहेको छ ।  जिल्लाको एक सय ५५ स्थानमा गरिने निर्वाचनका लागि दुई हजार नौ सय मतपेटिका मौज्दात रहेकाले थप मतपेटिकाको माग गर्नु नपर्ने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी गराउनुभयो ।

विसं २०७० मा संविधानसभाको निर्वाचन गराइएका मतपेटिका सुरक्षित रहेकाले थप मतपेटिकाको माग गर्नुनपर्ने उहाँले बताउनुभयो । यस जिल्लामा अनुमानित दुई सय ७० वटा मतदान केन्द्रका लागि मतपेटिकाका साथै निर्वाचन गराउनका लागि जनशक्ति पनि पर्याप्त मात्रामा रहेको र जनशक्तिको अभाव नहुने बताइएको छ ।

प्रस्तावित नयाँ संरचनाका आधारमा निर्वाचन हुँदा मतदान केन्द्रको सङ्ख्यामा थपघट हुनसक्ने उहाँले बताउनुभयो । प्रस्तावित पुनः संरचनाका आधारमा मोरङमा एक महानगरपालिका, १० नगरपालिका र ६ वटा गाउँपालिका छन् भने पुरानो संरचनामा एक उपमहानगरपालिका, सात नगरपालिका र ५० गाविस छन् । यस जिल्लामा कुल मतदाताको सङ्ख्या पाँच लाख ७३ हजार चार सय तीन रहेको सो कार्यालयका नायबसुब्बा तारादेवी शर्माले जानकारी गराउनुभयो ।

सोमध्ये, दुई लाख ९१ हजार दुई सय ७५ पुरुष, दुई लाख ८२ हजार एक सय २८ महिला छन् । विराटनगर उपमहानगरपालिकामा एक लाख सात हजार तीन सय ९३ मतदातामध्ये ५० हजार दुई सय आठ महिला र ५० हजार एक सय ८५ पुरुष छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)