बिर्तामोड।

आठ बर्षपछि हुन लागेको स्ववियु निर्वाचनको सम्पूर्ण तयारी झापामा पूरा भएको छ । झापाका १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको जनाइएको छ । नेतृत्व चयनका लागि आज बुधवार निर्वाचन हुँदैछ । कनकाई क्याम्पस सुरुङ्गामा विवादका कारण चुनाव स्थगित भएको छ भने धुलावारी क्याम्पसमा निर्वाचनको मिति सारिएको छ ।

धुलावारी क्याम्पसमा फागुन २१ गते निर्वाचन हुने बताइएको छ । बाँकी १० वटा क्याम्पसमा निर्वाचनको तयारी पूरा भएको बताइएको छ । काँकरभिट्टा क्याम्पस काँकरभिट्टा, धुलावारी क्याम्पस धुलावारी, त्रिदेव चारआली, कन्काई बिर्तामोड, मेची क्याम्पस भद्रपुर, शनिश्चरे, देवी, गौरादह, गौरीगञ्ज, दमक र गरामनी क्याम्पसमा निर्वाचन हुने बताइएको छ ।
निर्वाचनका लागि विभिन्न विद्यार्थी संगठन आ–आफ्नै तर्फबाट प्यानल खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । केही क्याम्पसमा विद्यार्थी संगठनबीच कार्यगत एकता भएको बुझिएको छ । अनेरास्ववियुकोतर्फबाट काँकरभिट्टा क्याम्पसमा पुकार कार्कीले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने नेविसंघबाट सुरज सुवेदी, धुलावारीमा अनेरास्ववियुबाट शोभा भट्टराई र नेविसंघबाट अनिष लुइँटेल, त्रिदेवमा अनेरास्ववियूबाट लक्ष्मीप्रसाद न्यौपाने र नेविसंघबाट कल्पना थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै कन्काई क्याम्पस बिर्तामोडमा राजेश कार्की अनेरास्ववियुबाट उम्मेदवारी दर्ता गराएका छन् भने नेविसंघबाट सञ्जय राईले र अखिल क्रान्तिकारीबाट टीकाराम धमलाले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् । मेची क्याम्पसमा अध्यक्षका लागि अनेरास्ववियुकातर्फबाट मनोज ताम्ली, नेविसंघबाट भूवन बुढाथोकी र अखिल क्रान्तिकारीबाट हैकम घिसिङको उम्मेदवारी परेको छ । देवी बहुमुखी क्याम्पसबाट निरज थापा अनेरास्ववियू, सुवास ढकाल नेविसंघ र अखिल क्रान्तिकारीबाट पदम खड्का रोशनको उम्मेदवारी परेको छ । गौरादह क्याम्पसमा कल्पना पौडेल अनेरास्ववियु, कांग्रेससँग कार्यगत एकता गर्दै युवराज खनालको उम्मेदवारी परेको छ ।
त्यस्तै गौरीगञ्जमा अनेरास्ववियुकोतर्फबाट मोहन न्यौपाने, नेविसंघबाट देव ताजपुरियाको उम्मेदवारी परेको छ । दमक बहुमुखी क्याम्पसमा भने अनेरास्ववियुबाट सन्तोष दुलालको अध्यक्षमा उम्मेदवारी परेको छ भने नेविसंघबाट विनोद चापागाई र अखिल क्रान्तिकारीबाट कुलबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । स्थगित भएको कनकाई क्याम्पसका लागि अनेरास्ववियुका नवीन राई र नेविसंघका अशोक पाठकको उम्मेदवारी परेको बताइएको छ ।
यता गरामनीमा अनेरास्ववियुको तर्फबाट भावना भट्टराईले उम्मेदवारी घोषणा गरेको बताइएको छ । यसअघि स्ववियुको निर्वाचन २०६५ सालमा भएको थियो ।


