काँकरभिट्टा।

पूर्वमा यति बेला पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थको हाहाकार भइरहेको छ । दैनिक जसो हुने समस्या अनि पेट्रोल आयात हुने बाटोबाटै ट्याङ्कर आउन कठिन हुँदा यो समस्या देखिएको हो ।
नेपालको पूर्वी नाका काँकरभिट्टाबाट भित्रिने पेट्रोलियम पदार्थ नेपालको प्रवेशद्वारको भन्सार परिसरमा पहिलो अवरोध हुने गरेको छ । सरकारले अति प्रज्ज्वलनशिल पदार्थ भनेर घोषणा गरेको पेट्रोलियम पदार्थ भन्सारभित्रै ३० घण्टा सम्म रोकिँदा झापा लगायत अन्य जिल्लाहरुमा यसको अभाव देखिएको हो ।
पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरु नाकाबाट भित्रिए पनि भन्सारभित्र प्राविधिक समस्या भन्दै रोकिदिँदा बजारमा यसको अभाव देखिने गरेको अर्को रहस्य सार्वजनिक भएको छ ।

सोमबार यस नाकाबाट बिहान ११ बजे भित्रिएका ३३ वटा ट्याङ्कर मंगलवार दिउँसो २ बजेसम्म पास नगरिदिँदा मजदुरहरू आन्दोलित बनेका छन् । भन्सारले प्राविधिक रूपमा नेटमा आएको समस्य भन्दै काम कारबाही अघि नबढाउँदा ३० घण्टासम्म तेल बोकेका ट्याङ्करहरु भन्सार परिसरभित्रै बस्न बाध्य भएको ट्याङ्कर चालक प्रकाश बुढाथोकीले बताए ।
तर, भन्सारले अन्य सामानका गाडीहरु भने नियमित रूपमा छोड्ने गरेको उनले गुनासो समेत गरे । सागसब्जी, कोइला लगायतका सामान बोकेका गाडीहरु भने भन्सार छिरेको केही बेरमै छोडिन्छ– अर्का चालक गोपाल श्रेष्ठ भन्छन् – हामीमाथि एक वर्ष अघिदेखि भन्सारले चासो देखाएको छैन । आयल निगमले कुनै पहल नगर्दा र भन्सारको काम छिटो नहुँदा घण्टौंसम्म भन्सारभित्रै बस्नु परेको उनको गुनासो छ ।
उता भन्सार प्रमुख गणपति कँडेलले माथिबाटै भएको प्राविधिक समस्याका कारण आफूहरुले केही गर्न नसक्ने बताए ।

नेपाल यातायत स्वतन्त्र मजदुर संगठन ट्याङ्कर इकाई चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले भन्सारको चरम लापरवाहीका कारण मजदुरहरूले बिना कारण दुःख पाइरहेको बताए । भन्सारभित्रै तेल रोकिन्छ अनि मजदुरहरूले तेलको अभाव गरे भनेर बजारमा हल्ला पिटिन्छ यसको यथार्थ बुभ्mन उनले आग्रह समेत गरे । पूर्वाञ्चल भरि चल्ने ५० वटा तेलका गाडीहरुको सम्पूर्ण डिपो भन्सारभित्रै रोकिँदा पम्पले उल्टै मजदुरहरूसँग आक्रोश पोख्ने गरेको बताउँछन्– चालक जयप्रकाश उराऊ । यसरी दुई दिनसम्म तेल रोकिँदा ट्राफिकले समेत गाडी पास हुँदा समस्या दिने गरेको उनको गुनासो रहेको छ ।
यता भन्सारभत्र यसरी अति प्रज्ज्वलनशील पदार्थ घण्टौंसम्म राखिँदा अर्को जोखिम बढ्ने सम्भावना देखिएको छ । सयौं गाडीहरु एकै ठाउँ राखिँदा यसबाट आउने समस्याको विषयमा भन्सारले कुनै चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।

