Aamsanchar

‘’झापामा एसियन ग्रामीण पर्यटन महोत्सव – २०१७ आयोजना हुँदै’’

Author Image
बिहिवार, फागुन १९, २०७३

भरत शिवाकोटी,

झापाको बाहुण्डाँगी गा.वि.स. तथा यसका छिमेकी गा.वि.स. र नगरपालिकामा रहेका विभिन्न सामाजिक संघ संस्था  तथा छिमेकी देशहरु भारत, भुटान, र वङ्गलादेशका पर्यटन प्रवद्र्धन गर्ने विभिन्न संस्थाहरुको संयुक्त प्रयासवाट बाहुण्डाँगी – १ हात्ती रिसोर्ट अगाडी २०७३ फागुन २० देखि २६ गते सम्म ७ दिवसीय एसियन ग्रामीण पर्यटन महोत्सव – २०१७ को आयोजना हुने भएको छ ।

अपरान्ह दुई बजे प्रमुख अतिथी पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (एमाले) का अध्यक्ष के. पी. शर्मा ओलीले उदघाटन गर्ने महोत्सवको आकर्षणमा नेपाल, भारत, भुटान, म्यानमार र वङ्गलादेशका स्थानीय हस्तकला, मौलिक परम्परा, सांस्कृतिक पहिचानका वस्तुहरु तथा सांस्कृतिक गायन, नृत्य आदि प्रस्तुत हुने जनाइएको छ ।

त्यस्तै नेपाल भित्रका विशेष गरी स्थानीय क्षेत्र बाहुण्डाँगी र यसका आसपासमा बसोबास गर्ने विभिन्न जातजाति र समुदायका धार्मीक तथा सांस्कृतिक पहिचान झल्कने पहिरन, भेसभूसा सहितका झाँकी प्रदर्शन गरिनेछ भने पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन विभिन्न जातिय खानाका परिकार समेत उपलब्ध गराईनेछ |  पर्यटक तथा अवलोकन कर्ताहरुलाई स्थानीय परिकारहरुले भरपुर मनोरञ्जन प्रदान गरिने, परम्परागत विविध जातिय लोक गायन तथा आधुनिक गायन र नृत्यको मनोरञ्जन स्थानीय तथा राष्ट्रिय कलाकारहरु द्वारा प्रस्तुत गरिने, ज्ञानवर्दक तथा चेतनामूलक स्टलहरुको व्यवस्थापन कार्यक्रममा गरिने जनाइएको छ |

जसबाट पर्यटन, उधोग व्यवसाय, स्वास्थ्य तथा कृषि सम्वन्धि सीप, कृषि उत्पादनको व्यापार र ज्ञानको आदान-प्रदान, स्थानीय क्षेत्रमा अवस्थित धार्मीक तथा पर्यटकीय क्षेत्रहरुको अवलोकनको व्यवस्था तथा वृत्त चित्रद्वारा प्रदर्शन गराइनेछ ।

विगतमा स्थानीय निकाय प्यासिफिक एशियन ट्राभल्स एशोशिएसन थाईल्याण्ड र फ्लोरिडा युनिभर्सिटी अमेरिकाले समेत यस कार्यमा सहयोग पुर्याएका थिए भने जिल्ला विकास समिती झापा, मेचीनगर नगरपालिका, गाउँ विकास समितीको कार्यालय बाहुण्डाँगी, मेची उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ, पर्यटन कार्यालय, विराट क्षेत्र पर्यटन प्रर्वद्धन विकास समिति, नेपाल पर्यटन वोर्ड तथा विभिन्न व्यक्ति, संघ-संस्था, संचारकर्मी, कलाकार एवं स्थानीय महानुभावहरुको उल्लेखनिय सहयोग रहदै आएको स्मरण गरिएको छ | सो सहयोगलाई निरन्तरता दिदै यस ग्रामीण पर्यटन महोत्सवलाई भव्य र सभ्यताका साथ सफल बनाउनका निमित्त उपस्थितिका लागि सम्पूर्ण सबैलाई आयोजक अध्यक्ष अर्जुन कुमार कार्की र सचिव वेग वहादुर राना  द्वारा हार्दिक अनुरोध गरिएको छ |

Views: 196

प्रतिक्रिया (०)