झापा।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको तीनदिन बितिसक्दापनि झापाको एक क्याम्पसमा अझैं मत गणना सुरु हुन सकेको छैन ।
फर्जी मतदान भएको भन्दै अनेरास्ववियुले विरोध जनाएपछि मेची बहुमुखी क्याम्पस भद्रपुरमा मतगणना हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले बताउनुभयो । निर्वाचन समितिले मतगणना सुरु नगरेपछि शुक्रबार नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस परिसरमा बोतल बजाउँदै दिनभर धर्ना दिए ।
उनीहरुले क्याम्पस प्रशासन र निर्वाचन समिति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए् । क्याम्पस प्रमुख कमल गुरागाईलाई नेकपा एमालेले हस्तेक्षप गरी मतगणना गर्न नदिएको भन्दै विरोध जनाए । क्याम्पसमा तीन दिनसम्म मत गणना हुन नसक्दा पठनपाठन समेत प्रभावित भएपछि वीवीएका विद्यार्थी समेत धर्नामा उत्रिएका थिए ।
फागुन १८ गते भएको निर्वाचनमा विद्यार्थी नक्कली परिचयपत्र सहित पक्राउ परेपछि एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले चुनाव वहिष्कार गर्नु पर्ने भन्दै विरोधमा उत्रिएको थियो । अनेरास्ववियुले चुनाव वहिस्कार गर्नुपर्ने अडान राखेपछि क्याम्पसको मतगणना प्रभावित बनेको हो । मेची बहुमुखी क्याम्पसका कुल १ हजार ८५ मतदाता मध्ये ९ सय १४ मत खसेको थियो ।



