Aamsanchar

फागुन २१ गतेबाट मधेशमा यसरी शुरु हुनेछ ‘बुरा दिन’

Author Image
शनिवार, फागुन २१, २०७३

काठमाडौ–नेकपा एमालेले फागुन २१ गतेदेखि १५ दिनसम्मका लागि तराई मधेश अभियान सञ्चालन गरेको छ भने यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि सोही अनुसार आन्दोलनको तयारी थालेको छ । संविधान संशोधन नहुने निश्चित भएपछि त्यसैलाई देखाएर मोर्चाले आन्दोलन चर्काउने रणनीति बनाउने तयारी थालेको छ ।

मधेशका जिल्लाहरुमा फरक फरक दिनमा एमालेले जनसभाको आयोजना गरेको छ भने सोही दिन मधेशी मोर्चाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको छ । मधेशी मोर्चाका एक वरिष्ठ नेताले भने, ‘बुझ्नुस २१ गतेदेखि मधेशमा आन्दोलन शुरु भयो, भन्नुस् त्यो दिनदेखि मधेशको ‘बुरा दिन’ शुरु हुन्छ ।’

मधेशमा एमालेले गर्ने जनसभालाई मधेशी मोर्चाका कार्यकर्ताले विथोल्नेछन् । जनसभा विथोल्न थालेपछि प्रहरीको हस्तक्षेप हुन्छ, झडप हुन्छ त्यसैको आडमा मधेशी मोर्चाले आफ्नो आन्दोलनका कार्यक्रम अगाडि बढाउने योजना एक नेताले सुनाए ।

एमालेले २३ गते एमालेले सप्तरीको राजविराज र कञ्नपुरमा जनसभा गर्ने भएका छन् भने सोही दिन मधेशी मोर्चाले विरोध प्रदर्शन कार्यक्रम राखेको छ । राजविराज जाऔं, कालो झण्डासहित विरोध प्रदर्शन गरौं भनि नाराका साथ त्यो दिन राजविराजमा कार्यक्रमको आयोजना गरेको मधेशी मोर्चा सप्तरीका अध्यक्ष दिनेश यादवले जानकारी दिए ।


सो दिनको कार्यक्रमको लक्ष्य नै एमालेको कार्यक्रम विथोल्ने हो, मोर्चाका एक नेताले भने, ‘त्यही दिनदेखि मोर्चाको आन्दोलन शुरु हुन्छ, अब हामीलाई विश्वास छैन कि सरकारले मोर्चाको माग अनुसार सविधान संशोधन हुन्छ ।’
फागुन २४ गते एमालेले सिरहाको गोलबजारमा जनसभा राखेको छ । त्यहाँका मधेशी मोर्चाले हाल कुनै कार्यक्रम तय नगरेपनि जनसभा हुन नदिने स्थानीय नेता तथा कार्यकर्ताको तयारी भइरहेको संघीय समाजवादी फोरम नेपालका नेता विजय यादवले बताए । उनले भने, ‘एमालेको कार्यक्रम विथोल्न मधेशी मोर्चाले निर्णय गर्नै पर्दैन मधेशी जनता आफै तयार भएर बसेका छन् ।’

रौतहटमा एमालेले २६ गते कार्यक्रम राखेको छ । त्यही दिन मधेशी मोर्चाले पनि कार्यक्रमको आयोजना गरेको छ । त्यसका लागि मधेशी मोर्चाले व्यापक प्रचार प्रसार गरिरहेका छन् भने त्यसको तयारीमा जुटेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं रौतहटका नेता योगेन्द्र राय यादवले भने, ‘एमालेले के कार्यक्रम गरेको छ हामीलाई थाहा छैन, तर मधेशी मोर्चाले फागुन २६ गते कार्यक्रमको आयोजना गरेको छ, सरकारले सविधान संशोधन गर्न नचाहेको विरुद्धमा आन्दोलन गर्न लागेको हो ।’

बाराको जीतपुरमा एमालेले फागुन २७ गते कार्यक्रम आयोजना गरेको छ । त्यो दिन मधेशी मोर्चाले पनि कार्यक्रमको आयोजना गरेको छ । मधेशी मोर्चाका स्थानीय नेता तथा कार्यकर्ताहरु त्यो दिन प्रदर्शन गर्ने भनेर प्रचार प्रसारमा लागेको छ । बारा जितपुरका तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय महासचिव जितेन्द्र सोनलले मधेशी जनता एमालेप्रति यति आक्रोशित छन्, त्यो दिन कुनै अप्रिय घटना नहोस् भनि चाहेको बताए ।

मधेशी मोर्चाभन्दा पनि स्थानीय जनता एमालेको कार्यक्रम हुन नदिने तयारीमा रहेको उनले बताए । यी जिल्ला लगायत २८ गते चितवन, २९ गते भैरहवा, रुपन्देही, चैत १ गते बाँके, २ गते कैलालीको टिकापुर ३ गते धनगढीमा रहेको छ । एमालेले जुन ठाउँमा जनसभा गर्ने तय गरेका छन् ती ठाउँहरुमा विगतमा भिषण आन्दोलन भएका थियो । थारुहरुको गरेको आन्दोलन टिकापुरमा पनि एमालेले कार्यक्रमको आयोजना गरेको छ भने चन्द्रौटा, जितपुर, राजपुर, लम्की, कावासोतीलगायतका ठाउँमा जनसभा गर्ने तय भएको छ जुन मधेशीको बाहुल्य ठाउँ मानिन्छ र त्यहाँ विगतमा पनि आन्दोलनहरु भएका थिए ।

यता मधेशी मोर्चाले एमालेको कार्यक्रम विथोल्ने योजना बनाइरहेको छ भने एमाले पनि त्यसको जवाफ दिने तयारी गरिरहेको छ ।

एमालेका सचिव योगेश भट्टराईले आज सप्तरीको कञ्चनपुरमा जनसभाको प्रचार गर्दै भने, ‘एमालेले गर्ने कार्यक्रमकै दिन मधेशी मोर्चाले पनि कार्यक्रम गर्नु खेदजनक हो ।’

मधेशी मोर्चाले एमालेको कार्यक्रम विथोल्ने नियतले कार्यक्रम गर्न लागेको हो जुन आफूहरुलाई स्वीकार्य नरहेको उनले बताए । उनले भने, मधेशी मोर्चाले जे जस्तो आन्दोलनका कार्यक्रम गरेपनि एमालेको अभियान अगाडी बढ्छ ।’रातोपाटीवाट साभार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)