(हिमा रसाईली)
महिला जागरुकता , समान सहभागीता र महिला अधिकार सम्बन्धी दिवस अन्तराष्ट्रिय महिला दिवस विगतका बर्षहरुमा झै यो वर्ष पनि विभिन्न संघसस्थाले विभित कार्यक्रम गरि विश्वभर मनाइदै छ ।
उत्पीडित महिलाहरुको लैङ्गीक विभेद विरुद्धको आशाको बुलन्द आवाज हो अन्तराष्टिय महिला दिवस । महिला शसक्तीकरणको अभियानलाई विश्व व्यापीरुपमा अझ व्यापक , मजबुत गराउने एउटा अभियान हो । अन्तराष्ट्रिय महिला दिवस मनाईरहदा हाम्रो देशको सन्दर्भलाई विगत देखि बर्तमान सम्म नियाल्दा महिला हिंसा , यौन हिंसा अनि पारीश्रमिकमा गरिने विभेदको अन्त्य गरिनुपर्छ भन्ने विषय नै केन्द्रित छ । समानताका लागी लामो समय देखि महिलाहरुले सर्घषहरु गरेका छन् ।
ठुलाठुला राजनितिक सर्घषहरु भएका छन् । विशेष त २०६२ ,६३ को जनआन्दोलन पछि धेरै परिवर्तन भएका पनि छन् तर ति परिवर्तहरुले महिलाको जिवनमा चाहि कस्तो परिवर्तन ल्याएको छ र उत्पीडित महिलाको कति पहुँच पुगेको छ त्यो मुल्यांकन गर्न पनि जरुरी छ । परिवर्तन भएका छन भनिरहदा पनि महिला आज पनि अन्यायमा छन् ,भयाबह अवस्थामा त्रासमा गुज्रेका छन् । समानताका नारा जतिसुकै बुलन्द आवजमा चिच्याए पनि पीडामा भएकाहरुको आवाज उत्ति नै दविएका छन् , निसासिएका छन् । विभेद अनि हिसांको सांगलोले अझै पनि कसिएका छन् ।
महिला अधिकारका लागी निति निर्माण नभएका पनि होइनन् तर यी निति निर्माणले महिला हिंसा रोक्न सकेको छैन । धेरै अवस्थामा राज्यको कानुनी प्रक्रिया र कार्यन्वयन कमजोर र झन्झटिलो रहेकोले महिला हिंसा गर्नेहरुले प्रश्रय पाएको पनि देखिन्छ । महिला हिंसा हुनुमा हाम्रो सामाजिक संस्कार ,धार्मिक र सास्कृतिक तत्व पनि कारक दखिन्छ ।
हाम्रो समाज जतिसुकै परिवर्तन भएपनि शिक्षित भएपनि र सभ्य भनिए पनि महिला प्रतिको सामाजिक दृष्टिकोण भने कुुसस्कार र पुरानो निच सोचको जन्जिरबाट बाहिर निस्कन सकेको छैन । र यो जन्जिरलाई चिर्नको लागी रुढीबादी सोच , पुरातनबादी सोच , महिलालाई साधनको रुपमा हेर्ने पुरुषत्व हावी मानसिकताको अन्त्य हुनु जरुरी छ ।
एकाएक अपबाद बाहेक कहि कतै पुरुष महिला बाट अन्यायमा परेका छैनन् तर पुरुषबाट प्रत्येक दिन ,प्रत्येक पल महिला पिडित भएका छन् । आफ्नै बाबु , दाजुभाई ,प्रेमि ,श्रिमान ,छिमेकी, चिनजान अनि अन्जान बाट बलात्कृत भएका छन् । यौनांग छेद सगै मन मस्तष्कि , सपना अनि जिउने चाहना छेदबिछेद पारिएको छ । दाइजोको नाममा जिउदै जलाइएका छन् । बोक्सिको नाममा मलमुत्र खुवाइएको छ । महिला भएकै कारणले भ्रुण हत्या गरिएको छ ।
मानवअधिकारको हनन गरिएको छ बाच्न पाउने अधिकार लुटिएको छ । अझै सम्म महिलालाई मनोरञ्जनको रुपमा लिनेको कमि छैन । घरबाट बाहिर निस्किदा पनि कति खेर हिंसाको शिकार हुने हो थाहा हुन्न । महिला हिंसाका पनि धेरै प्रकृतिहरुमा गरिएको देखिन्छ । सडकमा या गल्लीमा या विच बजारमा एक महिलालाई देख्दा सुशेलेर होस् या सवारी साधनमा यात्रा गर्दा अनावश्यक शरिर छुने यी सवै हिंसामा नै पर्छ ।
तपाइको निमेश भर नलाग्ने सुसेली अनि जिब्रो पड्काइ अनि आखाँ झिम्काइले एक महिलाको भावनात्मक अनि मनोबैज्ञानिक रुपमा धेरै विक्षप्त हुन्छिन् । हिंसा गर्नु गलत हो दण्डनीय छ । हिंसा अनि विभेद गरेर आफुलाई किन कंलक बनाउनु हुन्छ रु जस्तो प्रकृतिको भएपनि हिंसा हिंसा नै हो त्यसैले यसको विरुद्ध बोल्ने साहस महिलाले पनि गर्नु जरुरी छ । हुनत महिला माथी हुने अन्याय र अत्याचार गर्नेमा महिला पनि भागीदार छन् । बहुविवाह अनि घर भित्र हुने अन्य धेरै हिंसामा महिलाको हिस्सा पनि उस्तै छ त्यसैले यस्तो कुरामा ध्यान दिनुु पनि आवश्यक छ ।
यो बर्ष १०७ औ अन्तराष्ट्रिय महिला दिवस मनाइरहदा मानव अस्त्विको लागी जति पुरुष अभिन्न अंग हो त्यत्तिै महिला पनि हो भन्ने बुझिएन र महिला हिंसा रोक्न सकिएन भने मानव अस्तित्व नै संकटमा पर्न नसक्ला भन्न सकिन्न ।
दुख बेदना अनि हिंसाको अन्त्य भएर खुसी बाड्ने अवसर बन्न सक्ने बातावरण बनोस हाम्रो समाजमा महिला दिवस । हरेक क्षेत्रमा महिलाको समान सहभागीता गराउन आवश्यक छ र त्यो क्षमता महिलाले पनि बनाउनु पर्छ । पढे लेखेका ,बुझेका महिलाले पनि पछाडि परेका निमुखा महिलालाई हातेमालो गरी अघि बढ्न प्ररित गरौ ।महिला पनि हरेक क्षेत्रमा बसेर निर्णायक भुमिका खेल्न सक्छन् भन्ने यार्थाथलाई सुइकारन सक्नु पर्छ यो समाजले अव ।
अन्त्यमा अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रम बजार चोक अनि होटलमा मात्र सिमित नरहोस् अनि खादा र मालामा सिमित नरहोस् । यो समाज ,यो देश अनि विश्वका हरेक क्षेत्रका अन्यायमा परेका महिलाको न्यायको लागी कोशेढुंगा सावित होस् ।
अन्तराष्ट्रिय महिला दिवसमा गरिएका कार्यक्रमले केहि गन हौसलन मिलोस । समानताका लागी लड्न सक्ने क्षमता बृद्धि गरोस । आत्मविश्वास बढोस् । नेपाल सहित विश्वका तमाम महिला दिदि बहिनीलाई अन्तराष्ट्रिय महिला दिवसको शुभकामना …