(नरेन्द्र ढकाल)
विर्तामोड,
झापामा महिला हिंसाका घटनाहरुमा कमी आउन नसकेको महिलाका क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाहरुले जनाएका छन् ।
समुन्नत नेपाल झापाकी कार्यक्रम संयोजक कोपिला बस्नेतका अनुसार महिलामा चेतनाको स्तरमा बृद्धि भएपनि हिंसामा कमी आउन सकेको छैन् । महिलाहरुले हिंसालाई बाहिर ल्याउने काम गरेरकाले पनि घटनाहरुमा बृद्धि भएको जस्तो देखिएको उनको भनाई थियो । बस्नेतका अनुसार अझै पनि धेरै महिलाहरु घरेलु हिंसाको शिकार बन्नु परेको छ । झापा शिक्षित जिल्लाको रुपमा रहेपनि हिंसामा कमी आउन नसक्नु दुखद् पक्ष भएको उनको भनाई छ ।
महिलाहरु आर्थिक रुपमा जबसम्म सक्षम हुन सक्दैनन् तब सम्म कुनै न कुनै रुपमा हिंसामा पर्ने उनको धारणा रहेको छ । महिला हिंसामा पर्नुको कारण बारे बताउदैं उनले भनिन्– गरिबी, अशिक्षा, हातमा पिस नहुनु, तथा राज्यद्धारा महिला हिंसा गर्नेलाई कडा कारबार्ही नहुनु नै हिंसा बढ्नुको प्रमुख कारण हो । उनले झापामा अझै पनि महिला हिंसाका र्ददनाक घटनाहरु आउने गरेको बताइन् ।

बस्नेतले महिला हिसांमा परेका महिलाहरुलाई सम्मान गर्नु पर्ने र परिवारले प्रेम गर्नु पर्ने धारणा ब्यक्त गरिन् । यता शक्ति समुह झापाकी मिरा भट्टराईले झापाका धेरै स्थानका महिलाहरु विभिन्न हिंसामा पर्ने गरेको बताइन् । उनले मुस्लिम समुदायका धेरै महिलाहरुलाई अझै पनि घरबाट बाहिर जान नदिने गरेको पाइएको बताइन् । उनले मानिसमा चेतनाको कमीले गर्दा महिलाहरु हिंसामा पर्ने गरेको धारणा ब्यक्त गरिन् । भट्टराईले किशोरीहरु विभिन्न सामाजिक सञ्जालहरु मार्फत तथा विभिन्न स्थानमा हिंसामा पर्ने गरेको बताइन् ।
उनले झापा शिक्षित र विशिल जिल्ला भनिए पनि महिला हिसांको क्षेत्रमा भने सुधार हुन नसकेको जिल्लामा पर्ने धारणा ब्यक्त गरिन् । उनले अब अन्याय सहन नहुने भन्दै हिंसा गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउन्ु पर्ने विचार ब्यक्त गरिन् ।
उता माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेका अनुसार दलालहरुले हिंसामा परेका महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर बेचबिखन गर्ने गरेको पाइएको बताएका छन् । उनले पूर्वी नाकाबाट महिला बेचिने क्रम केही कमी भएको भन्दै अझै घटनाउन सरकारले महिलालाई स्वदेशमा नै रोजगारीको ब्यवस्था गर्नु पर्ने धारणा ब्यक्त गरे ।

उनका अनुसार सन् २०१६ मा ३० जना बेचिएका महिलाहरुलाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको छ भने ३४४ जनालाई पूर्वी नाकाबाट र्फकाइएको छ । महिलाहरुलाई दललाले विभिन्न सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट प्रलोभनमा पर्ने गरेको पाइएको घिमिरेले बताए ।
उनका अनुसार दलालले महिलालाई नै प्रयोग गरेर महिलालाई बेचबिखनमा पर्ने भएकाले यो विषयमा महिलाहरु नै सचेत बन्न सुझाव दिएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक मार्फत पनि दलालले भारतका विभिन्न स्थानमा भेट्न बोलाउने र विभिन्न बहाना बनाएर बेच्ने गरेका घटनाहरु बढ्दै गएकाले यो विषयमा सचेत बन्नु पर्ने घिमिरेको भनाई छ ।

यसैबीच सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट कलारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वीतीय अन्तर्रा्ष्ट्रिय सम्मेलनमा जर्मनी मार्क्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।
लामो समयदेखि महिलाहरुले संघर्ष गरे भने नेपालमा पनि ठूला ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भए । तर, आजसम्म नेपालमा महिला उत्पीडिन भयावह अवस्थामै रहेको महिलाका क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुको भनाई छ ।
महिला र पुरुष बराबरी भनिए पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेको महिलाका क्षेत्रमा क्रियाशिल ब्यक्तिहरुको भनाई छ ।

