काठमाडौं,

आठौं कोरियन भाषा परीक्षाको लागि चैत ९ गते देखि १८ गते सम्म आवेदन दिन सकिने भएको छ । २०७४ सालको जेठ २७ र २८ गते हुने भाषा परीक्षाको सबै प्रक्रिया र मिति बारे इपिएस शाखाले जनाकारी गराएको हो ।

इपिएस कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ । परिक्षा स्थल र समय भने २०७४ सालको जेठ १९ गते मात्रै तोकिने शाखाले जनाको छ । परिक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अंक सहित हेर्न पाउने छन् ।
आगामी वर्ष कोरियाले १० हजार २ सय नेपाली कामदार लैजाने जनाएको छ । उत्पादनमुलक क्षेत्रमा ४ हजार र कृषि क्षेत्रमा ६ हजार दुई सय नेपाली जान पाउने छन् ।

एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाइनेछ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फर्म भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यहि क्षेत्रमा मात्र रोजगार आवेदन फाराम भर्न पाइनेछ । उत्पादनमुलक क्षेत्रमा फर्म भर्नेले तीन उपक्षेत्र र कृषि तर्फ दुई उपक्षेत्र छनौट गर्नु पर्नेछ ।
भाषा परीक्षामा उत्तिर्ण इच्छुक परीक्षार्थीहरुले सीप परीक्षामा समेत सहभागी हुन सक्नेछन् । यसको बिस्तृत बिवरण नतिजा प्रकाशन हुने बेलामा नै प्रकाशित हुनेछ । सीप परीक्षामा उत्कृष्ट अंक ल्याउने परीक्षार्थीलाई प्राथमिकताका साथ रोजगारी दिन रोजगारदाता कम्पनीलाई इपिएस शाखाले सिफारिस गर्नेछ ।
अनलाइन फारम यसरी भर्ने
यसवर्ष देखि अनलाइनबाटै फारम भर्नु पर्ने छ । यो प्रक्रिया नयाँ भएकाले धेरैलाई थाहा नहुन सक्छ । परिक्षा आवेदन फारम https://eoers.epsnepal.gov.np मा गई अनलाइन भर्नु पर्नेछ । आवेदन दर्ता गर्ने तरिका https://eoers.epsnepal.gov.np को पहिलो पेजमा नै हेर्न सकिने छ ।
परिक्षा शुल्क २४ अमेरिकी डलर ग्लोवल आइएमई बैंकको तोकिएका शाखाबाट जम्मा गर्नुपर्ने छ । परिक्षार्थीले फारम भरिसकेपछि इपिएस शाखाले इमेलमै प्रवेश पत्र पठाउने छ । नतिजा प्रकाशन २०७४ को असार १६ गते हुने शाखाले जनाएको छ । उजिर कार्की/उज्यालो

