के तपाईंले कहिले भगवान देख्नुभएको छ ? २३ वर्षीया तंजिला खातून डान्स ड्रामाको पूर्वाभ्यासमा जानुभन्दा पहिले यस्तो प्रतिप्रश्न गर्छिन् । प्रश्न गरेपछि उत्तर आफैं दिन्छिन्, ‘यो धर्तीमा लाखौं छोरीजस्तै मेरी आमा पनि मेरो लागि भगवान् हुन् । तर मेरो आमाको सम्मान म आफूमात्र गर्छु । संसारका अन्य मानिसहरुबाट उनले गाली खानुपर्छ किनभने उनी यौनकर्मी हुन् ।’
तंजिला डान्स ड्रामाको पूर्वाभ्यास गर्दा बिचमै नखसोस् भन्नका लागि उनले आफ्नो पाउजुको पुनः परिक्षण गर्छिन् । पश्चिम बंगालको २४ परगान जिल्लामा बस्ने तंजिलाले आफ्नो पढाई बिचमा नै छोड्नु पर्यो किनभने उनकी आमा यौनकर्मी हुन् भन्ने कुरा स्कूलले थाहा पायो ।
प्रधानाध्यापकले तंजिलालाई साथ दिनुको साटो उनलाई स्कूलबाट निस्कन आदेश दिए । प्रधानाध्यापकले उनी बदनाम ठाउँसँग नाता राख्ने भएकाले उनका कारण स्कूलका अन्य छात्राहरुको भविष्यमा असर पर्ने र पूरा स्कूल नै बदनाम हुने बताउँदै यसो गर्न उनलाई आदेश दिए ।
पढाईमा अब्बल भएपनि तंजिलाको स्कूलमा त्यो अन्तिम दिन साबित भयो । त्यतिबेला ६ कक्षामा पढ्ने तंजिलाले अब उक्त देशको कहिले पनि मुख नहेर्ने निर्णय गरिन् । त्यो दिनदेखि नै तंजिलाले आफ्नी आमाको व्यवसायमा गर्व गर्न सुरु गरिन् ।
तंजिला भन्छिन्, ‘मैले आफ्नो बुवालाई देखिनँ र मलाई मेरो बुवाको नाम पनि आवश्यक छैन । मेरी आमाको नाम रादिया हो र म उनीमाथी गर्व गर्ने छोरी हुँ ।’
रादियाको उमेर ५० वसन्त नजिक छ । रादियाले दुई दशकभन्दा बढि यौनकर्मीको रुपमा काम गरिन् । उनी आफ्नो चार सन्तानको गुजारा गर्नका लागि सानो पसल पनि चलाउँछिन् ।
तंजिलाजस्तै रादिया पनि आफ्नी छोरीका लागि त्यस्तै भावना राख्छिन् । रादिया भन्छिन्, ‘‘तंजिला’ को अरबी अर्थ ‘तीर जस्तो नजरको झलक’ । तंजिला पहिले देखि नै एक निडर र अत्मविश्वासी थिइन् । तर पक्का मनसाय र उनको प्रतिभामार्फत उनी अझै आत्मविश्वासी भएकी छिन् । मलाई उनीमाथि गर्व छ ।’
तंजिला भन्छिन्, ‘मेरी आमा यो पेशामा दुई दशकभन्दा पनि धेरै सयमदेखि छिन् । आमाको यहि पेशाका कारण हामीलाई रातभरी घरबाहिर बस्न भनिन्थ्यो । हामी जीविकोपार्जनका लागि आफ्नो हात, दिमाग र अन्य प्रतिभाको प्रयोग गर्छौं, त्यस्तै उनी (आमा) पनि गुर्नहुन्छ । म उनको पेशामा अलिकति पनि लज्जित छैन । म उनको सम्मान गर्छु र उनको कामलाई पनि ।’
तंजिला यतिबेला आमरा पदातिककी सेन्ट्रेल कमिटीकी अध्यक्ष हुन् । साथै उनी कोमल गन्धारमा सिनियर डान्सर हुन् । आमरा पदातिक र कोमल गन्धार दुबै दरबार महिला समन्वयको एक महत्वपूर्ण हिस्सा हो । दरबार महिला समन्वय समिति सेक्स वर्करको कल्याणका लागि काम गर्दछ ।