(शान्तिराम बस्नेत)
शिवसताक्षी,

उद्योग वाणिज्य संघ, शिवसताक्षीको अध्यक्षमा भोलानाथ मैनाली विजयी भएका छन् ।
अध्यक्ष पदमा तीनजना उम्मेद्वार रहेकामा उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र व्यवसायी प्यानलका यामनाथ काफ्लेलाई २२ मतले पछाडी पार्दै विजय हासिल गरेका हुन् । मैनालीले १ सय ९५ मत पाएका थिए भने काफ्लेले १ सय ७३ मत तथा अर्का अध्यक्ष पदमा उम्मेद्वार पदमलाल अधिकारीले १ सय ३४ मत प्राप्त गरेका थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा दूधेका कृष्ण पोख्रेल विजयी भएका छन् । उनले दूधेकै व्यवसायी अग्नी दुलाललाई २४ मतले पछि पार्दै विजयी भएका हुन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार बनेका नरेश कुमार मिश्रले १ सय २९ मतमा चित्त बुझाउनु परेको थियो ।
त्यसैगरी वाणिज्य उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार जीवन गिरीले १ सय ८१ मत पाउँदैं विजयी भएका छन् । उनले नारायण अधिकारी र राजकुमार संग्रौलालाई पछि पारेका हुन् । नारायणले १ सय १७ तथा राजकुमारले १ सय ४८ मत प्राप्त गरेका थिए ।

यता उद्योग उपाध्यक्षमा रामनरेश शर्माले उनका निकटतम प्रतिद्वन्दी कमल कन्दङवालाई ५६ मतले पराजित गरे । शर्माले २ सय ६४ तथा कन्दङवाले २ सय ८ मत ल्याएका थिए । यता, महासचिव पदमा टंकप्रसाद सिटौलाले २ सय ६५ मत पाउँदैं विजयी भएका हुन् । उनले तेजबहादुर लाम्गादेलाई ५५ मतले पछि पारेका थिए ।
यता वाणिज्य सचिवमा हरेराम शर्मा विजयी भए । उनले उनका निकटतम प्रतिद्वन्दी मेनुका चम्लागाँईं (बास्कोटा) लाई पराजित गरेका हुन् । शर्माले २ सय ५८ तथा बास्कोटाले २ सय २० मत प्राप्त गरेकी थिइन् भने उद्योग सचिवमा सर्वाधिक ३ सय ७ मत प्राप्त गर्दै टिकाराम सिटौला विजयी भए । उनले वेदकुमार थपलियालाई १ सय ४९ मतमा नै रोकेका थिए । त्यस्तै कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वार कृष्णप्रसाद खरेलले २ सय ५७ मत प्राप्त गर्दै अरुण कुमार मित्तललाई पराजित गरेका थिए । मित्तलले २ सय १२ मतमा चित्त बुझाउनु परेको थियो ।
यता ६ जना खुल्ला सदस्यहरुमा कृष्णप्रसाद रिजाल २ सय ७५ मत, विष्णु प्रसाद प्रसाईं २ सय ४४, राकेश ताजपुरिया १ सय ९६, सन्तोष कुमार शाह १ सय ९४, जित बहादुर थेबे १ सय ८८ तथा विनोद शाह १ सय ८६ मत पाउँदैं विजयी भए भने महिलातर्फ विष्णुकुमारी लुइटेंल (रोजी) २ सय २३, मेनुकादेवी बास्तोला १ सय ८२ तथा विनिता राई १ सय ८० मत पाउँदैं विजयी भएको निर्वाचन समितिका सदस्य मोहन मैनालीले बताए ।
निर्वाचनमा नेकपा एमालेसम्बद्ध व्यापारी समूह, नेपाली कांग्रेस सम्बद्ध लोकतान्त्रिक व्यापारी समूह तथा स्वतन्त्र समूह रहेका थिए । विभिन्न १७ पदका लागि सम्पन्न निर्वाचनमा नेकपा एमाले व्यापारी समूहले वरिष्ठ उपाध्यक्ष सहित ९ पद, नेपाली कांग्रेस व्यापारी समूहले अध्यक्ष सहित ५ पद तथा स्वतन्त्र प्यानलबाट कोषाध्यक्ष तथा वाणिज्य उपाध्यक्ष सहित ३ पदमा जीत हासिल गरेको हो ।
फागुन २५ गते बुधबार शिवगञ्जस्थित आफ्नै कार्यालयमा सम्पन्न निर्वाचनमा ५ सय २४ मतमध्ये ५ सय १४ मत खसेको थियो ।

