Aamsanchar

संघीय लिम्बुवान जिल्ला अधिवेनश फागुन २८ मा, २७ गतेको नेपाल बन्द गर्न लिम्बुवान सक्रिय हुने

Author Image
बिहिवार, फागुन २६, २०७३

फोटो :विनोद पाण्डे(कमल)/आमसंचार

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको ५औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २८, २९ र ३० गते बिर्तामोडमा हुन लागेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनकाबीच पार्टीका अध्यक्ष धनबहादुर पन्धाक सुब्बाले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष कुमार लिङ्देन मिराकले गर्ने बताइएको छ । विभिन्न जिल्ला, क्षेत्र, नगर र गाविसबाट १ सय वटाभन्दा बढी बसहरुमा १० हजार कार्यकर्ता उपस्थिति गराउँदै १५ भन्दा बढी जातजातिको सांस्कृतिक झाँकीसहित अधिवेशन सम्पन्न गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चर्चित गायक दीपक लिम्बू, सुजन तिगेला लगायतका राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने बताइएको छ । अधिवेशन सम्पन्न गर्न प्रचारप्रसारका क्रममा काँकरभिट्टा, बिर्तामोड र दमकमा स्वागत गेट तयार गरिएको र ५ हजार पम्पप्लेट, २० हजार अपिल जनतासम्म पु¥याउँदै भित्ते लेखन समेत सम्पन्न गरिसकेको पत्रकार सम्मेलन अध्यक्ष पन्धाकले बताए । ६ सय प्रतिनिधि पर्यवेक्षककाबीच बिर्तामोडस्थित अतिथि सदनमा पार्टीको बन्दसत्र हुने बताइएको छ । १५ लाखभन्दा बढी अधिवेशन सम्पन्न गर्न खर्च लाग्ने बताइएको छ ।
यसैबीच अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने पत्रकार सम्मेलन जानकारी दिइयो । अध्यक्षका लागि धनबहादुर पन्धाक, नगेन राई, सन्तकुमार फेउदेन, ज्वाला लिम्बू इङ्बुम, गौरीमान राईको नाम चर्चामा छ । ६१ सदस्यीय कार्य समिति बनाइने बताइएको छ । अध्यक्षका उम्मेदवारहरुमा पन्धाक जिल्ला अध्यक्ष हुन् भने राई बरिष्ठ उपाध्यक्ष, फेउदेन उपाध्यक्ष र लिम्बू तथा राई हाल जिल्ला सचिव पदमा रहेर कार्यरत छन् । मधेस घटनाको विरुद्ध गठ बन्धनले आवहान गरेको २७ गतेको नेपाल बन्धमा लिम्बुवानको सक्रिय भूमिका रहने पनि अध्यक्ष पन्धाकले जनाएका छन ।

Views: 181

प्रतिक्रिया (०)