Aamsanchar

अाज फागु पूर्णिमा, पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदै

Author Image
आइतवार, फागुन २९, २०७३

काठमाडौ‌ं : 

फाल्गुण शुक्ल पूर्णिमा अर्थात् फागुपर्व, देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रङ्गीन बनाएर मनाउने चलन छ।

फागु पर्व होली नामले पनि चिनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ। होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ। यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि होली सुरू भएको मानिने यो पर्व पूर्णिमाको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ । होली पर्वका अवसरमा विभिन्न संघसंगठनहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ । विभिन्न समुदायको बसोबास रहेको तराईमा दुई÷तीन दिनसम्म होली मनाउने चलन छ ।

यस्तै, सुदूरपश्चिमका पहाडी भेगमा पनि दुई दिनसम्म होली मनाउने प्रचलन छ । सुदूरपश्चिमका अछाम, डोटीगायतका ठाउँमा पूर्णिमाको राति रंगीचंगी ध्वजापताकाले रंग्याएको चिरमा आगो लगाउने र भोलीपल्ट होली विसर्जन गर्ने परम्परा छ ।

त्यहाँ पूर्णिमाको रातभर र भोलिपल्ट दिनभर श्री राम, सीता, हनुमान र रावण तथा होलीकाबारे बनाईका देउडा गाएर ताल मिलाउँदै होली खेल्ने गरिन्छ । यसैबीच  रंगहरुको पर्व होलीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् । उनले विभिन्न रंगहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यो पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको बताएकी छन् ।

यो पर्वले सबै नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देस फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै रंगहरुको पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले यो पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुभकामना सन्देश जारी गर्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरेका छन् ।

Views: 78

प्रतिक्रिया (०)