बिर्तामोड ।

नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रका लागि सहारा नेपाल साकोसले १७ लाख मूल्य पर्ने कम्पोनेन्ट मेसिन हस्तान्तरण गरेको छ ।
रेडक्रस झापाको ४३औं जिल्ला अधिवेशन उद्घाटन समारोहको अवसरमा शनिबार सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सञ्जेल र प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले रेडक्रस झापाका सभापति लोकराज ढकाललाई उक्त मेसिन हस्तान्तरण गरे ।
रगतमा रहेका तत्व वर्गीकरण गर्ने उक्त कम्पोनेन्ट मेसिनको समारोहका प्रमुख अतिथि झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद सुधिरकुमार शिवाकोटीले शनिबार नै उद्घाटन गरे । रेडक्रस अधिवेशनको समेत सांसद शिवाकोटीले उद्घाटन गरेका थिए । १६ लाख ८९ हजार ३ सय ५० रुपैयाँ मूल्यको उक्त मेसिन सहाराले रेडक्रसको बिर्तामोडस्थित रक्तसञ्चार सेवालाई प्रदान गरेको हो । सोही प्रकारको मेसिन स्वास्थ्य मन्त्रालयले समेत प्रदान गर्न लागेको उक्त अवसरमा जानकारी दिइयो ।
कम्पोनेन्ट मेसिनबाट रक्तदाताले उपलब्ध गराएको १ युनिट रगतबाट बिरामीलाई रगतको जुन तत्वको आवश्यकता भएको हो सोही तत्व उपलब्ध गराउन सकिने बताइएको छ । अब १ युनिट रगतको वर्गीकरणबाट बन्ने विभिन्न चार प्रकारका तत्वहरुबाट चार जना बिरामीलाई एकैसाथ सेवा पु¥याउन सकिने सभापति ढकालले बताए ।
कम्पोनेन्ट मेसिनले रगतमा रहेको तत्वहरु डब्लुबीसी, आरबीसी, प्लेटलेट र प्लाज्मालाई वर्गीकरण गर्नेछ । जसलाई जुन तत्व आवश्यक भएको हो त्यही मात्र उपलब्ध गराइने रेडक्रस बिर्तामोडका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।
रेडक्रस झापाले उक्त अवसरमा रेडक्रसको दमक उपशाखालाई उत्कृष्ट प्रथम र बुधबारेलाई द्वितीय घोषणा गरी क्रमशः नगद १५ हजार १० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ ।
वर्षभरिमा उत्कृष्ट रक्तदान गर्ने तीन संस्थालाई समेत रेडक्रसले सम्मान गरेको छ । यसवर्ष उत्कृष्ट रक्तदान गर्ने संस्थाको रुपमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)लाई सम्मान गरियो । १ सय ४८ जनाले एनएमसी मार्फत रक्तदान गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले सम्मान ग्रहण गरेका थिए । त्यस्तै नेपाली कांग्रेसले मेचीनगरमा आयोजना गरेको स्वास्थ्य महोत्सव समितिलाई दोस्रो उत्कृष्ट रक्तदाता र महेन्द्र बहुमुखी क्याम्पस इलामको युवा रेडक्रस समितिलाई तेस्रो उत्कृष्ट रक्तदाता संस्थाको सम्मान प्रदान गरियो । ती संस्थाबाट क्रमशः १०६ र ९६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सांसद शिवाकोटीले प्राकृतिक विपद र द्वन्द्वका समयमा रेडक्रसले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले मानवीय सेवामा रेडक्रसले पु¥याएको योगदान अनुकरणीय रहेको बताउँदै रेडक्रस अभियानले मानिसलाई सेवामार्गमा लाग्न प्रेरित गरेको जनाए ।
समारोहका अध्यक्ष रेडक्रस झापाका सभापति लोकराज ढकालले नेपालमा रेडक्रस कानून नहुँदा धेरै समस्या भएको बताउँदै अरु देशमा झैं रेडक्रस कानून बनाएर लागू गर्नुपर्नेमा जोड दिए । रेडक्रस झापाका उपसभापति मित्रदेव काफ्लेले स्वागत गरेको कार्यक्रममा मन्त्री कृष्णकुमार मैनालीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष बद्रीबहादुर कार्कीले ८७ लाख रुपैयाँको बितेको वर्षको आय–व्यय विवरण प्रस्तुत गरे । उनले रेडक्रसका विभिन्न कोषमा ८६ लाख ५५ हजार ५ सय ६८ रुपैयाँ रहेको जनाउँदै आर्थिक वर्ष २०७३÷०७४ का लागि १ करोड २४ लाख ६४ हजार रुपैयाँको बजेट समेत प्रस्तुत गरे ।
शनिबार नै सम्पन्न बन्दसत्रले मन्त्री मैनाली र कोषाध्यक्ष कार्कीको प्रतिवेदन पारित गरेको छ ।
मन्त्री मैनालीका अनुसार रेडक्रस झापाले लैंगिक तथा सामाजिक समावेशीकरण, विपद् तथा संकट व्यवस्थापनका लागि राहत तथा उद्धार सेवा सञ्चालन गर्दै आएको छ । त्यस्तै एकीकृत विपद उत्थानशील कार्यक्रम, कनकाई नदी तटीय, बाढी उत्थानशील सवलीकरण कार्यक्रम, टे«सिङ सेवा, स्वास्थ्य सेवा, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवा, रक्तसञ्चार सेवा, स्वास्थ्य शिविर, शववाहन सेवा, सर्पदंश उपचार सेवा, दादुरा रुबेला खोप अभियान, सञ्चार तथा मानवीय मूल्य प्रबद्र्धन, जुनियर तथा युवा रेडक्रस विकास, प्राथमिक उपचार र सडक सुरक्षा सप्ताह रेडक्रस झापाले सञ्चालन गर्दै आएका कार्यक्रम हुन् ।
२०२५ साल चैत १६ गते स्थापित रेडक्रस झापा शाखा अन्तर्गत हाल १३ वटा समिति, उपसमिति २६ उपशाखा, ६५ यसस्कर सदस्य, १२५ विशिष्ट सदस्य, ८१२० आजीवन सदस्य, १४ संस्थागत सदस्य, १४ युवा रेडक्रस सर्कल, ७१ जुनियर रेडक्रस सर्कल र परियोजनासहित ३९ जना कर्मचारी रहेका छन् ।

