Aamsanchar

झापासहित तराईका जिल्लामा आज होली पर्व धुमधामसँग मनाइँदै

Author Image
सोमवार, फागुन ३०, २०७३

 झापा ।

फागुन शुक्ल पूर्णिमाका दिन आज रङहरूको चाड फागुपूर्णिमा अर्थात होली पर्व आज झापा सहित तराईका जिल्लामा धुमधामका साथ मनाईंदैछ । वसन्त ऋतुको आगमनको उल्लाससँगै फागुन महिनामा मनाइने यो चाडमा एक आपसमा रंग र अबीर लगाउने चलन छ ।

होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलीका दहन गरिन्छ । राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने प्रचलन प्राचीन कालदेखि चलि आएको हो । स–साना बच्चादेखि वृद्ध वृद्धासम्म सबैले होलीको मजा लिने गर्दछन् । होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्ने दिनका रुपमा मनाइन्छ ।

संस्कृतिविद्हरुका अनुसार सत्ययुगमा भगवान विष्णुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।

यसैबिच रंगहरुको पर्व होलीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

उनले विभिन्न रंगहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यो पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्याउँदै आएको बताएकी छन् । यो पर्वले सबै नेपालीमा खुसीका रंगहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देस फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र सम्बद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत राष्ट्रपतिले गरेकी छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै रंगहरुको पर्वको रुपमा मनाइने नेपालीहरुको लोकप्रिय साझा चाडले आमनेपालीमा भ्रातृत्व र सद्भावको विकास गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले यो पर्वले नेपालीलाई एकताबद्ध गर्दै असन्तुष्टि र असमझदारीलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि शुभकामना सन्देश जारी गर्दै अनेकतामा एकता र राष्ट्रिय स्वाभिमानका हाम्रा साझा पहिचान र धरोहरको संरक्षण एवम् सम्वद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । प्रधानमन्त्रीले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा रहेको र हाम्रा चाडपर्वले समुदायबीच सद्भाव बढाउने तथा समुदायलाई एकताबद्ध गर्न सघाउनेसमेत सन्देशमा उल्लेख गरेका छन् ।

Views: 106

प्रतिक्रिया (०)