Aamsanchar

होली होस् त यस्तो, लायन्सको प्रेरक कार्य

Author Image
सोमवार, फागुन ३०, २०७३

सुरुङ्गा ।

श्रवण क्षमता नभएका बहिरा अर्थात् सुन्न नसक्नेहरुलाई आम मानिसले खासै वास्ता गरेका हुँदैनन्, उनीहरु पनि कुनै न कुनै दृष्टिले हिनताबोध गरिरहेका हुन्छन् । ‘हामीलाई अरु सामान्य मानिसझैं सम्मान गरिँदैन’– उनीहरुको बुझाइ यस्तै हुन्छ । चाड पर्व मनाउनु, रमाइलो गर्नु, उनीहरुका लागि धेरै परको विषय हो । रमाइलो गर्ने मौकाबाट बञ्चित हुँदै आएका सुनाइ र बोलाइ सम्बन्धी अपाङ्गता भएका १३ जना विद्यार्थी सुरुङ्गामा एक कार्यक्रममा औधी खुशी देखिए ।
खुशीको अवसर जुराएको थियो– लायन्स क्लब अफ कनकाई सुरुङ्गाले । कारण थियो– होली मिलन, विद्यार्थी पोशाक, खेलकुद सामग्री वितरण र मासु चिउरा भोजन । कारण मावि सुरुङ्गामा विशेष कक्षातर्फ कक्षा ४मा पढ्ने अस्मिता राईलाई विद्यालय पोशाक र एक जोर जुत्ता पाउँदा खुशीको सीमा थिएन । ६ कक्षामा पढ्ने आक्रोश मेचे उस्तै हर्षित देखिन्थे । नसुन्ने र नबोल्ने भए पनि सांकेतिक रुपमा उनीहरु खुशी व्यक्त गरिरहेका थिए ।
होली मनाउन हजारौं खर्च गर्ने प्रचलन छ । तर, होलीलाई रचनात्मक ढंगले मनाउन सकिन्छ भन्ने सन्देश मानव सेवामा समर्पित भएर लागेको लायन्स क्लब अफ कनकाई सुरुङ्गाले प्रवाह गरेको कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले बताए । समारोहमा सय जनाको हाराहारीमा विभिन्न क्षेत्रबाट निम्तालु उपस्थित थिए । लायन्सको पद्धति अनुसार शुरु भएको कार्यक्रममा सबैभन्दा पहिले १३ जना बहिरा विद्यार्थीलाई अगाडि लामबद्ध गरी आयोजक र अतिथिहरुले अविर लगाइदिएर होलीको खुशी साटे । सँगै उपस्थित अन्यले पनि आपसमा रंगको माध्यमबाट होलीको शुभकामना आदानप्रदान गरे । लगत्तै बहिरा विद्यार्थीलाई विद्यालय पोशाक, एक जोर जुत्ता, चक्लेट, फुटबल, व्याडमिन्टन वितरण गरियो ।
औपचारिक समारोह सकिएपछि उनीहरुलाई मासु चिउरा भोजन गराइयो । उनीहरुलाई मात्र खुवाइएन खुशी साट्दै आयोजक र निम्तालु सबैले सँगै बसेर खाए । ती विद्यार्थीको लागि लायन्स क्लब अफ कनकाई सुरुङ्गा अभिभावकीय भूमिकामा प्रस्तुत भइरहेको थियो । समारोहमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाका चार्टर प्रेसिडेन्ट लीलाप्रसाद चिमरियाले घोषणा नै गरे– ‘कनकाई माविमा आवासीय रुपमा बस्ने यी बहिरा विद्यार्थीको पहिलो अभिभावक विद्यालय भए पनि दोस्रो अभिभावक भई सेवा गर्ने मौका लायन्सले लिन चाहन्छ ।’ अध्यक्ष चिमरियाले ती विद्यार्थी सो विद्यालयमा कक्षा १०सम्म पढुञ्जेल बर्षमा एकपटक विद्यालय पोशाक, दुई जोर जुत्ता र जाडोमा आवश्यकता अनुसार कपडा उपलब्ध गराउने घोषणा गरे । उनले ती विद्यार्थीको ‘मेजर अप्रेशन’ बाहेक नियमित स्वास्थ्य चेकजाँच र अन्य उपचारको सम्पूर्ण जिम्मेवारी पनि लायन्सले लिने बताए । उनको घोषणासँगै सहभागी सबैको तालीको गड्गडाहट गुञ्जियो, सबै हर्षित थिए । कनकाईका बहिरा विद्यार्थीले अब वास्तविक अभिभावक पाएको अनुभूति हुन्थ्यो । चिमरियाले भने– ‘हामी ती विद्यार्थीलाई कुनै पनि स्वास्थ्य समस्या परे राति १२ बजे पनि सेवामा उपस्थित हुने र जहाँ लगेर भए पनि उपचार गर्न तयार छौं, हाम्रो संस्थामै चार जना चिकित्सक सदस्य हुनुहुन्छ ।’
मनोरञ्जनको खासै अनुभूति गर्न नपाउने बहिरा विद्यार्थीका लागि बर्षमा १÷२ पटक पर्यटकीय स्थलहरुको भ्रमण गराउने योजना समेत लायन्सले बनाएको बुझिएको छ । सो विद्यालयमा थपिने अन्य बहिरा विद्यार्थीका लागि समेत लायन्सले आफूले घोषणा गरेको सहयोग दिने बताइएको छ । कनकाई उद्योग बाणिज्य संघ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलले लायन्स क्लबले उदाहरणीय र अनकुरणीय कार्यको थालनी गरेको भनी प्रशंसा गरे ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब ३२५ए१का क्याविनेट सेक्रेटरी पीके क्षेत्री, लायन्सका जोन चियर पर्सन अजय अग्रवाल, कनकाई माविकी सहायक प्रधानाध्यापक अम्बिका उप्रेती, अर्जुनधारा जेसीजका संस्थापक अध्यक्ष इन्दीवर खड्का, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले होली मनाउन हजारौं खर्च गर्नेहरुका लागि लायन्स क्लब अफ सुरुङ्गाले शुरु गरेको अभियान राम्रो शिक्षा भएको बताउँदै क्लबको कार्यको प्रशंसा गरे । बहिरा विद्यार्थीका स्रोत शिक्षक वेदप्रसाद खतिवडाका अनुसार आजसम्म ती विद्यार्थीले यतिको खुशी र गौरबको अनुभूति कहिल्यै गरेका थिएनन् रे । उपस्थिति सबैले भन्दै थिए– ‘होली होस् त यस्तो ।’
क्लबका डाइरेक्टर प्रभाखर कडरियाले स्वागत, त्रिलोचन उप्रेतीले राष्ट्रिय ध्वजाको अभिवादन वाचन गरेको कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकारी तीर्थराज खरेलले गरेका थिए । कार्यक्रम संयोजक गंगाराम दाहालले धन्यवाद ज्ञापन गरेका थिए । कनकाई माविमा २०५३ सालमा विशेष शिक्षा अन्तर्गतको बहिरा शिक्षा कक्षा शुरु भएको हो । ०६३ सालबाट सो कक्षाका विद्यार्थी एसएलसीमा सामेल हुँदै आएका छन् । आवासीय रुपमा १३ विद्यार्थी रहेको बहिरा शिक्षातर्फ १० जना शिक्षक कर्मचारी कार्यरत छन् ।

Views: 192

प्रतिक्रिया (०)