Aamsanchar

झिलझिले र न्यू दमक विजयी

Author Image
बुधवार, चैत २, २०७३

शान्तिराम बस्नेत,
(शिवसताक्षी)


झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगिता अन्तर्गत मंगलबार २ खेल सम्पन्न भएका छन् । मिलन चौकस्थित किराँत क्रिकेट क्लबको खेलमैदानमा सम्पन्न पहिलो खेलमा झिलझिलेले चारपानेलाई ८ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चारपानेले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदैं ९८ रनको योगफल तयार पारेको थियो । उसका तर्फबाट पाँचौं नम्बरमा ब्याटिङमा आएका दिलसन भुजेलले १२ बलमा २ छक्का तथा ३ चौकाको मद्दतले २६ रन तथा ख्याम उप्रेतीले ४ चौकाको मद्दतले १२ बलमा २३ रन र कुशल निरौलाले २० बलमा ३ चौकाको मद्दतले १६ रन बनाउन बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

धारिलो तथा किफायती बलिङ गरेको झिलझिलेका तर्फबाट सन्तोष अधिकारीले ३ ओभरमा १७ रन दिदैं ३ विकेट तथा विजय घिमिरेले ३.३ ओभरमा २२ रन दिदैं ३ विकेट लिएका थिए । त्यसमा, चारपानेले १३ रन एक्स्ट्रा स्वरुप पाएको थियो ।
यता ९८ रनको लक्ष्य लिएर ब्याटिङमा उर्तेको झिलझिलेले सानदार ब्याटिङ गरेको थियो । झिलझिलेका ओपनर ब्याट्सम्यान कमल गिरीले स्टाम्प आउट हुनु अघि ११ बलमा २ छक्का तथा २ चौकाको मद्दतले २० रन बनाएका थिए भने आश्विन शर्माले १४ बलमा १ छक्का तथा ६ चौकाको मद्दतले ३५ रन तथा भीम सिटौलाले १५ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै २८ रन बनाउँदैं टीमलाई जित दिलाएका थिए ।

चारपानेका तर्फबाट निश्चल गुरुङले खेलको पाँचौ ओभरमा १ छक्का, ४ अचौका २ नोबल र ३ बाइड दिदैं आफूलाई महँगो सावित गराएका थिए । खेलको म्यान अफ द म्याच विजेता टीमका सन्तोष अधिकारी घोषित भए ।
त्यस्तै मंगलबारै सम्पन्न दोस्रो खेलमा प्रतियोगिताकै दाबेदार मानिएको शनिअर्जुनले नराम्रो हार ब्योहोरेको छ । उसलाई न्यू दमक क्रिकेट टीमले ८ विकेटले नै पराजित गरेको छ । टस जितेर पहिले बलिङको रणनीति अपनाएको दमकले शनिअर्जुनका सबै ब्याटसम्यानलाई १३.३ ओभरमै अलआउट गरेको थियो । शनिअर्जुनका सुजन राई १३ तथा जितेन्द्र शाहले १६ रन बनाउन बाहेक अन्यले दोहोरो अंक समेत छुन सकेनन् । उसका ५ ब्याट्सम्यान डक भएका थिए ।

जसमा बोधराजले २ ओभरमा १ मेडन राख्दै ९ रन दिएर २ विकेट, त्यस्तै सुमनले २ ओभरमै ६ रन दिएर २ विकेट लिएका थिए ।
यता ५५ रनको विजयी लक्ष्य लिएर मैदानमा उर्तेको न्यू दमक क्रिकेट क्लबले पनि शुरु ओभरमै विकेट गुमाउँदैं आफूलाई दबाब सिर्जना गरेको थियो । उसका तर्फबाट अमन शाहले २५ बलमा २३ रन बनाउँदैं नटआउट रहेका थिए भने गोपाल दाहालले ११ तथा सन्नी जोनले १० बलमा १२ बनाउँदैं नटआउट रहे ।

शनिअर्जुनका सुजन राईले ४ ओभरमा ९ रन दिदैं १ विकेट लिएका थिए भने बादल कुँवरले १ ओभरमा ४ रन दिदैं १ विकेट हात पार्नु शिवाय अरु बलर दमकका सामु निरिह देखिए । खेलको म्यान अफ द म्याच विजेता टिमका बोधराज आचार्य भएका थिए । आयोजक समितिका संयोजक डिल्ली श्रेष्ठले दिएको जानकारी अनुसार बुधबारको खेल दमक बीसीसी र दुर्गापुर बीच हुनेछ ।
७ वर्षअघि २०६६ साल फागुन २४ गतेकै दिन सोही क्षेत्रकै क्रिकेट खेलाडी १५ वर्षीय मिलन साँवाको दूधे शिवगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएपछि उनको स्मृतिमा सो प्रतियोगिता सञ्चालनमा ल्याएको मिलनका काका बिजय साँवाले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर