Aamsanchar

कार्की र शिवाकोटीलाई पुनरावेदन अदालतबाट सफाई

Author Image
बिहिवार, चैत ३, २०७३

बिर्तामोड।

झापा बिर्तामोड निवासी बलराम कार्की र प्रकाश शिवाकोटीलाई पुनरावेदन अदालत इलामले बैंक कागजात कीर्ते मुद्दामा सफाई दिएको छ ।
कार्की बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष र शिवाकोटी उपाध्यक्ष हुन् । जिल्ला अदालत झापाले २०७२ भदौ २६ गते उक्त मुद्दामा कार्की र शिवाकोटीलाई सफाई दिए पनि सरकारवादी सो मुद्दा पुनः पुनरावेदन अदालतमा दर्ता भएको थियो । पुनरावेदन अदालत इलामका न्यायाधीशहरु अच्युतराज भण्डारी र मदनकुमार पोखरेलको संयुक्त इजलासले बुधवार कार्की र शिवाकोटीको विषयमा झापा जिल्ला अदालतको फैसलालाई नै सदर गर्ने निर्णय गरेको हो । उनीहरुमाथि ५ बर्षअघि राष्ट्रिय बाणिज्य बैंकको लेटर प्याड, स्ट्याम्प र हस्ताक्षर कीर्ते गरेर बैंक ग्यारेन्टी बनाएको आरोपमा मुद्दा परेको थियो ।
बिर्तामोडको शिवाकोटी ट्रेडर्स र मचिन्द्र निर्माण सेवा तेह्रथुमको नामबाट झापाका सम्पूर्ण प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीका लागि नयाँ रासन बन्दोवस्त ठेक्का टेण्डर आवेदनका लागि दुबै फर्मबाट क्रमशः १५ र १८ लाख रुपैयाँको बैंक ग्यारेन्टी कीर्ते बनाएको दावी गरिएको थियो । अदालतमा मुद्दा परेसँगै कार्की र शिवाकोटीको विषयलाई जोडेर बाणिज्य संघको नेतृत्वमाथि नै विभिन्न कोणबाट प्रश्न खडा गरी विवादमा तान्ने प्रयत्न गरिएको थियो ।
बिर्तामोडका केही व्यवसायीहरुले ढिलै भए पनि पुनरावेदन अदालतले गरेको निर्णयले सत्यको जित भएको र बिर्तामोड उद्योग बाणिज्य संघको प्रतिष्ठामा पुगेको क्षतिको पूर्ति भएको बताएका छन् ।
यसैबीच पुनरावेदन अदालतको निर्णयपछि सफाई पाएकोमा खुशी व्यक्त गर्दै कार्कीले भने– ‘ढिलै भए पनि सत्यको जित भएको छ, म, प्रकाशजी र बाणिज्य संघको प्रतिष्ठामा आँच पु¥याउन भएको षड्यन्त्र असफल भएको छ । यतिञ्जेल धैर्य गर्ने र शुभेच्छा प्रकट गर्ने सबैप्रति उनले धन्यवाद समेत दिएका छन् ।’
त्यस्तै शिवाकोटीले पनि खुशी व्यक्त गर्दै एक दिन सत्यको जित हुन्छ भन्ने कुराको पुष्टि सम्मानित अदालतले गरिदिएको बताए । ढिलै भए पनि न्याय दिएकोमा सम्मानित अदालतप्रति उनले आभार प्रकट गरे ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२