भरत शिवाकोटी
[युएई]
आफ्ना आमाबुवा प्रतिको कर्तव्य बोध गर्ने सन्तानहरु आजकाल निक्कै कम भेटिन्छन | आफ्नी आमाको दुधको भारा तिर्दै उनीलाई सुखका साथ न्याउरो मुहारमा खुशी ल्याउने दृढसंकल्प गर्दै चितवन भरतपुरका दिपकराज पौडेल वैदेशिक रोजगारीका लागि १२ वर्षअघि युएई आएका थिए ।
दुई बहिनीहरुको शिक्षादीक्षा र भविष्यको चिन्ता परिवारको आशा र भरोसा दिपककै काँधमा भारि भएको थियो । सामान्य साक्षर आमा गोमा पौडेल, ‘पवित्रा’ पनि छोराको कमाइबाट सुखद जीवन जीउने कल्पना गर्थिन । विदेशको कमाइबाट आफ्नो जीवनस्तरमा उन्नति गर्ने सपना पौडेल परिवारले बुनेर बसेको थायो । आमाप्रतिको सम्मान र आदर हरेक सन्तानले पुरा गर्नु सन्तानको प्रथम दायित्व पनि हो |
दिपकका आँखामा आमाको विगत र आगतका यथार्थ दृश्य परिदृश्यहरु झलझली थिए | तमाम प्रवासिएका नेपालीझैं उनको पनि धन कमाउने एउटै लक्ष्य थियो । केही वर्ष विदेशमा दुःख गरेमा गरिबीको चपेटाबाट मुक्ति मिल्ने आम नेपालीहरुको सोच भन्दा दिपकको सोच पनि फरक थिएन । परिवारको जेठो छोरा दिपकको जिम्मेवारी पनि जेठै थियो ।
दिनहरु बिते । महिनाहरु बिते । वर्षहरु बिते । एक सामान्य कामदारका रुपमा युएई पुगेका दिपकले रोजगारीको सिलसिलामा धेरै उतारचढाबहरुको सामना गरे । युएईको जनजीवन बुझे । कानुन तथा व्यापार व्यवसायबारे चासो राख्दै मेहनत संघर्समा सफलता प्राप्त गर्दै आमाकै नाममा एक कम्पनी स्थापना गरे–अल गोमा क्लिनिङ कम्पनी एलएलसी । एक सामान्य कामदारको रुपमा युएई आएका दिपक समयक्रममा कम्पनीको मालिक बने । चालीसभन्दा बढी कामदारको अभिभावक बने ।
भर्खरै एक पार्टनरसँगको सहकार्यमा दिपकले दुबईमै अर्को एक नयाँ व्यावसाय समेत सुरु गरेका छन । जीवनस्तरमा परिवर्तन गर्दै चितवनबाट काठमाडौंका स्थायी बासिन्दा हुदैँ विवाह बन्धनमा बाधिए । हाल उनले हृदय ओइराएर माया गर्ने जीवनसंगीनीका रुपमा सुमित्रा आचार्यलाई पाएका छन । जीवन एक गतिमा दौडिरहेको छ । अहिले उनको धन कमाउने एउटा सीमा सम्मको सपना पूरा पनि भएको छ ।
तर अवाशोच यो धन फिक्का सावित भएको छ, आमाको मुहारमा खुसी ल्याउने उनको चाहना अधुरो छ । आमालाई सपनामा त धेरै पटक देख्छन दिपक तर विपनामा आमा कहाँ छिन ? दिपकको एउटै चिन्ता बनेको छ दिनरात ।
विना जानकारी वि.सं. २०६५ साल कात्तिक २५ गते तिहारको पर्सिपल्ट काठमार्डौको मनमैजु स्थित आफ्नै घरबाट बेपत्ता भएकी उनकी ४७ वर्षिया आमा गोमा पौडेल हालसम्म बेखबर छिन । आमाको अहिलेसम्म पत्तो नहुँदा पौडेल परिवार स्तब्ध बनेको छ । आमालाई सुखी राख्न धन कमाउन बिदेशिएका दिपकसँग अहिले स्वाभाविक आवश्यकता पूरा गर्ने धन त छ तर आमा छैनन ।
सात वर्षको यो अवधिमा धेरै पटक नेपाल पुगे र आमाको खोजीमा तल्लिन रहे । आफन्त तथा साथीभाइहरुसँग आमाकै खोजतलास गरे । चिना हेराउनेदेखि गाडीमा प्रचार सामग्री बाँड्दै माइकिङ गरेर आमाको खोजी गरिरहे तर हालसम्म पनि केही पत्तो लागको छैन । आमाले घर नै छोडेर सम्पर्कविहीन बन्नुपर्ने घरमा कुनै किसिमको मतभेद तथा समस्या नभएको दिपकको अनुभव छ ।
‘प्लिज हेल्प मि टु फाइन्ड माई मदर’ नामको पेज बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत समेत आमा खोजी अभियानलाई निरन्तरता दिएका दिपकले सबैबाट सहानुभूति सिवाय हालसम्म केही पाएका छैनन । यतिसम्म भएपनि शारीरिक र मानसिक रुपमा स्वस्थ्य आमा कुनै एक दिन फर्केर आउने दिपकको आशा भने अझै ताजै छ ।
कहिले उनको मनले आफ्नी आमा नेपालकै कुनै धर्मशालामा रहेको अनुमान गर्न पुग्छ त कहिले मलेसिया वा अन्य खाडी देशहरुमा आफ्नी आमा पुगेकी हुन सक्ने अड्कल काट्छ । चिना हेराउँदा पनि धेरै ज्योतिषीहरुले विदेशमा रहेको अनुमान गरेका कारण आफ्नी आमा भारतदेखि कुवेत, साउदी, कतार, बहराइन र मलेसिया मध्ये कुनै देशमा काम गरिरहेकी छन कि भन्ने दिपकको आशंका छ ।
हराएकी आफ्नी आमाबारे कुनै भरपर्दो जानकारी दिने अथवा आमा भेटाइदिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत दिपकले गरेका छन । आफन्त, साथीभाइ, सहकर्मी सबैबाट हराएकी आमाबारे तारन्तार जानकारी लिँदै उनको अधिकांश समय बितिरहेको छ । आफ्नी आमाबारे केही भरपर्दो जानकारी पाएमा ००९७१-५५१०४०९४३ मा खबर गरिदिन दिपकले सम्पूर्ण सबैलाई हार्दिक आग्रह गरेका छन ।