(सुरेन्द्र भण्डारी)
झापा।

आफ्नै पतिबाट हिंसाको शिकार भएकी झापा मेचीनगर–१२ नयाँबस्तीकी एक महिलाको संरक्षणका लागि अदालतले प्रहरी खटाउने आदेश गरेको छ ।
झापा जिल्ला अदालत भद्रपुरले पीडक ज्ञयनाथ कँडेलले पत्नीलाई शारीरिक, मानसिक यातना, धम्की लगायतका कार्य गरे÷नगरेको दैनिक निगरानी गरी ७÷७ दिनमा उनको गतिविधि बारे अदालतलाई जानकारी गराउन प्रहरी चौकी चारआलीलाई आदेश गरेको हो ।
कँडेलले मादक पदार्थ सेवन गरी चरम शारीरिक, मानसिक यातना दिएको, ज्यान मार्नेसम्मको धम्की दिएकोले उनीविरुद्ध पत्नीले अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी छिन् । पीडक र पीडितलाई एकैठाउँमा बस्न उपयुक्त नभएकोले पीडकलाई सो घरबाट अलग बस्न आदेश मागसहितको मुद्दा अदालतमा दायर भएको छ ।

अधिवक्ता लक्ष्मीदेवी खनालले पीडितको तर्फबाट बहस गरेकी थिइन् । जिल्ला न्यायाधीश मनोज केसीको इजलासले पीडिताको संरक्षणका लागि घरेलु हिंसा (कसुर र सजाय) ऐन २०६६को दफा ६ बमोजिम उक्त आदेश गरेको हो । मुद्दा दर्ता भई प्रतिवादीका नाममा सात दिने म्याद जारी गर्न आदेश समेत भइसकेको अवस्थामा सो म्यादमा हाजिर भई इजलासमा पेश नभएसम्मका लागि उक्त आदेश गरिएको जनाइएको छ ।
पीडित र पीडिक एकै घरमा बसोबास गर्दा पीडितको जीऊ ज्यानमा समेत जोखिम रहन सक्ने देखिँदा पीडकलाई सो घरबाहेक अन्यत्र बस्ने व्यवस्था आफैं मिलाउन पनि आदेश गरिएको छ ।
घरेलु हिंसा (कसूर र सजाय) ऐन, २०६६ मा भनिएको छः ‘‘घरेलु हिंसा” भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पु¥याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ ।

‘‘घरेलु सम्बन्ध” भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्छ
सजाय : कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई तीन हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
त्यस्तै घरेलु हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था छ । यसैगरी घरेलु हिंसाको कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुने व्यवस्था छ ।

