Aamsanchar

मौसम बदलीले पर्यटन व्यवसायलाई असर नपार्ने

Author Image
आइतवार, चैत ६, २०७३

[लक्ष्मीप्रसाद उपाध्याय]

काठमाडौँ। 

चैत महिनाको पहिलो सातामा पनि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन थालेपछि पर्यटन व्यवसायलाई प्रभाव पर्नसक्ने भन्दै व्यवसायीले चिन्ता व्यक्त गरिरहेका बेला मौसमविद्हरूले भने मौसम बदलीको प्रभावलाई ‘क्षणिक असर’ भन्दै यसले पर्यटन व्यवसायलाई असर नपार्ने कुरा बताएका छन् ।
अघिल्लो साता सगरमाथा आधार क्षेत्र, अन्नपूर्ण क्षेत्र तथा अन्य पर्यटकीय गन्तव्यका क्षेत्रमा हिमपात भएको र हरेक साँझ वर्षा हुन थालेपछि पर्यटन व्यवसायीले यस्तो चिन्ता व्यक्त गरेका थिए ।  गत वर्ष हिमपातमा परी दर्जनौँ स्वदेशी तथा विदेशी पर्यटकले ज्यान गुमाउनु परेपछि मौसम बदली हुँदा व्यवसायी सचेत हुन थालेका छन् ।  गत साताको हिमपातले सगरमाथा आधार क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने विदेशी पर्यटकका कार्यक्रम प्रभावित भएको बताइएको छ ।
पर्यटन व्यवसायी रमण चौलागाईंका अनुसार पर्यटक आउने मौसम सुरु हुनै थाल्दा मौसम बदलीका घटनाले नेपालको बसाइ कम गर्नसक्ने देखिएको छ ।  चौलागाईंले भन्नुभयो, “पदयात्रा गर्ने यो रमाइलो सिजन हो ।  छिनछिनमै मौसममा बदली हुँदा हामीले पर्यटकलाई गन्तव्यस्थलतिर जान र लैजान नसक्ने अवस्था देखिएको छ । ”
तर मौसमविद्ले भने हाल देखिएको मौसम फेरबदलका घटना क्षणिक भएकाले यसको दीर्घकालीन असर नपर्ने बताएका छन् ।  जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माका अनुसार यो ‘प्रि मनसुन’को बेला मौसम फेरबदलका घटना भइरहन्छन् तर त्यसको असर लामो समयसम्म रहँदैन ।
मार्च, अप्रिल र मे महिनालाई प्री मनसुन भन्ने गरिन्छ ।  यो समयमा एकैछिनमा घाम लाग्ने, एकैछिनमा बादल मडारिने र पानी पर्ने हुन्छ; जसको असर लामो समयसम्म रहँदैन ।  नेपाली आकाशमा स्थानीय तहमा उत्पन्न भएका केही बादल मडारिँदा त्यस्तो असर देखिने गरेको हो ।
पर्यटन व्यवसायी रमेश सापकोटाका अनुसार अघिल्लो साता भएको हिमपातका कारण धेरैजसो पर्यटकले आफ्नो घुम्ने समयतालिका पनि परिवर्तन गरेका छन् ।  सापकोटाले भन्नुभयो, ‘पदयात्राका लागि निस्केका केही पर्यटकका समूह बीच बाटैबाट फर्किन बाध्य भएका छन् ।  यसपटक पर्यटकका सिजन सुरु हुँदै राम्रो सङ्केत देखा परेन । ”
प्री मनसुनका बेला बढीजसो पोखरा उपत्यका र पूर्वको सोलुखुम्बु जिल्लाको पर्यटन व्यवसाय प्रभावित हुने गरेको छ ।  महानिर्देशक डा. शर्माले भन्नुभयो, “प्री मनसुनका बेला हुने वर्षा, हिमपातले धेरै समय असर नपार्ने भएकाले यसलाई पर्यटन व्यवसायीले बुझेर आफ्ना कार्ययोजना बनाउँदा राम्रो हुन्छ । ”
साँझ काठमाडौँ उपत्यकालगायत पूर्वी पहाडी क्षेत्रमा वर्षा भएको र उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।  शनिबार साँझ उपत्यका, गोरखा, पोखरा लगायतका क्षेत्रमा छिटपुट पानी पर्दा चिसो बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम छ दशमलव पाँच पुगेको छ भने साँझ पानी पर्दा राति अझै घट्नसक्छ ।

साँझ काठमाडौँ, धनकुटा, ओखलढुङ्गा लगायतका पूर्वी नेपालका अधिकांश भागमा पानी परेको छ ।  आइतबार बिहान आकाश खुले पनि साँझपख मौसम बदली हुनसक्ने सो महाशाखाले जनाएको छ ।

Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर