बिर्तामोड ।

बिर्तामोड झापाको सबैभन्दा बढी नगर र गाउँपालिकासँग सीमा जोडिएको नगरपालिका बनेको छ । स्थानीय निकायको पुनर्संरचना भई स्थानीय तह बनेसँगै बिर्तामोड ६ वटा नगर, गाउँसँग सीमा जोडिएको मध्य भागको नगरपालिका बनेको हो । अरु जिल्ला र भारतसँग सीमा नजोडिएको एकमात्र नगरपालिका पनि बिर्तामोड बनिएको छ ।
बिर्तामोड नगरपालिकाको सीमा मेचीननगर, भद्रपुर, कनकाई र अर्जुनधारा नगरपालिका तथा हल्दिबारी र बाह्रदशी गाउँपालिकासँग जोडिएको छ । अरु जिल्ला र भारतसँग सीमा नजोडिएको दुईमात्र गाउँपालिका हल्दिबारी र बाह्रदशी हुन् । झापाका अरु सवै नगर र गाउँपालिकाको सीमा अन्य जिल्ला, कि त भारतसँग जोडिएको छ । जनसंख्याको हिसाबले बिर्तामोड जिल्लाकै दोस्रो ठूलो नगर हो । बिर्तामोडको जनसंख्या ८१ हजार ८ सय ७८ छ । सवैभन्दा ठूलो चाहिँ मेचीनगर बनेको छ । मेचीनगरको जनसंख्या १ लाख ११ हजार ७ सय ९७ छ ।
बिर्तामोड झापासँगै इलाम, पाँचथर र ताप्लेजुङको प्रमुख व्यापारिक केन्द्र हो । बिर्तामोडलाई तत्कालीन अनारमनी र चारपाने गाविसलाई गाभेर नगरपालिका बनाइएको थियो । पछिल्लोपटक गरामनी गाविस पनि यही नगरमा मिलाइयो । गरामनी र बिर्तामोडलाई मिलाएर बनाएको बिर्तामोड नगरपालिकाको क्षेत्रफल ७७.९५ वर्गकिलोमिटरमा फैलिएको नगरपालिका कार्यालयका प्रशासन प्रमुख मेघराज बाँस्तोलाले जानकारी दिए । केन्द्र भने बिर्तामोड (बिर्ताबजार) लाई मानिएको छ ।
बिर्तामोड नगरपालिकामा मावि र क्याम्पसको संख्या ३० वटा रहेका छन् । मेचीकै ठूला हस्पिटलसहित स्वास्थ्य संस्था डेढ दर्जन भन्दा बढी छन् । पशु सेवा केन्द्र एउटा रहेका छन् । बिर्तामोड नगरपालिकाभित्र पिच गरिएको सडक ४६ किलोमिटर, ग्राभेल १४० किलो मिटर र कच्ची सडक ४४ किलोमिटर रहेको बिर्तामोड नगरपालिकाका प्रशासन विभाग प्रमुख बाँस्तोलाले बताए ।
बिर्तामोडमा को बन्ला त मेयर ?
हरेक दृष्टिकोणले महत्वपूर्ण मानिएको बिर्तामोडलाई मेयर पदका लागि पनि उत्तिकै महत्वपूर्ण रुपमा हेरिएको छ । मेयर र उपमेयर पदका लागि अहिले राजनीतिक दलहरुबीच कसरत शुरु भइसकेको छ । मुख्य चार ठूला दलले मेयरको आ–आफ्नै ठाउँबाट दावी गरिरहेका छन् । अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राप्रपाले मेयर र उपमेयरको दावी गरिरहेको छ ।
मेयरमा चर्चामा रहेका नाम कतिपय नाम उपमेयरका लागि पनि चर्चामा छन् । मेयरपदका लागि नेपाली कांग्रेसबाट भोजराज सिटौला, हर्कलाल गिरी, भरतलाल गिरी, युवराज प्रसाई, देवी गिरी, उमा शिवाकोटी, बलराम कार्की, जलकुमार गुरुङ, युवराज विमली, लक्ष्मी आचार्य, पार्वता गिरी, नवीन बिमली, कपिल शिवाकोटी, रामलाल उप्रेती, पोषराज कटुवालको नाम चर्चामा छ । भोजराज पार्टीको नगर समिति सभापति हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशील उनी खेलकुद क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । 
नेपाली कांग्रेसबाटै मेयरका अर्का आकांक्षी हर्कलाल अनारमनी गाविसका पूर्वअध्यक्ष हुन् । भरतलाल चिया उद्योगी तथा पूर्वाञ्चल दैनिकका प्रकाशक हुन् । उपमेयरका लागि पनि यिनै नाम चर्चामा छन् ।
नेकपा एमालेबाट मेयरका लागि ज्ञानु प्रसाईं, लोकबन्धु कन्दङ्वा, ध्रुव शिवकोटी, एकराज कार्की र प्रेम सिटौलाको नाम चर्चामा छ । त्यस्तै जसमाया गजमेरको नाम पनि चर्चामा छ । एमालेबाटै हरिचरण शिवाकाटी र तेजबहादुर कन्दङ्वाको नाम चर्चामा छ । पवित्रा निरौला, बिमला विक, कमला थापामगर, डिल्लीमाया आचार्य, पवित्रा पाठक, पवित्रा महतराको नाम पनि चर्चामा छ । शिवाकोटी अनारमनी गाविसका पूर्वअध्यक्ष हुन् ।
त्यस्तै कार्की गरामनी गाविसका पूर्व अध्यक्ष हुन् । उनी सुकुम्बासी समस्या समाधान आयोग झापाका अध्यक्ष समेत भएका थिए । प्रसाईं एमालेका नगर अध्यक्ष हुन् भने कन्दङ्वा अनारमनी गाविसका पूर्वउपाध्यक्ष हुन् । सिटौला चारपानेका पूर्वअध्यक्ष हुन् ।
यता माओवादी केन्द्रबाट झलकसिंह दर्लामी सन्देश, अग्नि आचार्य, सिपी कडरिया, दुर्गा प्रसाई, अरुण श्रेष्ठ, लक्ष्मी न्यौपाने सरुको नाम चर्चामा छ । सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग राम्रो पहुँच भएकाले पनि उनको नाम मेयरका लागि चर्चामा छ । कडरिया माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला समितिको विकास निर्माण विभागका संयोजक समेत हुन् । प्रसाईं वीएण्डसी हस्पिटलका कार्यकारी निर्देशक हुन् ।
त्यस्तै माओवादीबाटै ज्योतिसिंह दर्लामी मगरको नाम पनि मेयरको चर्चामा छ । राप्रपाबाट भने भक्ति सिटौला र राजकुमार पोखरेलको नाम चर्चामा छ । पोखरेल राप्रपाका केन्द्रीय सदस्य हुन् । स्वतन्त्रबाट शिक्षासेवी तथा अधिकारकर्मी रुपक खनालको नाम चर्चामा छ । उनी गोमेन्द्र महाविद्यालयका प्रिन्सिपल हुन् ।
बिर्तामोडमा १८ वटा मतदान केन्द्र
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बिर्तामोड नगरपालिकामा १८ वटा मतदान केन्द्र तोकिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय झापाले १० वटा वडामा १८ वटा निर्वाचन केन्द्र तोकेको जनाएको छ । वडा नं. १ र २ का लागि नेपाल खाद्य संस्थान चारपाने, मोहनमाया मावि रामचोक, वीर अमरसिंह मावि बेलडाँगी र पञ्चरत्न मावि चैतुबारीलाई निर्वाचन केन्द्र तोकिएको छ ।
त्यस्तै वडा नं. ३का लागि इलाका स्वास्थ्यचौकी बिर्ताबजार, गाविस भवन बिर्ताबजार, महेन्द्ररत्न मावि बिर्ताबजारलाई मतदान केन्द्र तोकिएको छ ।
त्यस्तै ४का लागि नेपाल विद्युत् प्राधिकरण ग्रीड बिर्तामोड, नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय बिर्ताबजारलाई मतदान केन्द्र तोकिएको छ । त्यस्तै वडा नं. ५ का लागि देवी मावि बिर्तामोड, ६ का लागि सरस्वती मावि बुट्टाबारी, ७का लागि बिरान स्कूल र जनता प्रावि खालबाडी रहेका छन् ।
त्यस्तै ८ नं. वडाका लागि शुक्रराज निमावि देउनीया र साविक गरामनी गाविस भवनलाई तोकिएको छ । ९का लागि देवकोटा निमावि खामतेलबारीसहित लक्ष्मी प्रावि तागाबारीलाई निर्वाचन केन्द्र तोकिएको छ । त्यस्तै वडा नं. १० का लागि भने महेन्द्र ज्योति मावि सैनिक बजारलाई मतदान स्थलको रुपमा तोकिएको छ ।
बिर्तामोडको कुन वडामा कति जनसंख्या ?
बिर्तामोड नगरपालिकाको १ नं. वडामा ८०७३ जनसंख्या रहेको छ भने वडा नं. २ साविकका वडा २, ३, ४ लाई मिलाइएको छ । जसको जनसंख्या ९३९० रहेको छ ।
साविक वडा नं. ८ र ९लाई नगरपालिकाको ३ नं. वडा बनाइएको छ । ३ नं. वडाको जनसंख्या ८६२० रहेको छ । वडा नं. ७ लाई ४ नं. वडामा तोकिएको छ । जसको जनसंख्या १० हजार ९ सय ७६ रहेको छ ।
साविकको ६ नं. वडालाई ५ नं. वडा कायम गरिएको छ । जहाँ १७ हजार ८ सय २३ जनसंख्या रहेको छ । साविक ५ नं. वडालाई ६ नं. वडा कायम गरिएको छ । जसको जनसंख्या ७ हजार ४ सय ७६ रहेको छ । साविकको गरामनी १ र २ लाई वडा नं. ७ कायम गरिएको छ । जसको जनसंख्या ६ हजार २ सय रहेको छ । त्यस्तै गरामनी ३, ४ र ५ लाई ८ नम्बर वडा कायम गरिएको छ । जसको जनसंख्या ४ हजार ९ सय ४९ छ । साविकको गरामनी ६, ७ र ८ लाई वडा नं. ९ कायम गरिएको छ । जसको जनसंख्या ४ हजार १ सय ८७ रहेको छ ।
त्यस्तै साविकको गरामनी ९ नं. वडालाई बिर्तामोड नगरपालिकाको १० नं. वडा कायम गरिएको छ । जसको जनसंख्या ६ हजार ३ सय ६८ रहेको छ ।

