Aamsanchar

स्थानीय चुनावमा भोट कसरी हाल्ने ?

Author Image
मङ्गलवार, चैत ८, २०७३

काठमाडौं,

वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोग र दलहरुले तयारी तीव्र बनाइ रहेका छन् । आयोगले आइतबारदेखि नै केन्द्रीयस्तरबाट गर्नुपर्ने तयारी सकेर जिल्ला स्थानीय तहमा ध्यान केन्द्रित गरेको छ ।

चुनावका लागि चाहिने सबै किसिमका सामग्रीको बन्दोबस्त गर्दै आयोगले मतपत्र छाप्न सुरु गरेको छ । हुँदै गरेको स्थानीय चुनावमा नागरिकले आफ्नो अभिमत प्रकट गर्न मतपत्रमा कसरी र कति ठाउँमा छाप लगाउनु पर्छ त ?

वैशाख ३१ गते हुने चुनावका लागि निर्वाचन आयोगले ६ किसिमका एक करोड ६० लाख मतपत्र छाप्न सुरु गरेको छ । अरु चुनावमा एउटा मतपत्रमा एक ठाउँमा मात्र छाप अर्थात स्वस्तिक चिन्ह लगाउनुपर्ने भए पनि योपटक एउटै मतपत्रमा सात ठाउँमा छाप लगाउनुपर्छ ।

गाउँ वा नगरपालिकाका प्रमुख र उपप्रमुख, एकजना वडा अध्यक्ष र चारजना वडा सदस्य गरी सात जनालाई भोट दिन पाइने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माको भनाई छ । जनक शिक्षा केन्द्रमा धमाधम छापिरहेको मतपत्रमा अहिले संसदमा रहेका दलको हैसियतअनुसार वरियता क्रम तोकिएको छ ।

जसअनुसार पहिलो नम्बरमा कांग्रेसको रुख, दोस्रोमा एमालेको सूर्य, तेस्रो नम्बरमा माओवादी केन्द्रको गोलाकारभित्रको हसिया हथौडा, चौथोमा राप्रपाको गाई चिन्ह राखिएको छ । यस्तै गरी अरु दलको पनि क्रमिक रुपमा चुनाव चिन्ह रहेका छन् ।

मतदान गर्दा बायाँतर्फबाट क्रमिक रुपमा आफ्नो गाउँ वा नगरपालिकाको प्रमुख, दोस्रोमा उपप्रमुख र तेस्रोमा वडा अध्यक्षका लागि छाप लगाउनुपर्छ । त्यस्तै चौथोमा महिला सदस्य, पाँचौंमा दलित महिला सदस्यका लागि मतपत्रले स्थान दिएको छ ।

मतपत्रको दायाँतर्फका दुईवटा कोलममा खुलातर्फका दुई जनावडा सदस्यको चिन्ह हुन्छ । स्थानीय चुनावमा जिल्लाअनुसार फरक फरक आकारका मतपत्रको प्रयोग हुनेछ । जुन जिल्लामा धेरै राजनीतिक दलहरुले भाग लिँदै छन् त्यहाँ ठूला र थोरै दल मात्र भएको जिल्लामा साना आकारका मतपत्र प्रयोग हुँदैछ ।

काठमाडौंमा ४७ दलले भाग लिने भएकाले सबैभन्दा ठूलो र मनाङमा ६ दलले मात्र भाग लिने भएकाले मतपत्रको आकार सबैभन्दा सानो हुनेछ । चुनावमा कसरी मतदान गर्ने भनेर सिकाउन निर्वाचन आयोगका कर्मचारी तपाईका गाउँ टोलमा पनि आउँदै छन् ।

आफूले नबुझेका कुरा सिक्दै २० वर्षपछि हुन लागेको चुनावमा सक्षम व्यक्ति चयन गर्ने महत्वपूर्ण अवसर गुम्न नदिनु हरेक मतदाताको अधिकार र दायित्व पनि हो । उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर