Aamsanchar

प्रशासन रमिते, अखाद्य आइसक्रिम खुलेआम बिक्री

Author Image
बुधवार, चैत ९, २०७३

बिर्तामोड।

 

मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पार्ने अखाद्य पदार्थ मिश्रण गरेर उत्पादन गरेको आइसक्रिम झापाका विभिन्न बजारमा खुलेआम बिक्री–वितरण हुँदा पनि प्रशासन मौन बसेको सरोकारवालाले आरोप लगाएका छन् ।
समय–समयमा अन्य खाद्य वस्तुमा प्रशासनले अनुगमन गर्दै कारवाही अघि बढाए पनि आइसक्रिम, कुल्फी, बरफ लगायतका खाद्य पदार्थको अनुगमन नगर्दा झापाका विभिन्न बजारमा अखाद्य वस्तु मिसाएका आइसक्रिम, कुल्फी र बरफ खुलेआम बिक्री बितरण भइरहेको बताइन्छ । जसका कारण मानव स्वास्थ्यमा प्रत्यक्ष असर परेको बताइएको छ । आइसक्रिम बनाउन प्रयोग गरिने आइसिङ सुगर (एकप्रकारको केमिकल) रहेको र उक्त केमिकल बढी भए मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने चिकित्सकले बताएका छन् ।
त्यस्तै, ‘स्किन मिल्क पाउडर’, ‘काष्टम पिठो’, ‘आरारोट’ को मात्रा नमिलाउँदा त्यसले पनि मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खाद्य विशेषज्ञ पशुपति मिश्रले बताए । उनले भने– ‘विभिन्न केमिकल मिसाएर चिसो पेय पदार्थ र आइसक्रिम लगायतका सामग्री उत्पादन गर्दै बजारमा बिक्री–वितरण भइरहेको छ, त्यस्तो खाद्य वस्तुको सेवनले तत्काल असर पु¥याउँछ ।’
झापाका बजारमा बिक्री हुने कतिपय आइसक्रिममा न त उत्पादन मिति हुन्छ, न त उक्त आइसक्रिम कति समयसम्म उपयोग गर्न सकिने (समाप्त मिति) नै तोकिएको हुन्छ । सामान्यतः आइसक्रिम, बरफ, कुल्फी जस्ता खाद्य पदार्थका लागि १८ डिग्री सेन्टिग्रेटभन्दा तल तापक्रम आवश्यक पर्ने गरेको खाद्य विशेषज्ञ बताउँछन् । तर, उक्त तापक्रमको मापन नगरी त्यस्ता खाद्य पदार्थ बिक्री–वितरण भइरहेको बताइएको छ ।
आइसक्रिम तयारी गर्न दूध समेत आवश्यक पर्ने र उक्त दूध कसरी फटाइन्छ, दूध फटाउन कस्ता केमिकल प्रयोग हुन्छ, आइसक्रिम बनाउन कस्तो कलर प्रयोग गरिन्छ, आइसक्रिमको कलर खान योग्य छ या छैन यसको समेत लेखाजोखा नगर्दा यसले मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पु¥याउने गरेको बताइन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयले समेत यस विषयमा चासो नदेखाउँदा बजारमा खुलेआम यस्ता सामग्रीको बिक्री–वितरण भइरहेको छ ।

बढी केमिकलयुक्त आइसक्रिम, बरफ, कुल्फी लगायतका पेय पदार्थ सेवनका कारण बालबालिका सबैभन्दा बढी पीडित रहेको खाद्य विशेषज्ञ मिश्रले बताए । उनले भने– ‘बजारमा आएका जस्तो पायो त्यस्तै आइसक्रिम लगायतका सामग्रीको प्रयोगले बालबालिका आजको भोलि बिरामी हुन्छन् त्यो हामीले ध्यान दिइरहेका छैनौं ।’ दूधबाट तयारी गरिएको आइसक्रिम तीन महिनाका लागि मात्र खान योग्य भएको बताइन्छ । तर, झापाका बजारमा पाइने आइसक्रिम एकवर्ष अघि उत्पादन गरिए पनि लेबल नलगाइ खुलेआम बिक्री–वितरण गरिएको पाइएको छ ।
झापामा अन्तर्राष्ट्रिय मान्यता प्राप्त वास्किन रविन्स, राष्ट्रिय मान्यता प्राप्त अज्जबको र एनएमसी डेरीले उत्पादन गरेको आइसक्रिमले पछिल्लो समय बजार ओगटेको बताइन्छ । त्यस्तै झापामा पूजा आइसक्रिम बिर्तामोड, मनकामना आइसक्रिम बिर्तामोड, कञ्चन आइसक्रिम सुरुङ्गा, बिन्दवासिनी आइसक्रिम दूधे, पिन्कीबेरी आइसक्रिम दमकले समेत आइसक्रिम उत्पादन गरिरहेका छन् । सामान्यतया सबै आइसक्रिम फ्याक्ट्रीले घरेलु तथा साना उद्योग कार्यालयबाट आइसक्रिम उत्पादनको सम्बन्धन लिए पनि अन्य मापदण्ड भने पूरा नगरेको बताइन्छ ।
आफूले उत्पादन गरेको आइसक्रिम, कुल्फी, बरफ लगायतका खाद्य पद्यार्थ खान योग्य छ या छैन दैनिक ल्याव परीक्षण गरी बजारमा पठाउनुपर्ने हुन्छ । तर, अधिकांश आइसक्रिम फ्याक्ट्रीले मनोमानी ढंगले आफूले उत्पादन गरेको सामग्री बजार विक्रीका लागि पठाउने गरेका छन् । ल्याव परीक्षण विनानै बजारमा पठाइएको आइसक्रिमका कारण धेरै बालबालिका दैनिक बिरामी हुने गरेको बताइन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयले दिएको ‘सर्टिफिकेट’लाई आधार मानेर आइसक्रिम फ्याक्ट्रीले आफूखुशी आफूले उत्पादन गरेको आइसक्रिम बजारमा पठाउने गरेका छन् । जसको न निश्चित मूल्य नै हुन्छ न कहिलेसम्म उक्त आइसक्रिम प्रयोग गरिने हो सो को विवरण खुलाएको हुन्छ । त्यस्तो आइसक्रिमको सेवनले सबैभन्दा बढी बालबालिकालाई असर पु¥याउने गरेको सरोकारवालाको भनाइ छ ।
नाम नबताउने शर्तमा एक आइसक्रिम फ्याक्ट्रीका सञ्चालकले भने ल्याव परीक्षण बिना बजारमा पठाइएको आइसक्रिमको सेवनले तत्काल असर पु¥याउँछ । ‘अखाद्य वस्तु मिसाएर बनाएको आइसक्रिम सेवन गरेको बच्चा २४ घण्टा बित्न नपाउँदै बिरामी पर्छ’ – उनले भने ।
यता राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले बजारमा जथाभावी विक्री– वितरण भइरहेको अखाद्य वस्तुको नियन्त्रण गर्ने काम राज्यको भएको बताएका छन् । उनले अखाद्य वस्तुको सेवनका कारण दिनानुदिन मानिस रोगको सिकार हुँदा समेत राज्य थाहा पाएर पनि थाहा नपाएको जस्तो गरेर बसेको आरोप लगाए । राज्यले यस्तो क्रियाकलाप रोक्न अभियान सञ्चालन गरे आफूहरुले सहयोग गर्ने उनले बताए ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले भने– समय–समयमा बजार अनुगमन हुने गरे पनि आफूहरुको ध्यान यसमा पुगेको छैन । उनले आमसञ्चारसँगको कुराकानीमा भनेका छन्– ‘अनुगमन गर्नका लागि जिल्ला प्रशासनले अनुमगन अधिकृतले तोकेर बजार अनुगमन गरिरहेको छ, हामी प्लान नै बनाएर बजार अनुगमन गरिरहेका छौं । यसको सम्पूर्ण जिम्मा घरेलु तथा साना उद्योग कार्यालयलाई दिइएको छ । आइसक्रिम फ्याक्ट्रीमा अनुगमन भएको छ कि छैन म तत्काल बुझ्छु ।’
मानव स्वास्थ्यमा असर पु¥याउने खालका अखाद्य वस्तुको बिक्री–वितरणमा रोक लगाउने र अटेर गरेको खण्डमा त्यस्ता व्यक्तिलाई कारवाही समेत गर्ने प्रमुख जिल्ला अधिकारी खत्रीले बताएका छन् ।

Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर