Aamsanchar

भद्रपुरमा मेयर र उपमेयरमा कसले बाजी मार्ला ?

Author Image
बुधवार, चैत ९, २०७३

(पार्थ मण्डल)

भद्रपुर।

आसन्न स्थानीय तह निर्वाचनमा मुलुककै ऐतिहासिक भद्रपुर नगरमा आफ्नो पकड जमाउन स्थानीयस्तरमा क्रियाशील तथा सक्रिय पार्टीका कार्यकर्ता उम्मेदवार बन्ने इच्छा व्यक्त गर्न थालेको पाइएको छ ।
पार्टीले कसलाई टिकट दिने हो, भन्दै अहिले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका कार्यकर्ता आफू निकट नेताहरुको घरघर धाउन थालेका छन् । उनीहरु आफ्नो कुरा सुन्ने कार्यकर्तालाई आफ्नो बिचार राख्न पनि पछि हटेका छैनन् । उम्मेदवार बन्ने कार्यकर्ताको चर्चा अहिले टोल तथा बजारमा जताततै चियागफमा समेत सुन्न पाइन्छ ।
नेपालकै पुरानो नगरपालिकाको रुपमा परिचित झापाको सदरमुकाममा अवस्थित भद्रपुर नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष, उपाध्यक्ष, दलितसहित दुई महिला सदस्य, दुई सदस्य पदका लागि उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका विभिन्न पार्टीका कार्यकर्ता टिकटको पर्खाईमा रहेका छन् । नगर कमिटी र क्षेत्रीय कमिटीको सिफारिसमा नै उनीहरुले टिकट पाउने बुझिएको छ ।
यसअघि महेशपुर र चन्द्रगढी समावेश भएर बनेको वृहत् भद्रपुर नगरपालिकामा हाल पृथ्वीनगर गाविस समेत गाभिएको छ । १५ वडा रहेको भद्रपुरमा हाल १० वडा कायम भएको छ । यहाँको जनसंख्या ६५ हजार ५ सय ४३ छ । भद्रपुरमा बन्दै गरेको मेची पुल, चारआली–केचना सडक र हुलाकी राजमार्ग निर्माण कार्य भइरहेकोले भद्रपुर नगरलाई कसले नेतृत्वमा लिने भन्नेमा व्यापक चर्चा छ । यता चुनावको छेऊमा आएर पृथ्वीनगर गाविस मर्ज भएपछि स्थानीय राजनीतिकदल नगर तथा वडा कमिटी गठन र भेलामै व्यस्त देखिन्छन् । यस्तो व्यस्तताको बाबजुद कार्यकर्ताहरुमा कसले टिकटको बाजी मार्लान् भन्ने चर्चा चुलिएको छ ।
भद्रपुर नगरमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजबादी फोरम, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक लगायत दलका कार्यकर्ता क्रियाशील छन् । संघीय समाजबादी फोरम नेपाल, सरकारबाट बाहिरएर आन्दोलित बनेकाले नगरमा फोरमको खासै चर्चा छैन । फोरम लोकतान्त्रिकले भने चुनावमा भाग लिने बुझिएको । नगरको वडाध्यक्ष भन्दा पनि अहिले कुन पार्टीबाट कसले मेयर र उपमेयरको टिकट पाउनेमा बढी चर्चा चलेको छ । मेयर र उपमेयर मध्ये एक जना महिला अनिवार्य हुनुपर्ने ऐनमा व्यवस्था भएपछि महिला उम्मेदवारको चर्चा पनि त्यतिकै छ ।
नेपाली कांग्रेसः नेपाली कांग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र परेकोले भद्रपुरमा सिटौलाको पकडका कार्यकर्ताले नै मेयर र उपमेयरको टिकट पाउने कार्यकर्ता आफंै बताउन थालेका छन् । सिटौलाले राम्रोभन्दा पनि हाम्रो मान्छेलाई टिकट दिने हो कि भनेर केही कार्यकर्ता आशंका गर्दैछन् । मेयरका आकांक्षी उम्मेदवार सिटौला निकट गणेश पोखरेल, जेपी शर्मा, चण्डी पराजुलीको नाम चर्चामा छ । देउवा निकट भनिएका राजेन्द्र घिमिरे र नवराज पनेरुको पनि चर्चा छ ।

पोखरेल नेपाली कांग्रेसका क्षेत्र ३का क्षेत्रीय सभापति हुन् । उद्योगपति जेपी शर्माको नाम भर्खरै चर्चा आएको छ । ०४२ सालमा नगरको वडाध्यक्षमा बिजयी भएका शर्मा मेयरमा उठ्ने दाउमा रहेको चर्चा छ । चण्डी पराजुली पनि उद्योगपति हुन् । पराजुलीले पनि मेयरमा उठ्ने इच्छा व्यक्त गर्दै आएको उद्योगीहरु बताउँछन् । देउवा निकट घिमिरे मेयरमा उम्मेदवारी दिने पक्षमा छन् । सिटौलाले टिकट नदिए पनि मेयरमा उठेरै छाड्ने उनी निकटका कार्यकर्ताहरु बताउँछन् । पनेरु पनि देउवा निकट कार्यकर्ता हुनुका साथै झापा उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । महिलाबाट उपमेयरमा सिटौला निकटका गोमा भट्टराई, लता कार्की, शर्मिला अधिकारीको नाम चर्चामा छ ।
नेकपा एमालेः भद्रपुर नगरमा केपी शर्मा ओली र झलनाथ खनाल पक्षका कार्यकर्ता हाबी छन् । क्षेत्र नम्बर ३बाट संविधानसभाको चुनावमा सांसदको टिकट नपाएका खनाल निकट जीवनकुमार श्रेष्ठको नाम मेयरमा उम्मेदवार दिने चर्चा छ ।

श्रेष्ठले भद्रपुर नगरपालिकाको पूर्व उपमेयर र नगर हँुदै दुई कार्यकाल क्षेत्रीय अध्यक्षको जिम्मेबारी निर्वाह गरिसकेका छन् । श्रेष्ठसहित पुष्पराज पोखरेल, बिनोद पोखरेल र असारु राजवंशीको नाम पनि मेयर बन्ने चर्चामा छ । पुष्पराज यस क्षेत्रका पूर्व सांसद हुन् । विनोदले भद्रपुर नगर कमिटीको अध्यक्ष भएर लामो समय काम गरिसकेका छन् ।

ओली निकट युवा नेता राजवंशीको नाम पनि चर्चामा छ । राजवंशी भद्रपुर नगर इञ्चार्ज हुन् । भद्रपुर नगरपालिकामा एमालेको तर्फबाट दलको प्रतिनिधिको रुपमा राजवंशीले काम गर्दै आइरहेका छन् । त्यस्तै महिला उपमेयरमा चन्दा श्रेष्ठको नाम चर्चा छ, श्रेष्ठलाई उपमेयरको टिकट दिने पनि पक्कापक्की भइसकेको कार्यकर्ताहरु बताउँछन् । श्रेष्ठ कानून व्यवसायी हुनुका साथै नेकपा एमाले झापाका उपाध्यक्ष समेत हुन् । श्रेष्ठको उम्मेदवारी उपमेयरमा पक्कापक्की नै भइसकेको एमाले निकट कार्यकर्ताहरु बताउँछन् ।
माओबादी केन्द्रः भद्रपुर नगरमा प्रचण्ड र बैद्य पक्षको कार्यकर्ताकै दबदबा छ । तर, मेयरमा भरपर्दो व्यक्ति नभएपछि माओबादी केन्द्रलाई उम्मेदबार खोज्न समस्या भएको बुझिएको छ । केन्द्रमा आवद्ध एक कार्यकर्ता भन्छन्– मेयर र उपमेयरमा कसलाई उम्मेदबारी दिने भन्ने पार्टी भित्र योजना बन्दैछ । भरपर्दो उम्मेदवार भएको भए चर्चा सुनिथ्यो तर त्यस्तो छैन । भरपर्दो नाम नभए पनि केन्द्रले नरेश सञ्जेल र नरपति लिम्बूलाई मेयरको टिकट दिने चर्चा छ ।

वैद्य निकट सञ्जेल युवा नेता हुन् । उनले हाल क्षेत्रीय इञ्चार्जको रुपमा काम गर्दै आइरहेका छन् । त्यस्तै चर्चामा नआएका लिम्बू पृथ्वीनगर निवासी भएकोले उनको पकड त्यस क्षेत्रमा राम्रै छ । महिलाबाट उपमेयरमा सीता न्यौपाने, स्वर्णनिका सिंहको नाम चर्चामा छ । दुवै जना नगरको क्रियाशील महिला कार्यकर्ता हुन् ।
राप्रपाः राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनको निर्वाचन क्षेत्रमा पर्ने भद्रपुर नगरमा पछिल्लो समय कार्यकर्ताको पकड राम्रो बन्दै गइरहेको छ । राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएपछि अन्य पार्टी परित्याग गरी नगर क्षेत्रमा राप्रपा प्रवेशको लहर चलेको छ । तर, राप्रपामा कार्यकर्ता प्रवेश गरे पनि भरपर्दो मेयर उम्मेदवार बनाउने दाउमा महामन्त्री आफै लागीपरेका छन् ।

यसअघि जिल्ला सदस्य विश्वनाथ श्रेष्ठको नाम मेयरमा चले पनि पार्टीले उनलाई टिकट नदिने र श्रेष्ठ आफै पनि नउठ्ने पक्कापक्की भइसकेपछि राप्रपा मेयरको खोजीमा छ ।
भद्रपुरका समाजसेवी तथा उद्योगपति पर्शुराम अग्रवालले मेयर बन्ने इच्छा व्यक्त गरेपछि राप्रपाले उनलाई नै भरपर्दो मेयरको उम्मेदवार ठानेर पार्टीबाट टिकट दिने चर्चा चुलिएको छ । राप्रपा कार्यकर्ता नभएका अग्रवाललाई पार्टीमा प्रवेश गराएर मेयरको टिकट दिने बजारमा व्यापक चर्चा छ । राप्रपाका महामन्त्री लिङ्देन पनि त्यही दाउमा रहेको पार्टीका कार्यकर्ता स्वयम् बताउँछन् । महिलाबाट उपमेयरमा राप्रपाले राधा कार्कीलाई टिकट दिने पक्कापक्की भइसकेको चर्चा छ । नगरका सक्रिय महिला कार्यकर्ता कार्की राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको जिल्ला अध्यक्ष हुन् ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकः मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य भरतेन्दुकुमार मल्लिकको पकड भद्रपुरमा छ । नगरमा लोकतान्त्रिकका सीमित कार्यकर्ता भए पनि कसलाई मेयर र उपमेयरको टिकट दिने भन्ने खासै चर्चा छैन । मल्लिक यसअघि स्थानीय चुनावमा भद्रपुर नगरको मेयर बनिसकेको व्यक्त हुन् । तर, उनको चर्चा यसपटक खासै छैन । मेयर र उपमेयरको टिकट कसलाई दिने भनी मल्लिक अरु पार्टीको उम्मेदवारको पखाईमा बसेको उनी निकट कार्यकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर