बिर्तामोड।

घरेलु हिंसामा परेर श्रीमतीले श्रीमान्विरुद्ध उजुरी गरेको हामी सबैले सुनेका छौं, देखेका पनि छौं । तर, श्रीमतीद्वारा आफू पीडित भएको भन्दै श्रीमान्ले श्रीमतीविरुद्ध प्रहरीमा उजुरी गरेको भने विरलै मात्र सुन्न पाइन्छ ।
आठ वर्षसम्म वैदेशिक रोजगारीमा रहेर घर फर्किएका बिर्तामोड नगरपालिका–१ निवासी ४२ वर्षीय रवीन्द्र खतिवडाले आफ्नै श्रीमतीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा मंगलवार उजुरी दिएका छन् ।खतिवडाले श्रीमती भोजकुमारी निरौलाबिरुद्ध उजुरी दिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उजुरी लगत्तै ३२ वर्षीया भोजकुमारी निरौलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाएको छ ।
आफू विदेश गएको बेला श्रीमती भोजकुमारीले बिर्तामोडमा कस्मेटिक पसल सञ्चालन गरेको र आफूले पठाएको रकम पसलमा लगानी गरेको भन्दै उनले आर्थिक हिनामिना गर्दैै प्याकुरेल थरका अर्का एक व्यक्तिसँग विवाह गरी नागरिकता समेत लिएको उजुरीमा उल्लेख छ । भोजकुमारीले आफू रवीन्द्रकी श्रीमती भएको भन्दै पहिलो नागरिकता लिएको र पछि प्याकुरेलसँग विवाह गरी पुनः दोस्रो नागरिकता समेत लिएको प्रहरी नायव उपरीक्षक थेवेले बताए ।
एक व्यक्तिले एकभन्दा बढी नागरिकता लिन नपाइने कानूनी प्रावधान छ । तर, महिलाको हकमा पहिलाको श्रीमान् छाडेपछि ऊसको नाममा लिएको नागरिकता त्यागेपछि मात्र अर्काे नागरिकता लिन पाइन्छ– सहायक प्रमुख जिल्ला अधिकारी डम्मरु निरौलाले भने । वैदेशिक रोजगरीका सिलसिलामा आफू कतार र दुबईमा रहँदा ८ वर्षदेखि कमाएको सबै रकम भोजकुमारीले लिएर अर्कै केटासँग विवाह गरेको उजुरीमा उल्लेख छ । रवीन्द्र र भोजकुमारीको एक सन्तान रहेको बताइन्छ ।
प्रहरीका अनुसार भोजकुमारीले दर्जनौ व्यक्तिबाट ५० लाख भन्दा बढी रकम उठाएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा उक्त रकम उठाइदिन माग गर्दै सर्वसाधारण मंगलबार आएका थिए । भोजकुमारीलाई प्रहरीले पक्राउ गरेको सुने लगत्तै उनीहरु रकम उठाइदिन माग गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोड आएको प्रहरी नायक उपरीक्षक थेवेले जानकारी दिए ।

