Aamsanchar

वसन्तमा घुम्नैपर्ने उत्कृष्ट सूचीमा नेपाल

Author Image
बुधवार, चैत ९, २०७३

काठमाडौं,

यो वर्ष वसन्त ऋतुमा घुम्नैपर्ने संसारका उत्कृष्ट १२ पर्यटन गन्तव्यको सूचीमा नेपाल परेको छ। अमेरिकाको नेसनल जिओग्राफिक सोसाइटी (नेटजिओ) को अनलाइन संस्करणले तयार पारेको ‘बेस्ट स्पि्रङ टि्रप्स २०१७’ को सूचीमा नेपालको पोखरा परेको हो।

‘यसपालि वसन्त ऋतुमा नछुटाई घुम्नैपर्ने गन्तव्यमा अमेरिकाको पूर्वीतटदेखि नेपालका हिमालसम्म रहेका छन्,’ नेटजिओले अनलाइन संस्करणमा लेखेको छ, ‘हामीले यस्ता गन्तव्यको सूची तयार पारेका छौं जोसँग संसारका प्रत्येक पर्यटकलाई आकर्षित गराउने क्षमता राख्छन्।’

नेटजिओले पोखरालाई अन्नपूर्ण क्षेत्र प्रवेश गर्ने प्रमुख विन्दु भन्दै यसलाई संसारका प्याराग्लाइडिङ गर्ने उत्कष्ट गन्तव्यमध्ये एकको उपमा पनि दिएको छ। चित्ताकर्षक र मनमोहक हिमताल, ताल, विभिन्न उचाइका हिमालका कारण पोखरा यसपालि वसन्तमा घुम्नैपर्ने गन्तव्यको सूचीमा परेको नेटजिओले उल्लेख गरेको छ।

सूचीका अनुसार पोखरामा प्रशिक्षकबिना सनराइज प्याराग्लाइडिङको अनुभव लिन सकिने छ। प्याराग्लाइडिङ गर्दा २० देखि ३० मिनेटको दृश्यावलोकनदेखि ४५ देखि ६० मिनेटको ‘क्रस–कन्ट्री टुर’ लगायत गर्न सकिन्छ। त्यसैगरी पोखरा सहरबाट २ हजार फिट उचाइको सराङकोटबाट प्याराग्लाइडिङमा उड्नुअघि २६ हजार ७ सय ९५ फिट अग्लो धौलागिरि, २६ हजार ४० फिट अग्लो अन्नपूर्ण दोस्रो र २६ हजार ७ सय ८१ फिट उचाइको मनास्लु हिमालको तस्बिर खिच्न नेटजिओले भनेको छ।

नेटजिओले यी गन्तव्यको सूची भने पनि उत्कृष्टको क्रमसंख्या उल्लेख गरेको छैन। यो सूचीमा नेपालको पोखरासहित दक्षिण अफ्रिकाको केपटाउन, पूर्वी युरोप, अमेरिकाको न्युयोर्क सहरमा रहेको सेन्ट्रल पार्क, अमेरिकाकै वासिङटनस्थित ओलम्पिक नेसनल पार्क र चीनको सुझोउ परेका छन्।

त्यसैगरी अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफ, अमेरिकाको विस्कन्सिनको बेलुन र्‍याली, अमेरिकाकै फिलाडेल्पि्कया, अर्जेन्टिनाको लस ग्लेसियर्स नेसनल पार्क, जापानको आओगासिमा आइसल्यान्ड र फ्रान्सको बबल लज नेटजिओको सूचीमा परेका छन्।-नागरिकबाट

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर