Aamsanchar

सात वर्षीय ‘आत्मघाती’ लडाकु ! चेल्सी फुटबल क्लवको जर्सीभित्र बम

Author Image
बिहिवार, चैत १०, २०७३

बग्दाद ।

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) विरुद्ध इराकमा सुरक्षा फौजले निर्णायक कारवाही गरिरहेकै समयमा बालबालिकालाई समेत आइएसले आत्मघाती बनाउन थालेको रहस्योद्घाटन भएको छ ।

हालै इराकी सेनाले एक सात वर्षीय बालकलाई बमसहित फेला पारेको बताइएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशित समाचार अनुसार मोसुलको बाहिरी क्षेत्रमा इराकी सेनाले ती बालकलाई फेला पारेको हो ।

चेल्सी फुटबल क्लवका चर्चित खेलाडी इडन हाजर्डको जर्सी लगाएका ती बालकको शरीरमा बाँधिएको बमलाई एक इराकी सुरक्षाकर्मीले सुरक्षित रुपमा निस्क्रिय तुल्याएको भिडियो हालै सार्वजनिक गरिएको छ । इराकी सेनाका अनुसार मोसुलबाट बाहिरिदैं गरेका महिलाका साथ ती बालक फेला परेका थिए ।

उक्त भिडियो मार्च १८ मा छायांकन गरिएको भनिएको सो भिडियोमा इराकी सेनाका एक जवानले आइएसबाट बालबालिकालाई हतियारका रुपमा आत्मघाती बनाउन थालिएको चर्चा गरेका छन् । भिडियोको सत्यता स्वतन्त्ररुपमा पुष्टि भइसकेको छैन ।

इराकमा मोसुल केन्द्रीत सुरक्षा कारवाही जारी छ । आइएसको प्रभाव इराकका अन्य क्षेत्रमा कम भए पनि मोसुलमा भने कायमै छ । सुरक्षाकर्मीले मोसुललाई घेरा हालेर कारवाही अघि बढाइरहेका छन् । सो क्षेत्रमा आइएसका शीर्ष नेताहरुसमेत रहेको आशंका गरिएको छ ।

मोसुल केन्द्रीत सुरक्षा कारवाही उत्कर्षमा पुग्दै गएका कारण त्यहाँबाट कयौं नागरिक विस्थापित भइसकेका छन् । त्यहाँ अझै करिब ६ लाख नागरिक रहेको अनुमान गरिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर