Aamsanchar

उत्कृष्ट नागरिक सम्मान ‘समाजसेवा’ लाई

Author Image
बिहिवार, चैत १०, २०७३

बिर्तामोड।

 वीरता जेसीजका भूतपूर्व अध्यक्षहरुको अगुवाईमा हरेक वर्ष झापाका एक व्यक्तित्वलाई प्रदान गरिँदै आएको उत्कृष्ट नागरिक सम्मान यसवर्ष समाजसेवाको क्षेत्रलाई समर्पण गरिने भएको छ ।
आगामी वैशाखमा हुने विशेष समारोहमा स्वर्ण पदकसहितको उत्कृष्ट नागरिक सम्मानका लागि समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वको नाम सिफारिस गर्न वीरता जेसीज तथा भूतपूर्व अध्यक्ष क्लवले आव्हान गरेको छ ।
उत्कृष्ट नागरिक सम्मान समारोहका संयोजक वीरता जेसीजका पूर्वअध्यक्ष बिनोद बस्नेतका अनुसार उत्कृष्ट नागरिक छनौटका लागि तीन सदस्यीय समिति बनाइएको छ । समितिको संयोजकमा जेसीज भूतपूर्व अध्यक्ष क्लव झापाका अध्यक्ष छविलाल खतिवडा रहेका छन् । सदस्यहरुमा शिक्षासेवी मोहन ओली र सञ्चारकर्मी लक्ष्मण ढकाल रहेका छन् ।
उत्कृष्ट नागरिक छनौटबारे बुधबार बिहान बिर्तामोडमा आयोजित छलफलमा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, पूर्वअध्यक्षहरु वेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, राजेन्द्रकुमार थापा, सजेश शिवाकोटी, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, वीरता जेसीजका अध्यक्ष सञ्जु भारती, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई लगायतले उत्कृष्ट नागरिक सम्मान समारोहलाई जिल्लाकै आकर्षक र गौरवपूर्ण कार्यक्रमको रुपमा अघि बढाउनुपर्ने सुझाव दिए ।
वीरता जेसीज र भूतपूर्व अध्यक्षहरुले अगुवाई गरे पनि उत्कृष्ट नागरिक सम्मानलाई झापाका सबै १४ वटै जेसीज शाखाहरुको साझा कार्यक्रम बनाउनुपर्नेमा समेत जोड दिइएको छ । सम्मान समारोहका संयोजक बस्नेतले जेसीजको सँगै समग्र झापालीको साझा कार्यक्रमको रुपमा उत्कृष्ट नागरिक सम्मानलाई विकास गर्ने सोचका साथ अघि बढेको बताए ।

Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर