Aamsanchar

आर्थिक समस्याले जब म विद्यालय जान पाइँन…

Author Image
बिहिवार, चैत १०, २०७३


लामो शैक्षिक सेवापछि विश्राम लिनुभएको छ । दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?
– पारिवारिक आफन्त र साथीहरुसँगको भेटघाटमा रमाइलोसँग दिन बिताउँदैछु ।
हिजो विद्यालयको नेतृत्व लि“दा, दैनिक विद्यालय जा“दा र आज घरमा बस्दाको फरक अनुभूति कसरी स्मरण गर्नुहुन्छ ?
– विद्यालयको नेतृत्व लिँदा र दैनिक विद्यालय जाँदाको क्षण बाल्यकालदेखिको रुचीको पेसा भएकोले यसैमा संलग्न भई कार्य गर्न पाउँदा ज्यादै खुसी र आनन्द लाग्थ्यो । विद्यालयमा शिक्षकहरुसँगको सहकार्य, अभिभावकसँग अन्तरक्रिया र भेटघाट, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघबाट सधैं सकारात्मक सहयोग, विशेष कक्षा (सुस्त श्रवण)का विद्यार्थीहरु, बालकक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुको फरक–फरक स्वभाव, चञ्चलपन र विभिन्न क्रियाकलापबीचमा रहेर काम गर्दाको त्यो क्षण सुखद् क्षण लाग्थ्यो । विद्यालयमा रहुञ्जेल यसलाई सामान्य सम्झें तर अहिले घर बस्दा त्यो क्षण मेरो जीवन कै महत्वपूर्ण क्षण रहेछ भन्ने मैले महसुस गरेको छु । मानौ म अर्कै संसारमा रमाएको रहेछु । अहिले विद्यालय र विद्यालय परिवारको याद आउँदा आँखा चिम्लेर हरेक दृश्यलाई दृश्यावलोकन गर्छु– अर्कै सुखद् र आनन्दको अनुभूति हुँदोरहेछ ।
अब जीवनको लक्ष्य के छ ?
– अबको जीवनको लक्ष्य समाजसेवा हो । त्यसमा पनि शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै अगाडि बढ्नेछु ।
विद्यालयलाई झुपडीबाट महल र गुमनामबाट जिल्ला कै उत्कृट बनाएरै छाड्नुभयो । यो सफलताबारे तपाईंको भोगाइ र                            सिकाइ के रह्यो ?
– परिवर्तनशील समयसँगै हरेक कुरा परिवर्तन भए झैं विद्यालयमा केही परिवर्तन निश्चय नै भयो । जुन हुनु नै पर्ने हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक, विद्यार्थी र जिल्ला शिक्षा कार्यालयले समेत मेरो नेतृत्वलाई विश्वास गरी विद्यालयले तर्जुमा गरेको योजनालाई साथ दिएकोले विद्यालय उत्कृष्ट भएको हो । विश्वास जित्न सक्दा गर्न नसक्ने भन्ने कुनै कुरा छैन । योजनाभित्रका काम पूरा गर्ने अठोट लिई अगाडि बढ्दा सरोकारवाला सबैबाट सधंै साथ पाएँ । झापा जिल्लामा जिल्लान्तर सरुवा भई आउनेक्रममा मोहनमाया प्रवेशको समय केही कठिनाई झेल्नुपरयो । म हिंड्ने बाटोमा काँडा ओछ्याइयो तर मंैले हरेस खाइन । संघर्ष गर्दै अगाडि बढ्नुपर्छ भन्ने कुराको भोगाई र सोचाई मेरो बाल्यकालदेखि कै थियो । मैंले असहज परिस्थितिलाई सहजरुपमा ग्रहण गरें । मोहनमाया निमावि प्रवेशको समयमा मलाई साथ दिने मित्रहरु भवानी राजवंशी र लीलानाथ खत्रीलाई म कहिल्यै बिर्सिन सक्दिन । विद्यालयमा हाजिर भएको लगभग तीन महिनापछि कार्यालयबाट प्रधानाध्यापक पदमा नियुक्ति पत्र पाएँ । कार्यरत् साथीहरु, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सबैको शुभकामना र सहयोगले विद्यालयलाई वर्तमान स्थितिमा पु¥याउन सफल भयांै ।
भौतिक र शैक्षिक गुणस्तरका दृष्टिले दयनीय, वर्षेनी सरकारी लगानी बालुवामा पानी भइरहेका विद्यालय र त्यसका नेतृत्वकर्तालाई तपार्इंको भनाइ के छ ?
– प्रधानाध्यापक विद्यालयको नेता हो । नेतृत्व लिनेले सबैलाई सँगै हिंडाउनुपर्छ । म र मेरो होइन, हामी र हाम्रो भन्ने भावना हुनुपर्छ र सोही अनुसार कार्य पनि गर्नुपर्छ । हिजो गरेको राम्रा कुरालाई लिएर वर्तमानको आवश्यकतालाई बुझेर यति समयभित्र विद्यालयलाई यो ठाउँमा पु¥याउँछु भन्ने योजना तयार गरी योजना कार्यान्वयनको लागि अठोट लिई अगाडि बढ्नुपर्छ । सपलता नमिल्ने कुरै हुन्न जस्तो मलाई लाग्छ । सरकारको मात्र मुखनताकी सरोकारवाला सबैलाई समेटेर जानुपर्छ । साथै हरेक कुराको पारदर्शिता हुन पनि जरुरी हुन्छ ।
विद्यालयलाई चौतर्फी दृष्टिले उत्कृष्ट बनाउन चाहिने टिप्स के हो ?
– अनुशासित, लगनशिलता, इमान्दारिताले सजिएको टीम हुनुपर्छ । विद्यार्थी, अभिभावक, शिक्षक र जिल्ला शिक्षा अधिकारीसँग समन्वयनकारी भूमिकाका साथ अगाडि बढ्न सक्नुपर्छ । शैक्षिक, भौतिक र आर्थिक पारदर्शिता हुनुपर्छ ।
मुलुकको शिक्षा अब कस्तो हुनुपर्छ ?
– प्रत्येक विद्यार्थीलाई आत्मनिर्भर बन्न सक्ने रोजगारमूलक शिक्षा दिनेखालको शिक्षा प्रणाली हुनुपर्छ ।
तपाईंले अध्ययन गर्दाको, हिजोसम्म प्रदान गर्दाको र अबको शिक्षाबीच कसरी तुलना गर्नुहुन्छ ?
– मैले अध्ययन गर्दा घोकन्ते विद्या थियो । शिक्षक केन्द्रीत थियो । नयाँ शिक्षा योजना लागू भएसँगै शिक्षामा केही परिवर्तन आए । व्यवसायिक शिक्षालाई विशेष जोड दिइयो । शिक्षक बन्न तालिमहरुको व्यवस्था भए । आइएड, बीएड पढाइ हुन थाले । केही महिनाको लागि अभ्यास शिक्षण गरेर केही सिक्ने मौका पाइयो । शिक्षा संकाय अध्यापन गर्नेलाई शिक्षकमा प्राथमिकता दिइयो । यही प्राथमिकताभित्र म पनि परें । समय बित्दै जाँदा तिनै शिक्षकहरुलाई लाइसेन्स चाहियो । अहिले शिक्षा संकाय पढेरमात्र भएन लाइसेन्स अनिवार्य पास गरेकै हुनुपर्छ । मैंले अध्यापन गर्दै जाँदा समयसँगै विभिन्न शिक्षण विधि, शैक्षिक सामग्री, विभिन्न तालिमहरुबाट सिकेका कुरा प्रयोग गरी पढाउने अवसर प्राप्त भयो । अबको शिक्षा बिस्तारै प्राविधिक धारतर्फको पढाईलाई विद्यालयस्तरबाटै शुरु गरेको छ । यो ज्यादै राम्रो पक्ष हो । र, यो रोजगारमूलक शिक्षाको सकारात्मक सन्देश पनि हो ।
तपाईंले कहाबाट कसरी शिक्षा आर्जन गर्नुभयो ? (शुरुबाट अहिलेसम्मको)
– यो प्रश्नले मेरो अतितका आर्थिक संकटका क्षणलाई फेरि ब्यूँताइदियो । आर्थिक समस्याको कारण म पहिलो वर्ष विद्यालय जान पाइँन । मलाई याद छ मेरो दिदी रेणु श्रेष्ठलाई पछ्याउँदै केही पर पुगेर फर्कन्थें र ढोका पछाडि बसी रोइरहन्थें । अर्को वर्ष विद्यालय भर्ना हुँदा म ज्यादै खुसी भएँ । मेहनत गरेर पढ्थें । टप थ्री विद्यार्थीभित्र सधैं पर्थें । मैले धनकुटाको गोकुण्डेश्वर कन्या हाईस्कूलमा पढेकी हुँ । प्रधानाध्यापक लक्ष्मीदेवी श्रेष्ठ हुनुुहन्थ्यो । एसएलसी दिने समयसम्ममा १२ जनाभन्दा बढी गुरुआमाहरुले पढाउनुभयो । त्यसबेला पिटेर पढाउने चलन थियो । मैले कहिले कसैबाट पिटाई खानु परेन । अहिले धेरै विद्यार्थीहरुले छात्रवृत्ति पाउँछन् । त्यसबेला विद्यालयभरि एकजनाले मात्रै छात्रवृत्ति पाउँथे । मैले कक्षा ९ मा छात्रवृत्ति रकम रु. ३ सय पाउँदा ज्याँदै खुसी भएकी थिएँ । त्यो छात्रवृत्ति मेरो लागि हौसला र प्रेरणाको स्रोत बन्यो । धनकुटा बहुमुखी क्याम्पसबाट आइएड, बीएड अतिरिक्त विषय भूगोलमा पुनः बीएड गरें । मैंले क्याम्पसमा पनि छात्रवृत्ति पाएर नै पढें । प्रधानाध्यापक लक्ष्मीदेवी श्रेष्ठबाट प्रभावित भएर म पनि एकदिन उहाँ जस्तै बन्ने अठोट त्यसबेला नै गरेकी थिएँ, जुन पूरा पनि भयो ।
तपाईंको वैवाहिक जीवनको शुरुवात र पारिवारिक यात्राबारे बताइदिनुहोस् न ?
– जिन्दगीको यात्रामा हिंड्दै गर्दा वैवाहिक जीवनको यात्रामा पाइला टेक्न ढिलो भयो भन्थे धेरैले । तर, मलाई त्यस्तो महसुस कहिले भएन । देवेन्द्रकुमार श्रेष्ठसँग वैवाहिक बन्धनपछि २०५५ सालमा म झापा झरेकी हुँ । हाम्रो एक छोरी देवीका श्रेष्ठ र एक छोरा विमोचन श्रेष्ठ छन् । चारजनाको परिवारमा खुसी र सुखी जीवन चल्दैछ । समझदार श्रीमान् पाउनु नारीले पूर्वजन्ममा तपस्या गरेको हुनुपर्छ भन्थे बुढापाकाले । साँच्चै मैंले तपस्या नै गरेकी रहेछु जस्तो लाग्छ । श्रीमान्को साथ सहयोग अनि प्रेरणा र हौसलाले हरेक काममा सफलता मिलेको मंैले महसुस गरेकी छु ।
तपाईंको शिक्षासेवाको यात्रा कहिलेबाट कसरी शुरु भयो ? अनि अवकाश अवधिसम्मको यात्राबारे बताइदिनुुहोस् न ?
– मेरो शिक्षासेवाको यात्रा आइएड परीक्षा सकिए लगत्तै २०३३ भदौ ११ गतेबाट प्रावि अस्थायी शिक्षकको नियुक्ति पाएर धनकुटाको त्रिवेणी निमावि (हाल मावि) हुँदै २०३४ वैशाख ३० गते निमावि स्थायी नियुक्ति पाएर गोकुण्डेश्वर बालमन्दिर निमावि (हाल मावि)मा अध्यापन कार्य शुरु भयो । सो विद्यालयमा २०५० देखि २०५४ सम्म प्रधानाध्यापक भई कार्य गर्ने अवसर पाएँ । २०५२ सालको शिक्षासेवा आयोग उत्तिर्ण भएर पनि नियुक्ति लिइन । कारण मोहनमायाको टीमले साँच्चै नै मोहित बनाएको थियो । अर्को कुरा विद्यालय प्रवेश गर्दा नै मंैले अठोट गरेकी थिएँ कि यही विद्यालयलाई झापाको एउटा उत्कृष्ट र नमूना विद्यालय बनाएरै छोड्ने छु । गर्नुपर्ने धेरै कुरा बाँकी रहँदारहँदै अनिवार्य अवकाशका दिन आइसकेको थियो ।
अनिवार्य अवकाशपछि विद्यालयको प्रधानाध्यापक मैंले पढाएको होनहार विद्यार्थी शेरबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्न पाउँदा म ज्यादै खुसी छु । मोहनमाया प्रवेशदेखि साथ सहयोग दिने मित्र भवानी राजवंशी लगायत शिक्षक, कर्मचारी साथीहरुलाई म कहिले बिर्सन सक्दिनँ । समझदार अभिभावक, अनुशासित विद्यार्थी, सेवाप्रति समर्पित शिक्षकको माझमा रहेर काम गर्ने जुन अवसर पाएँ त्यो ज्यादै अविस्मरणीय दिनहरु थिए । २०७३ माघ २७ गते १८ वर्ष चार महिना तीन दिनसम्म साथीहरुको सामिप्यमा रही सौहार्दपूर्ण वातावरणमा बिताएका दिन सम्झँदै बसेकी छु । मलाई विश्वास छ विद्यालयको यो टीमले मोहनमायालाई राष्ट्रियस्तरमै नमूना विद्यालय बनाउँनेछ । यो सशक्त र उर्जाशील टीमबाट छुट्टिनु पर्दा धर्ती फाटे झंै, आकाश खसे झैं, हिमाल हल्लिए झैं लाग्यो । आँखामा थाहै नपाईं महासागर पसिसकेछ । २०७३ फागुन २६ गते सम्मानसहित विदाइ गर्नुभएकोमा विद्यालय परिवारप्रति आभार व्यक्त गर्दछु ।
कुशल र सफल शिक्षकको नाताले भन्नुपर्दा शिक्षक कस्तो हुनुपर्छ ?
– पेसाप्रति समर्पित सरकारात्मक, सकारात्मक सोच, सबैसँग मिलेर काम गर्नसक्ने, बालमैली वातावरणमा अध्यापन गर्नसक्ने हुनुपर्छ ।
विद्यार्थी चाहि कस्तो हुनुपर्छ ?
– विद्यार्थी अनुशासित, लगनशील, जिज्ञासु, नियमित उपस्थिति, विद्यालयको कार्यक्रममा सक्रिय सहभागिता जनाएर आफूमा भएको प्रतिभा प्रष्फुटन गर्नसक्ने हुनुपर्छ ।
तपाईंको कार्यक्षमताको मूल्यांकनस्वरुप प्राप्त भएका सम्मान पुरस्कारबारे जानकारी गराइदिनुहोस् न ?
– मेरो कार्य क्षमताको मूल्यांकन गर्दै २०४० सालमा जिल्ला शिक्षा कार्यालय धनुकटाबाट शिक्षा दिवस पुरस्कार, २०४४ सालमा राष्ट्रिय शिक्षक संगठनबाट शिक्षा दिवस पुरस्कार धनकुटामा, २०५७ सालमा झापा जिल्ला शिक्षा कार्यालयबाट शिक्षा दिवस पुरस्कार, २०६४ सालमा राष्ट्रिय शिक्षक संगठन बाट शिक्षा दिवस पुरस्कार, सनराइज एफएम, स्रोतकेन्द्र, शिक्षक संघ, विभिन्न सहकारी संस्था र विभिन्न प्रतिष्ठानहरुबाट सम्मान र पुरस्कार प्राप्त गरेको छु ।
जीवन के हो ?
– जीवन संघर्ष हो ।
तपाईंको रुची ?
– मेरो रुची सामाजिक सेवा गर्ने हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लोप हुँदै पानीघट्ट
बिहिवार, कार्तिक २२, २०८१