Aamsanchar

झापाबाट ९,४५४ जना महिला विदेशिए

Author Image
शनिवार, चैत १२, २०७३

झापा।

झापाबाट पछिल्लो पाँच वर्षमा ९ हजार भन्दा बढी महिला रोजगारीका लागि विदेशिएका छन् ।  दोस्रो जनआन्दोलनमार्फत लोकतन्त्र स्थापनासँगै नेपाली महिला वैदेशिक रोजगारमा जाने क्रमले तीव्रता पाएसँगै उनीहरु विभिन्न मुलुक गएका हुन् ।

विदेशिने महिलाको संख्यामा यो दर नेपालकै उच्च हो । सुरक्षित आप्रवासन परियोजना (सामी)को तथ्याङ्क अनुसार झापाबाट मात्रै ९ हजार चार सय ५४ जना महिला विदेशिएका छन् । झापापछि सिन्धुपाल्चोकबाट आठ हजार ६९ जना महिला पाँच वर्षको अवधिमा रोजगारीका लागि विदेशिएका सामीको तथ्याङ्कमा उल्लेख छ ।
विदेशमा पुगेका महिलाले अनेक दुःखकष्ट पाएका समाचार वारम्वार सञ्चार माध्यममा आउने गरे पनि विदेशिने महिलाको संख्या दिनानुदिन बढेर गएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी)को तथ्याङ्क अनुसार बितेका पाँच वर्षमा १८ जिल्लाबाट ४४ हजार चार सय ९२ जना महिला बैदेशिक रोजगारीमा गएका छन् । आर्थिक वर्ष २०७०÷७१ मा मात्रै १५ हजार दुई सय ५३ जना महिला रोजगारीका लागि विदेश गएको सामीले जनाएको छ ।  त्यसैगरी सुनसरीबाट तीन हजार आठ सय ४ जना, नुवाकोटबाट तीन हजार पाँच सय २७, नवलपरासीबाट दुई हजार आठ सय ५५, धादिङबाट दुई हजार दुई सय ९१, सिन्धुलीबाट दुई हजार एक सय १९, रामेछापबाट दुई हजार चार सय ३६ जना रहेका छन् ।
त्यस्तै, उदयपुरबाट एक हजार नौ सय ६६, कास्कीबाट एक हजार सात सय ७९, खोटाङबाट एक हजार छ सय ७६, दाङबाट एक हजार पाँच सय चार र सर्लाहीबाट एक हजार तीन सय २८ जना रोजगारीका लागि गएको तथ्याङ्कले देखाउँछ । सुदूरपश्चिमको कैलालीबाट पाँच सय ७४, धनुषाबाट तीन सय ६०, महोत्तरीबाट तीन सय ३५, सप्तरीबाट दुई सय ५९ र सिरहाबाट सबैभन्दा कम एक सय ५७ महिला वैदेशिक रोजगारीमा गएका छन् ।
यो संख्या श्रम स्वीकृति लिएर विदेश जाने महिलाको संख्या हो । श्रम स्वीकृति बिना अवैधानिक बाटो भएर विदेशिने महिलाको संख्या पनि उत्तिकै बढिरहेको छ । यी १८ वटै जिल्लामा सुरक्षित आप्रवासन परियोजना लागू भएको छ । सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जानेहरुका लागि सूचना, तालिम, न्याय तथा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सन् २०१४ फेब्रुअरीबाट कैलालीमा पनि यो परियोजना सञ्चालन गरिएको छ । जिल्लामा परियोजना सञ्चालन भएदेखि अहिलेसम्म झण्डै ४५ हजार जनालाई प्रत्यक्ष रुपमा वैदेशिक रोजगारी सम्बन्धी जानकारी दिइएको कैलालीमा परियोजना सञ्चालन गरिरहेको सिर्जनशील समाजको सिर्जना (सीसीएस)ले जनाएको छ ।
चालू आर्थिक वर्षका ६ महिनामा मात्रै ११ हजार दुई सय ९१ जनाले वैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श दिएको परियोजनाका संयोजक दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए । पछिल्लो समयमा बैदेशिक रोजगारी सम्बन्धी सूचना लिएर जानेको संख्या बढेको उनले बताए । संयोजक भण्डारीका अनुसार पासपोर्ट बनाउने सबैलाई सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गत सञ्चालित सूचना तथा परामर्श केन्द्रमा पठाएर सूचना दिने गरिएको छ ।
सीसीएस अन्तर्गत सामी परियोजनाले कैलालीका ७ गाविस, ४ नगरपालिका र १ उपमहानगरपालिकामा विभिन्न गाविस र समुदाय स्तरीय अभिमुखीकरण, घुम्ती शिविर, घुम्ती परामर्श सेवामार्फत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचनाहरु प्रदान गरिरहेको सीसीएसले जनाएको छ । नेपाली महिला अवैधानिक ढङ्गले भारत हुँदै खाडीलगायतका मुलुक समेत जाने गरेका छन् । द्वन्द्वको समयमा इराकमा पनि पाँच हजारभन्दा बढी नेपाली महिला अवैधानिक बाटो भएर गएका थिए ।
भारत हुँदै खाडीलगायतका मुलुक जाने नेपाली महिलालाई त्यहाँ पुग्नेबित्तिकै महिलाहरूको राहदानीलगायतका सामग्री जफत गर्ने र उनीहरूलाई बलजफ्ती काममा लगाउने गरिएको छ । खाडी मुलुकमा जाने महिलालाई यौन व्यवसायमा लाग्न बाध्य पार्ने, रेष्टुरामा नाङ्गो नाच्न बाध्य पार्ने, घरेलु कामदारका रूपमा रहेका महिलालाई मालिकले बलात्कार गर्ने, तातो पानी खन्याइ दिनेलगायतका कार्यहरू हुने गरेको छ ।

Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर