Aamsanchar

झापामा दलहरुलाई उम्मेदवार छान्न सकस

Author Image
आइतवार, चैत १३, २०७३

दमक।

झापामा स्थानीय तहको निर्वाचनमा आफूखुशी उम्मेद्वारी घोषणा र भोट माग्नेसम्मका काम हुन थालेपछि यहाँका प्रमुख राजनीतिक दलहरुलाइ उम्मेदवारी छनौटमा सकस शुरु भएको छ ।
सञ्चारमाध्यमहरुमा सम्भावित उम्मेदवारको सूची आउन थालेपछि नेता कार्यकर्ता सम्हाल्नका लागि जिल्ला नेतृत्वलाई हम्मेहम्मे पर्ने अवस्था आइलागेको पाइएको छ । लामो समयपछि स्थानीय तहको निर्वाचन र नयाँ संरचना अनुसार नगरपालिका तथा गाउँपालिकाको वडा समायोजनहरु हुने क्रममा उम्मेदवारी घोषणा र मत माग्नेसम्मको काम शुरु भएपछि राजनीतिक दलका नेताहरुलाई यो रोक्नका लागि कदम चाल्न मुस्किल परेको पाइन्छ । अझ सञ्चारमाध्यममा नाम आएकाहरुले त फोन गरेर नै नेतृत्वलाई दबाब दिन थालेपछि पार्टीहरुमा उम्मेदवारी चयन सर्वसम्मत हुने संकेत कम हुन थालेको छ ।
नेपाली कांग्रेसका एक जिल्ला नेताका अनुसार आफूखुशी उम्मेदवारी घोषणा नगर्न र गरेमा कार्वाही गर्नेसम्मका सर्कुलर गरे पनि अहिले त्यस्तो कार्य नरोकिँदा समस्या भएको छ । वडा सदस्यदेखि लिएर नगरपालिका तथा गाउँपालिका प्रमुखसम्ममा बिबाद हुने देखिन थालेको ती कांग्रेस नेताले बताए । उनका अनुसार पार्टीको निर्णय बिपरीत उम्मेदवारी घोषणा भएमा अनुशासनको कार्वाहीसम्म गर्ने सर्कुलर गरिएको छ ।
नेकपा एमालेमा पनि आंकाक्षीहरु धेरै रहेकाले समस्या उब्जेको छ । नेकपा एमालेको एकसाता अघि भएको जिल्ला कमिटीको बैठकले निर्णय गरेरै कसैलाई पनि उम्मेदवारी घोषणा नगर्न र गरेको पाइए उम्मेदवारका लागि अयोग्य हुनेसम्मको चेतावनी दिइएको थियो । तर यसको पालना भएको छैन ।
माओबादी केन्द्र र राप्रपामा भने त्यति धेरै यो समस्या देखिएको छैन । यद्यपि दमकमा गगन थापाले मेयरको उम्मेदवारी घोषणा गरेपछि गोपाल किरातीले प्रेस बक्तब्य नै निकालेर आफूखुशी उम्मेदवार घोषणा नगर्न भन्दै ध्यानाकर्षण गराएका थिए । त्यपछि माओबादी केन्द्रको दमक नगरपालिका बाहेक अन्यत्र उम्मेदवारी घोषणा भएको छैन ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा इच्छा प्रकट गर्न नपाइने बताइएको भन्दै आफूहरुको अधिकारको हनन् भएको पनि कतिपयले बताउन थालेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर