Aamsanchar

‘२ रुपैयाँ’ खोज्न काठमाडौंबाट झापामा जम्बो टोली

Author Image
सोमवार, चैत १४, २०७३

बिर्तामोड। 

दुई रुपैयाँ खोज्न काठमाडौंबाट एउटा जम्बो टोली झापा आएको छ । तीन साता भइसक्यो त्यो टोलीले अझै दुई रुपैयाँ भेट्टाइसकेको छैन । जाबो दुई रुपैयाँ पनि किन खोज्नु परेको होला ? मनमा प्रश्न उब्जन सक्छ । सुन्दा तपाईंलाई अचम्म लाग्ला तर यो खोजी ययार्थमा नभई ‘२ रुपैयाँ’ चलचित्र निर्माणका लागि । निर्माण टोली २० दिनदेखि झापामा सुटिङमा व्यस्त छ ।
सुटिङको ९० प्रतिशत काम सम्पन्न भएको निर्देशक तथा निर्माता मध्येका असिम साहले बताए । झापाका विभिन्न ठाउँमा उक्त सुटिङ भएको हो । बाँकी सुटिङ इटहरी र काठमाडौंमा हुने बताइएको छ । आइतबार झापाको चारपानेस्थित टाइम इक्वावार पार्टी प्यालेसमा एक फरक दृश्य सुटिङ भयो । उक्त स्थानलाई अस्थाई प्रहरी चौकी बिर्ताबजार बनाएर गरिएको सुटिङमा कलाकारको भूमिका भने झापाका रियल पत्रकारहरुले निर्वाह गरेका थिए ।
नसालु पदार्थ मिसाइएको लड्डु खुवाएर सुन तस्करी र अन्य धन्दा गर्ने गिरोहलाई हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको सो समारोहमा पत्रकारहरुले प्रहरीलाई विभिन्न प्रश्न गरेका थिए ।
आगामी भदौ २३ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने मिति तय भएको ‘२ रुपैयाँ’ चलचित्र दर्शकलाई भरपुर मनोरञ्जन दिने कमेडीमुलक चलचित्र भएको निर्देशक साह बताउँछन् । चलचित्रले ‘२ रुपैयाँ’ले ज्यानै जान सक्ने जोखिमपूर्ण अवस्थामा पु¥याउने घटनाक्रमलाई कमेडी रुपमा चित्रित गरेको छ ।
‘२ रुपैयाँ’लाई कारोबारको पासपोर्टको रुपमा लिइएको छ । युवापुस्तामा चर्चित चलचित्र लुट र लुट–२ का निर्देशक निश्चल बस्नेत, आसिफ साह र असिम साहले ‘२ रुपैयाँ’मा लगानी गरेका छन् । चलचित्रमा निश्चल, मेनुका प्रधान, आसिफ, बुद्धि तामाङ, रविन्द्र झा, विसारत बस्नेत, टीका पहाडी लगायतले अभिनय गरेका छन् ।
ब्लाक हर्ष प्रोडक्सन र जी २१ को संयुक्त ब्यारनमा निर्माण भएको चलचित्रको लगानी १ करोड रुपैयाँभन्दा बढी पुग्ने बताइएको छ । ‘२ रुपैयाँ’मा तीन वटा गीत रहेका छन् । ‘२ रुपैयाँ’सँग झापाको परिवेश मेल खाएकोले अधिकांस सुटिङ यहाँ गरिएको बताइएको छ । निर्देशक साह भन्छन्– ‘झापाका मानिसको व्यवहार पनि अत्यन्त सहयोगी पायौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)