काठमाडौं ।
जनैपूर्णिमाको दिन पुरानो जनै फेरेर नयाँ धारण गर्ने र रक्षा सुत्र बाँध्ने प्रचलन छ तर, २०७४ सालमा भने तपाईंलाई नागपञ्चमीकै दिन यी सब काम गर्नुपर्ने हुन्छ । २०७४ सालको पात्रोमा साउन १३ गते नागपञ्चमी र २३ गते जनैपूर्णिमा उल्लेख छ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात् साउन २४ गते गाईजात्रा छ ।
तर २३ गते जनैपूर्णिमाको दिन चन्द्र ग्रहण परेको छ । हिन्दु धर्म संस्कार अनुसार चन्द्र ग्रहण लाग्ने दिनलाई शुभ मानिँदैन र मांगलिक कार्य गरिँदैन । त्यसैले साउन १३ गते नाग पञ्चमीकै दिन जनैपूर्णिमा अर्थात रक्षा बन्धन गर्ने निर्णय गरेको पञ्चांग निर्णायक समितिका अध्यक्ष सूर्य ढुंगेलले जानकारी दिए ।
‘चन्द्रग्रहणमा जनै लगाइँदैन । त्यस्तो अवस्थामा चन्द्रग्रहण अघि नै जनै लगाउनुपर्ने हुन्छ । शास्त्रमा जनैपूर्णिमामा चन्द्रग्रहण परे नागपञ्चमीमा जनै लगाउनू भन्ने छ,’ अध्यक्ष ढुंगेलले भने ।
सरकारले सार्वजनिक गरेको पात्रोमा २३ गते रक्षा बन्धन अर्थात जनै लगाउने दिन उल्लेख छ । त्यो दिन पञ्चमी तिथी हो । सामान्यतया जनै पूर्णिमा भनेको पूर्णिमा तिथीमै हुनुपर्ने हो । तर, कसरी साउन १३ गते नाग पञ्चमीको दिन जनै पूर्णिमा उल्लेख गरियो भन्ने कुराले धेरैजना अन्यौलमा परेका छन् ।
तर, अन्योलमा नपरी नागपञ्चमीकै दिन जनैधारण गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष ढुंगेलले बताए । यसअघिको परम्परा अनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा हुने भएपनि गाईजात्रा भने साउन २४ गते नै पर्ने समितिले जनाएको छ ।अनलाईन खबरबाट